हलो क्रान्ति: ब्राह्मणहरुले हलो जोतेको दिन


विश्व इतिहासको विगतलाई फर्केर हेर्ने हो भने विश्वमा कैयौँ क्रान्तिका उदाहरणहरू पढ्न र सुन्न पाइन्छन्। विश्वका कयौं क्रान्तिहरू जस्तै अमेरिकी स्वतन्त्रता सङ्ग्राम, फ्रान्सेली राज्य क्रान्ति, भारतीय स्वतन्त्र सङ्ग्राम,‌रसियन अक्टोबर क्रान्ति, चिनिया क्रान्ति, युरोप र अमेरिकामा भएको रङ्ग भेद विरुद्धको क्रान्ति र औद्योगिक क्रान्ति आदि हुन्। यी सबै ठुला क्रान्तिको जन्म सानो घटनाले नै गरेको हो, चाहे त्यो बोस्टन चिया काण्ड होस अथवा ब्यास्टिल डे।

नेपालमा पनि यस्तै क्रान्तिहरू नभएका होइनन्। व्यवस्था परिवर्तन गर्ने राजनीतिक क्रान्ति त हामीले स्कुलका किताबमा पढ्यौँ, कति आफैले देख्यौ र कतिमा त सहभागी समेत भयौं होला। राज्य व्यवस्था विरुद्ध र शासन सत्ता विरुद्ध हुने क्रान्ति राजनीतिक क्रान्ति हो र यस क्रान्ति हुनुका पछाडि समाजमा आर्थिक र सामाजिक क्रान्ति हुनु जरुरी छ।

यिनै क्रान्तिले राजनीतिक क्रान्ति र परिवर्तनको बीजारोपण गर्छन्। क्रान्ति भनेको एक किसिमको विद्रोह हो जसले शासक, शासन शैली, राज्यसत्ता, र परम्परागत पुरातन सोचलाई चुनौती दिन्छ। आधुनिकता, वैज्ञानिक विचारधारा र समतामूलक समाजको सारथी बन्छ।

राणाशासन विरुद्धको विद्रोह र आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, माओवादी सशस्त्र विद्रोह र लोकतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलन आदि इत्यादि नेपालमा भएका केही राजनीतिक क्रान्तिका उदाहरणहरू हुन्।

राणाकालीन समयमा पनि कैयौँ समाजिक क्रान्ति भएका उदाहरणहरू छन्। राज्य व्यवस्थाले एक जात र धर्म विशेषलाई प्रशय दिएर अन्य जातजाति र धर्म विशेषलाई गरेको अन्यायले विद्रोहको स्वरूप लिएको थियो।

समाजमा जरो गाडेर बसेको जातिय भेदभाव र छुवाछुत जस्तो कुरिती विरुद्ध क्रान्ति गर्ने प्रयासमा २०१० सालमा भीमदत्त पन्तको टाउको काटिएको थियो। यस्तै क्रान्ति वि. सं २००६ सालमा‌ पश्चिम नेपालको लमजुङ जिल्लामा भएको थियो।‌ जसलाई हलो क्रान्तिको नाम ले चिनिन्छ।

ब्राह्मणवाद, जातिय व्यवस्था र छुवाछुत विरुद्ध भएको यस क्रान्तिले समाजमा सांस्कृतिक र वर्गिय क्रान्तिको विगुल फुकेको थियो। जहानिया राणाशासनले मलजल गरेर राखेको ब्राह्मणवाद विरुद्द र गरिब तथा दलितहरु लाई धनी जमिनदारले घरमा काम गर्न राख्ने हली प्रथा विरुद्द यस क्रान्ति ले समता र समानताको सन्देश दिएको थियो। राणाकालमा खेतीपातीका लागि दलित समुदायलाई हलो जोत्ने काम लगाइन्थ्यो । उनीहरू ब्राहमणको घरमा हली बस्थे । 

वि. सं. २००६ साल साउन ११ गते पण्डित तोयानाथ अधिकारीको नेतृत्वमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरीभक्त पौडेल, श्रीकान्त अधिकारी, मायानाथ पौडेल, विष्णुप्रसाद अधिकारी लगायतका २७ जना ब्राह्मणहरुले लमजुङको दुरा डाँडामा हलो जोतेर क्रान्ति गरेका थिए।‌ हलो जोत्दै गर्दा दल बहादुर वि.क. लाई पानी ल्याउन लगाई उनीहरूले पानी पिएका थिए। तत्कालीन समयमा तल्लो वर्गका दलितले मात्र हलो जोत्न हुने भन्ने सङ्कीर्ण मानसिकता‌ थियो।‌ जातको आधारमा विभाजित नेपाली समाजमा जात विशेषकै आधारमा काम विभाजित थियो। जसअनुसार ब्राह्मणले हलो जोत्नु हुँदैन भन्ने मानिन्थ्यो। यो एक सामाजिक क्रान्ति त थियो नै साथै कृषि प्रधान समाजको लागि यो आर्थिक क्रान्तिको प्रयास पनि थियो।

क्रान्ति को योजना २००४ साल मा नै बनेको भए तापनि बीचमा सल्लाहकार मुखिया हरिदासको वि. सं. २००५ फागुन ४ गते निधन भएका कारण हलो जोत्ने कार्यक्रम केहि महिना पछि सरेको थियो। 

बाहुनहरूले हलो जोतेपछि समाजमा खैला बैला मचिएको थियो। हलो जोत्नेहरूलाई अछुत बनाई सामाजिक बहिष्कार गरिएको थियो। जोत्नेहरू मात्र नभई हेर्नेहरू पनि कतिजना त बहिष्कृत हुन पुगेका थिए। छोरीहरू माइत आउन पाएनन्, बुहारीहरू माइत जान पाएनन्। विहे गर्ने उमेरका युवायुवतीहरूको २ वर्ष सम्म विहे हुन सकेन। हलो जोत्नेहरूलाई सामाजिक कार्यहरूमा सहभागी हुन दिइएन, समाजमा हुने विवाह, व्रतबन्ध लगायत अन्य पूजापाठहरुमा उनीहरुलाई सहभागी गराइएन। 

छरछिमेकसँग सम्बन्ध तोडियो समाज अस्तव्यस्त बन्यो। कलमको माध्यमबाट क्रान्ति गर्नुपर्ने कविहरूले उल्टै उनीहरु विरुद्ध व्यङ्ग्यात्मक कविताहरू रचे, व्यङ्ग्यात्मक शब्दावलीहरूको प्रयोग गरे।

शेषकान्त लेफ्टिनेन्ट, हरिभक्त तिग्रे

तोयानाथ पण्डित हलो जोति बिग्रे।

हलो जोत्ने मुख्य यीनै तीन हुन

हलो जोती खालान पाथिभात बाहुन।।

हलो क्रान्तिका अगुवा पण्डित तोयानाथ अधिकारी थिए। तोयानाथ आयुर्वेदका ज्ञाता थिए। उनी पण्डित्याईंमा धुरन्दर विद्वान हुनुका साथसाथै सामाजिक सुधार अभियन्ता पनि थिए। 

एकपटक छोरी माइतबाट घर फर्किँदा आफ्नो घरमा काम गर्न बसेका सार्की जातका पुरुष आइतबहादुर सार्कीलाई कोसेली बोकाई पठाएका थिए। 

समाज विकासको लागि समाजमा सामाजिक विभेदको अन्त्य हुनुपर्छ भन्ने उनको सोच थियो। समतामूलक समाजको विकासको लागि शिक्षाको आवश्यकता पर्छ भनी ठानी उनले दलित विद्यार्थीलाई समेत ब्राह्मणसँगै राखेर शिक्षा दिने गर्दथे। अहिले यो कुरा सामान्य सुनिएता पनि ८० वर्ष अगाडिको समाजका उपल्लो वर्गका मानिसहरूलाई यो कुरा पाच्य थिएन। वि. सं. १९६५ मा जन्मेका उनको वि. सं. २०२२ मा निधन भयो।

चौतर्फी हल्ला भएपछि हलो जोतेकै कारण तोयानाथ, शेषकान्त र श्रीकान्तलाई प्रहरीले पक्रियो र पोखराको जेलमा पठायो। बडाहाकिमले राजद्रोहीलाई बाँकी नराख्ने धम्की दिएपछि तोयनाथले शास्त्रले बाहुनहरूले हलो जोत्नु हुन्न भनेर कतै उल्लेख नगरेको भनी प्रतिरक्षा गरेका थिए। साथै बिना पुर्जी जेल पठाएको भन्दै उनीहरूले जेलमै अनसन समेत बसेका थिए।

सोही वर्षको पुष ६ गते तनहुँमा, २००७ सालको वैशाखमा अर्घाखाँची र गोरखामा र २००८ सालमा स्याङ्जामा पनि ब्राह्मणहरुले हलो जोते। गोरखामा पुर्ण प्रसाद र धादिङमा‌ देवी प्रसाद पौडेलले हलो जोतेका थिए। कास्कीको बाटुले चौरमा पण्डित मुक्तिनाथ तिमिल्सिनाको नेतृत्वमा बाहुनकै एक समूहले बारी जोत्यो। यस क्रान्ति पश्चात केही वर्ष समाजमा हलचल भएतापनि ३/४ वर्ष पछि स्थिति सामान्य बन्यो। हलो जोतेको हेर्न गएका ब्राह्मणहरु ले पनि खुला रुपमै हेर्न गएको कुरा स्वीकार गरे। केही समय लाग्यो तर हलो जोत्ने कुरा सामान्य बन्दै गयो।

वित केहि दशक देखि लम्जुङ्गमा हरेक श्रावण ११ गते हलो क्रान्ति दिवस मनाइने गरिएको छ। समाजमा अझै पनि जातीय छुवाछुतको अवशेष बाँकी नै छ। समाज रुपान्तरणका लागि र समता मुलक विकासका लागि सरकार मात्र नभई नागरिक स्तर बाटै जुट्नु आवश्यक छ। तब मात्र यो दिवस मनाउनु को औचित्य हुन्छ र हलो क्रान्ति को वास्तविक उदेश्य पुरा हुन्छ। 

1 Comments

Post a Comment

Previous Post Next Post