सतिको श्राप: नेपाल दरवारमा कसैको विवेक नरहोस्!!


सति प्रथा हिन्दु समाजको ज्यादै क्रुर र अमानवीय प्रथा थियो। श्रीमान मरेपछि श्रीमानको शव सँग जिउँदै जल्नुपर्ने प्रथा सति प्रथा हो। प्राचिन धर्म ग्रन्थहरुमा यस प्रथाको खासै उल्लेख भएको पाइदैन, तर महाभारतमा पाण्डुकी कान्छी पत्नी माद्री सति गएको उल्लेख छ। भारतवर्षमा सति प्रथाले व्यापकता पाएको भने ईश्वीको तेस्रो शताब्दीबाट हो। नेपालमा पनि लिच्छविकालीन राजा मानदेव (वि. सं ५२१- ५६२) कि आमा राज्यवती आफ्ना पति धर्मदेव को निधन पछि सति जान खोज्दा मानदेवले रोकेको भन्ने ईतिहास छ। यसबाट लिच्छविकालमा पनि पनि सति प्रथा थियो भन्ने बुझिन्छ। मल्लकालमा पनि पाटनका राजा योगनरेन्द्र मल्ल मरेपछि उनका ३१ वटी रानी सति गएका थिए।सतिको चित्कार सुन्नु हुदैन तर सति गएको हेरे धर्म हुन्छ भन्ने रुढीवादी सोच पुरुषप्रधान हिन्दू समाजमा थियो। 
वि. सं १७०६ मा एउटा यस्तो घटना घट्यो जसले आज सति प्रथा हटिसकेको देशमा पनि घरिघरि त्यसको घाउले पोलिरहन्छ। त्यो हो काजि भीम मल्लकी पत्नी भुवनलक्ष्मी मल्लको श्राप।

भीम मल्ल र सति प्रथासँग सम्बन्धित ऐतिहासिक घटना
काजी भीम मल्ल एकिकरण पूर्वको कान्तिपुर राज्यका व्यापारी थिए। उनी दरवारका केही षड्यन्त्रकारी को षड्यन्त्रमा परि काटिएका थिए। उनको मृत्युबारे ईतिहासकारहरु बिच फरक मत पाइन्छ। कसैले उनको हत्या प्रताप मल्लले गराएका हुन् भन्छन् त कसैले प्रताप मल्लका पिता लक्ष्मीनरसिंह मल्लले उनको हत्या गर्न लगाएको भन्छन्। 
काजी भीम मल्लको निवास हनुमानढोका दरवार नजिकैको कारखाना व्यारेक नेर ढोकाटोल भन्ने ठाउँमा थियो। यीनकै नेतृत्वमा कान्तिपुरले भक्तपुरको केही भाग आफ्नो अधिनमा ल्याएको थियो। कान्तिपुर र तिब्बतबीच व्यापार सुदृढ गर्न पनि यीनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। काजी भीम मल्ल सैन्य परिचालनमा कुशल, व्यापारमा चतुर, कुटनीतिमा पारङ्गत र देशका लागि प्रतिवद्ध थिए। यीनैको नेतृत्वमा भोटको कुत्ति र केरुङ कान्तिपुरको अधिनमा आएको थियो। यीनैले भोटसँग व्यापारिक सन्धि पनि गराएका थिए। उनी उपत्यकाका तीनवटै राज्यको राजा लक्ष्मीनरसिंह मल्ल बनुन भन्ने चाहन्थे। उनी राजाका विश्वास पात्र थिए।
एकपटक भोटबाट कान्तिपुर फर्किने क्रममा बाटोमा रात परेर उनी अघिल्लो दिन भादगाउँमा बास बसेका थिए। उनको पराक्रम र कुटनीति देखि रिस गर्ने अन्य केही भारदारहरुले उनले भादगाउँका राजा सँग मिलेर कान्तिपुर माथि आक्रमण गर्न लागेको भन्ने झुटो कुरा राजा सँग लगाइदिए। भोलीपल्ट भीम मल्ल तलेजु भवानीको दर्शन गरी हनुमानढोका दरबार मा प्रवेश गर्न लाग्दा राजाको आदेश अनुसार उनी प्रवेशद्वारमै काटिए। यसरी निरपराध र मुलुकप्रति बफादार अनि सामर्थ्यवान व्यक्ति शासकद्वारा मारिन पुगे। भीम मल्लकी पत्नी आफ्नो ईमान्दार र राष्ट्रवादी पतिको मृत्युले विचलित भइन। र सति जाने क्रममा उनले " देशमा भलाई गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै पनि राम्रो नहोस्" भनेर श्राप दिएर गइन। लक्ष्मीनरसिंह मल्लले जब वास्तविकता थाहा पाए उनलाई निकै पश्चाताप भयो। पछि यहि कारणले उनले आफ्नो मानसिक सन्तुलन समेत गुमाउन पुगे। 
भीम मल्ल लाई लक्ष्मीनरसिंह मल्लले नभई प्रताप मल्लले फाँसी दिएका थिए भनेर ईतिहासकार डा. पेशल दाहाल लेख्छन्। वि. सं १६९८ मा प्रताप मल्ल कान्तिपुरका राजा बने। उनका समकालिन राजाहरु मध्ये गोरखाका राजा डम्बर शाह, पाटनका राजा सिद्धिनरसिंह मल्ल र भक्तपुरका राजा जितामित्र मल्ल हुन्। भीम मल्ल लक्ष्मीनरसिंह मल्लका नजिकका र विश्वासिला पात्र थिए। प्रताप मल्ल बाबु जीवित छँदै राजा बनेका थिए। त्यसैले उनलाई आफ्ना बाबु निकटका मान्छेहरु सँग खासै विश्वास थिएन। त्यही माथि भक्तपुरका एक महादेव ओझा नाम गरेका व्यक्तिले कान्तिपुरका नरदेव र मयासिंह नाम गरेका व्यक्तिहरुको मद्दतले राजा प्रताप मल्लको कान फुकिदिए। उनीहरुले राजामा यो भ्रम पारिदिए कि काजी भीम मल्लले कान्तिपुरको पूर्व र कान्तिपुरले जितेको भोटको केही भागलाई  स्वतन्त्र बनाएर अलग राज्य बनाउँदै छन्। यस पछि राजाले भीम मल्ललाई दरबारमा हाँजिर हुन बोलाए। र दरबारको प्रवेशद्वार मै उनी काटिए। त्यसपछि उनकी पत्नी भुवनलक्ष्मी मल्लले सति जाँदै गर्दा नेपाली दरवारमा कसैको विवेक नरहोस्, र देशको भलो चाहने कुनै पनि व्यक्तिको यस देश कहिल्यै राम्रो नहोस् भनेर श्राप दिइन्।
त्यसपछि कान्तिपुर (काठमाडौं) केन्द्र बनाएर शासन गरेका कोही पनि शासकहरु को शासनकाल राम्रो रहेको छैन। भीम मल्ल पछिका मल्ल राजाहरु, शाह राजाहरू, राणाहरु र गणतन्त्रका नेताहरु जो काठमाडौंमा बसेर शासन चलाए उनीहरु कुनै न कुनै विवादमा तानिएकै छन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाह स्वयं अनेकौं विवादमा तानिन्छन्। कीर्तिपुर काण्ड एउटा उदाहरण हो। राष्ट्रवादी कहलिएका महेन्द्र पनि सतप्रतिशत लोकप्रिय हुन सकेनन्, र उनको मृत्यु समेत रहस्यमयी बन्न पुग्यो। राजा वीरेन्द्रको त झन वंशनाश नै भयो। ज्ञानेन्द्र शाह पछि त राजतन्त्र नै हट्यो।
हाम्रै शास्त्रहरुलाई मान्ने हो भने पनि सति को श्राप भोग्नै पर्ने हुन्छ। स्वयं भगवान विष्णुले पनि सति को श्राप भोग्नु परेको थियो। जालन्धर पत्नी वृन्दाले आफ्नो सतित्व को छलपूर्वक हरण गरेकाले विष्णुलाई घाँस भएर रहनु परोस्, झार भएर रहनु परोस्, वृक्ष भएर रहनु परोस् र ढुंगा भएर रहनु परोस् भनी श्राप दिएकी थिइन्। त्यसपछि विष्णु क्रमशः कुश, तुलसी, पिपल र शालिग्राम भएर बस्नुपरेको थियो।

सति प्रथाको अन्त्य 
भारतीय उपमहाद्वीपमा सति प्रथाको अन्त्य बङ्गाल क्षेत्रबाट सुरु भयो।‌ उन्नाइसौं शताब्दीको अन्त्यतिर यो अमानवीय प्रथा विरुद्ध विरोध हुन थाल्यो। महिला अधिकारकर्मी राजा राममोहन रोयले यस कुप्रथा विरुद्ध आवाज उठाए। कानुनी रुपमै यसको अन्त्य भने सन् १८२९ डिसेम्बर ४ (वि. सं १८८६ मंसिर १९) गते बिर्टिश गभर्नर जनरल विलियम बेंटिन्क गरेका हुन। सति प्रथामा प्रतिबन्ध लागेपछि बहुविवाहको विरोध र महिलाहरूको शिक्षाको पक्षमा पनि बहस सुरु भयो।
नेपालमा एकीकरण पछि पनि शाहकालको सुरुवाती समयमा सति प्रथाको अभ्यास यथावत नै थियो। राजा पृथ्वीनारायण शाहको मृत्युपछि ९ जना रानीहरु सति गएका थिए। सति प्रथाको अन्त्य भने राणाकालमा भयो। 

राणाकालमा सतिप्रथा 
प्रधानमन्त्री जङ्गबहादुर राणाले वि.सं १९०६ मा युरोप भ्रमण गरे। यस भ्रमण पछि वि.सं १९१० मा उनले मुलुकी ऐन लागु गरे। मुलुकी ऐनले सती प्रथालाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन नसकेपनि यस प्रथाको अभ्यासमा कही बन्देज लगायो। यस ऐनमा सति प्रथा सम्बन्धी २९ वटा धाराहरु छन्।

यस ऐन ले:-
१) १६ वर्षभन्दा मुनिका स्वास्नी मानिसलाई  सति जानमा प्रतिबन्ध लगायो,
२) कान्छो छोरो १६ वर्ष पुगेको रहेनछ भने आमालाई सति जानबाट प्रतिबन्ध लगायो,
३) पाँच वर्षभन्दा कम उमेरकी छोरी भएकी आमालाई  सति जानबाट प्रतिबन्ध लगायो,
४) गर्भवती महिलालाई सती जानबाट प्रतिबन्ध लगायो,
५) गर्भवती महिलाले गर्भ पैदा भएपछि सती जान्छु भन्यो भने  सति जानबाट प्रतिबन्ध लगायो,
६) छोरो मर्दा सति जानबाट प्रतिबन्ध लगायो। कसैले सती जान वचन दिन्छ भने उसलाई ऐन बमोजिम कारवाही र मृत्युदण्ड सम्मको सजाय तोक्यो,
७) चिताबाट भागेकी  सतिलाई ढुङ्गा मुढा हानी मार्नबाट प्रतिबन्ध लगायो। यसरी भागेकी  सतिलाई उसको ईच्छा‌ भए मात्र मुचुल्का उठाएर पुन: सति जान दिने व्यवस्था गर्यो। मुचुल्का नउठाई सति पठाए आगो दिनेलाई ऐन बमोजिम कारवाही को व्यवस्था गर्यो।
यस ऐनले सति प्रथाको पूर्ण रूपमा अन्त्य गर्न नसके पनि केही हदसम्म रोक्ने प्रयास गर्यो। तर सोह्र वर्ष कटेकी महिलाको यदि छोरो १६ वर्ष कटेको र छोरी ५ वर्ष कटेकी रहेछ भने उनलाई सम्झाइबुझाई गर्दा नमाने उनले स्वईच्छाले सति जान पाउँथिन्। 
ऐनमा जे सुकै लेखेका भएतापनि सुदुर नेपालमा यसको कार्यान्वयन हुन सकेन। ऐन लागु भएपछि पनि ऐन विपरित धेरै गाउँहरूमा सतिप्रथा व्यापक थियो।

नेपालमा सतिप्रथा विरुद्ध आवाज
योगमाया न्यौपाने महिला अधिकार र समानताको पक्षमा आवाज उठाउने सशक्त व्यक्तित्व हुन् उनले  वि.सं १९७५ मा नारी समितिको गठन गरीन्। यस समितिको उद्देश्य सामाजिक अन्याय, जातीय भेदभाव, महिला उत्पीडन, र धर्मको नाममा हुने गलत कार्यहरूको विरोध गर्नु थियो। योगमायाले महिलाहरूको अधिकारका लागि आवाज उठाइन्। उनले विधवाहरूको पुनर्विवाह र छोरीहरूको शिक्षाको पक्षमा जोड दिइन्।
उनले धर्मका नाममा गरिने अन्धविश्वास, पण्डितहरूको शोषण, र अन्यायपूर्ण प्रथाहरूको खुलेर विरोध गरिन्। तर राज्यले उनका विचार र मागलाई बेवास्ता गर्यो। त्यसैले १९९७ सालमा योगमाया र उनका ६८ जना अनुयायीहरूले अरुण नदीमा हाम फालेर आत्मदाह गरे। यसलाई नेपाली इतिहासमा "सामूहिक बलिदान" को रूपमा चिनिन्छ।
नेपालमा सतिप्रथाको अन्त्य भने प्रधानमन्त्री चन्द्र शमशेरले गरेका हुन्। वि. सं १९७७ असार २५ गते, बंगालमा सतिप्रथामा प्रतिबन्ध लगाएको ९१ वर्ष पछि नेपालमा पनि सतिप्रथा माथी प्रतिबन्ध लगाउने घोषणा भयो।

1 Comments

Post a Comment

Previous Post Next Post