तामाङ जातिको ईतिहास


नेपाल एक बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो। नेपालमा कयौं जातजाति छन्, र तिनीहरुका आ-आफ्नै मौलिक रितिरिवाज, चालचलन र भेषभूषा छन्। नेपालका दुई प्रमुख धर्महरु हिन्दू र बौद्ध हुन्। यिनै प्रमुख धर्म मध्ये को एक बौद्ध धर्मका अनुयायीहरु तामाङ समुदाय हुन्। तामाङ हरु नेपालका आदिवासी हुन्। विशेषगरी काठमाडौं वरपरका क्षेत्रमा तामाङ हरुको बसोबास रहेको छ। तामाङहरुको बसोबास रहेको ठाँउलाई तामसालिङ क्षेत्र भनिन्छ।

तामाङ शब्दको उत्पत्ति
तामाङ शब्दको उत्पत्ति कसरी भयो भनेर यकिन का साथ भन्न सकिने अवस्था छैन। तर यस विषयमा विभिन्न विद्वानहरूले आ-आफ्नै धारणा व्यक्त गरेका छन्। तिब्बती भाषामा 'ता' भनेको घोडा र 'माङ्गमी' भनेको सैनिक हुन्छ। यस अर्थमा तामाङ भनेको घोडचढी सिपाही हुन भन्ने अर्थ बुझिन्छ। त्यस्तै तिब्बती भाषामा ता भनेको घोडा र 'मङ' भनेको व्यापारी हो। घोडाको व्यापार गर्ने अथवा घोडामा बसेर व्यापार गर्ने भएकाले नै तामाङ भनिएको हुन सक्छ।  तामाङ हरु थाक खोलाका थकाली हुन्, र घोडामा चढेर नुनको व्यापार गर्ने हुँदा यिनीहरुलाई तामाङ भनिएको हो। तर भाषाशास्त्री अमृत योञ्जन तामाङले भने तामाङ शब्दको अर्थ भाषाशास्त्रीय मतअनुसार घोडचढी भन्दा पनि कुराको पहलका रुपमा अर्थ्याएका छन्। उनका अनुसार ‘ताम’ भनेको कुरा अर्थात् भाषा र ‘पाङ’ भनेको बोल्नु हो। यसरी ‘ताम’ र ‘पाङ’ को अर्थ कुराको पहल गर्ने वा भाषाको उत्पत्ति गर्ने भन्ने लाग्छ भन्ने उनको मान्यता छ।

मुर्मी बाट तामाङ
नेपाल र तिब्बतको सिमाना बसोबास गर्ने भएकाले यिनीहरूलाई पहिले मुर्मी भनिन्थ्यो। पूर्वका लेप्चाहरु तामाङलाई मुर्मी भन्थे, जसको अर्थ सिमानाका बासिन्दा भन्ने बुझिन्छ। तामाङ शब्दको अर्थमा विविधता पाइन्छ। मुर्मी जातिलाई तामाङ भनि भन्न थालिएको भन्ने बिसौं शताव्दी देखि हो। तत्कालीन प्रधानमन्त्री श्री ३ भीम शमशेरका पालामा जङ्गवीर मोक्तान नाम गरेका सैनिक सुवेदार ले तामाङहरुलाई कसैले सिं, कसैले भोटे तथा कसैले मुर्मी भनि सम्बोधन गर्ने भएकाले तामाङ जातिमा एकरुपता ल्याउन मुर्मी भोटे (सिमानाका भोटे) नभनि सबैलाई तामाङ जसको अर्थ घोडचढी वीर हुन्छ त्यो लेख्न पाउनु पर्ने भनी माग गरे। त्यसपछि वि. सं १९८९ भदौ ६ गते एक आदेश पत्र जारी गरी भीम शमशेरले अब बाट मुर्मी भोट्या नभनि तामाङ शब्द प्रयोग गर्ने आदेश दिए। तामाङ शब्दको उल्लेख त्यो भन्दा पहिला मुस्ताङ भेगका राजा से वाङ नोर्वु (सन् १६८८–१७५५)को समयमा लेखिएको राजा ङारी गुङथङको वंशावलीमा राजा बुम दे गन (सन् १२५३–१२८०) ले बनाएको ६ वटा गढीबारे उल्लेख गरिएको छ। तीमध्ये से मोन ता–माङको आक्रमण रोक्न वा उनलाई दबाउन ती राजाले मुक्तिनाथमा ‘स्रिनगढी’ र अर्का आक्रमणकारी मोन डोल्पोलाई दबाउन डोल्पोमा ‘ओम मणि पद्मे हुँ’ गढी बनाए भन्ने उल्लेख छ।

तामाङहरुको नेपाल आगमन
तामाङ हरु कसरी र कहिले काठमाडौं वरपरका क्षेत्रमा आए भन्ने विषयमा पनि विभिन्न विद्वानहरूका फरक मत रहेका छन्। काठमाडौं उपत्यकामा पहिले पानी थियो, र तिब्बतबाट मञ्जुश्री आएर चोभारको डाँडा काटेर पानी बाहिर फालिदिए। त्यसपछि यहाँ रहेका नागहरुलाई टौदहमा बस्ने ठाउँ मिलाइदिए र उपत्यकामा मानव बस्ती बसाले। यिनै मञ्जुश्री सँग घोडामा चढेर नेपाल छिरेका थिए तामाङ हरु। तामाङ भाषामा काठमाडौँ लाई "याम्बु" भनिन्छ। याम्बु शब्द "याङ्ला पु" बाट अपभ्रंस भएर बनेको हो, जसको अर्थ हाम्रो ठाउँ भन्ने बुझिन्छ। पछि काठमाडौंमा विभिन्न समयमा आक्रमण भएपछि उनीहरु त्यहाँ बाट विस्थापित भए र उपत्यका वरपरका जिल्ला हरु काभ्रे, दोलखा, सिन्धुपाल्चोक, रसुवा, रामेछाप, मकवानपुर र गोरखा लगायतका जिल्लाहरुमा पुगे। 
तामाङहरु घोडचढी सैनिकको रुपमा स्रङ चङ गम्पोको समयमा तिब्बतबाट नेपाल प्रवेश गरेको मान्यता छ । त्यसैले पनि तामाङहरुका कतिपय संस्कार र संस्कृतीहरु तिब्बतीहरुसँग मेल खाने गर्दछ । नववर्षको शुभारम्भ पनि तिब्बतीको झै मनाउने भए तापनि चन्द्रमास अनुसार माघ शुक्ल प्रतिपदालाई लिने गर्दछन् । 
आठौं शताब्दी तिर अंशुवर्मा पछि उदयदेव नेपालका राजा भए। गुप्त वंशका राजा विष्णु गुप्तको आक्रमण पछि उदयदेव भागेर तिब्बत शरण पर्न गए। उनको तिब्बतमै मृत्यु भयो। त्यसपछि उनका छोरा नरेन्द्रदेवले तिब्बती घोडचढी सैनिक सहित नेपालमा आक्रमण गरे र आफ्नो राज्य फिर्ता लिए। यही समयमा आएका तिब्बती सैनिकहरु फिर्ता नगई यही नेपालमै बसे। यही समयमा तिब्बतमा साम्य बिहार बन्दै थियो। त्यसको लागि बुद्धको पवित्र अवशेष लिन भारतको मगधको यात्रा गरेका थिए। त्यस समयमा तिब्बतीहरु भारत जान नेपालको बाटो प्रयोग गर्थे। तामाङ जाति र नेपालको अत्यन्तै प्राचिन सम्बन्ध रहेको छ। कोही ईतिहासकारको मत मान्ने हो भने तामाङहरु नेपालका मुलबासी मंगोल हुन्। तिब्बती भाषामा तामाङ हरुलाई "रोम्पो" भनिन्छ जसको अर्थ विदेशी भन्ने हुन्छ।‌ तिब्बतीहरु नेपालका मानिसलाई बिदेशी भनेका हुन सक्छन्। यसकारण तामाङहरु तिब्बत बाट नआएको र यही काठमाडौं वरपरका क्षेत्रका मुलबासी भएको पुष्टि हुन्छ।

ब्रिटिश कालमा तामाङ
सन् १८६८ मा ब्रिटिश ईष्ट इण्डिया कम्पनी ले "The Races of Hindustan" नामक पुस्तक प्रकाशन गरेको थियो। जसमा नेपाल तथा भारतका विभिन्न भेगमा बस्ने विभिन्न जातजाति को फोटो छापिएको थियो। यसमा नेपालका तामाङ हरुका बारेमा पनि फोटो सहित लेखिएको थियो। तर त्यसमा तामाङ शब्द नभई मुर्मी शब्द प्रयोग गरिएको छ। सायद त्यो नै तामाङहरुको सबैभन्दा पुरानो फोटो हो। सन् १८५० मा ब्रिटिश सेनामा भर्ती भएका क्लेरेन्स टेलर सन् १८५७ को सैनिक विद्रोहमा नराम्रो सँग घाइते भएपछि सन् १८६० उनी नेपालका लागि इस्ट इण्डिया कम्पनी का राजदूत जर्ज राम्सेको सहयोगी भई नेपाल आएका थिए। त्यही बेलामा सन् १८६३ तिर उनले नेपालका विभिन्न जातजाति को फोटो खिचेका थिए। 

तामाङहरुको पहिरनमा पनि तिब्बती प्रभाव नै भेटिन्छ। उनीहरु शिरमा तागी (टोपी) लगाउँछन् शरिरमा खेन्जार (शर्ट) लगाउँछन् त्यसमाथि तोदुक (वेस्टकोट )लगाउँछन् । शरिरको तल्लो भागमा सुर्लुङ/श्योल्दो (सुरुवाल) लगाउँछन् र खुट्टामा दोछा (जुत्ता) लगाउँछन् । यसै गरि महिलाहरु पनि शिरमा तागी (टोपी) शरिरमा हाङरे (ब्लाउज) त्यसमाथि आङदूङ (वेस्टकोट )लगाउँछन् । शरिरको तल्लो भागमा दोर्जे (फ्रक) लगाउँछन् साथै डोर्जेको माथिबाट पाङ्डेन लगाउँछन् र कम्मरलाई बेस्सरी घरबुना के (पटुकी)ले बाँध्ने गर्दछन् । खुट्टामा दोछा (जुत्ता) लगाउँछन्।

1 Comments

Post a Comment

Previous Post Next Post