स्वस्तिक चिह्न, हरेक शुभ कार्यमा प्रयोग गरिने चिह्न। गृह प्रवेश होस् अथवा नयाँ सवारी साधन अनि मतपत्रमा छाप लगाउन होस् अथवा धार्मिक कार्य हरु, स्वस्तिक छाप (卐) नचिन्ने सायदै कम होलान् नेपालमा। तर पूर्वीय देशहरुमा शुभ मानिने स्वस्तिक चिह्न आखिर किन एकाएक आक्रोश र नश्लवादको चिह्न बन्यो त, यस पछाडी को कारण बुझौं।
स्वस्तिक संस्कृत शब्द हो। दुई शब्द सु र अस्ती मिलेर स्वस्ति बनेको हो। जसको अर्थ शुभ भन्ने बुझिन्छ। स्वस्तिक को अर्को अर्थ हुन्छ, स्व आस्तिक अर्थात् आत्मामा स्थिर हुने। जसको अर्थ मोक्ष अथवा कैवल्य भन्ने पनि बुझिन्छ।
हिन्दू, बौद्ध र जैन धर्मावलम्बीहरु मा स्वस्तिक चिह्नको विशेष महत्व छ। हिन्दू हरुको हरेक शुभ कार्यमा यस चिह्न अनिवार्य जस्तो हुन्छ। दाँया स्वस्तिक चिह्न (卐) ले सुर्यलाई अथवा सृष्टि को अनन्तता लाई जनाउँछ भने बाँया स्वस्तिक चिह्न ले (卍) ले तन्त्र विद्या अथवा भनौं महाकाली लाई जनाउँछ। यस्तै हिन्दू हरुका पाञ्चायन देवताहरु: गणेश, विष्णु, सूर्य, दुर्गा र शिव हुन्। यी पाञ्चायन देवताहरु मा पाञ्चायन मान्ने देवतालाई मध्यमा राखिन्छ भन्ने अन्य देवतालाई उत्तर- पश्चिम, उत्तर- पूर्व, पूर्व- दक्षिण र दक्षिण- पश्चिम दिशामा राखेर पुजा गरिन्छ। यसरी देवताको स्थापना गर्दा स्वस्तिक आकार बन्न जान्छ।
यस्तै बौद्ध धर्ममा यस चिन्नले भगवान बुद्धको पद चिह्न लाई बुझाउँछ। र यस चिह्न ले जैन धर्मावलम्बीहरु का चौबीस मध्ये सातौं तीर्थंकर सुपार्श्वनाथ लाई बुझाउँछ।
हुन त स्वस्तिक चिह्न पूर्वीय नभई पश्चिममा पनि प्रयोग गरेको भेटिन्छ। प्रसिद्ध नोर्स देवता थोर को हाम्मर "मियोलनिर" मा पनि स्वस्तिक चिह्न प्रयोग गरिन्छ। युक्रेनमा पन्ध्र हजार वर्ष पुरानो पुरातात्विक साइट "मेजाइन" (Mezine) मा पनि स्वस्तिक चिह्न को आकार फेला परेको थियो भने रोमन को सात हजार वर्ष पुरानो कार्पेट मा पनि स्वस्तिक चिह्न फेला परेको थियो। स्वस्तिक चिह्न सँग मिल्दोजुल्दो धेरै चिह्नहरु विभिन्न कालखण्डका भेटिएका छन्। तर जब यो चिह्न जर्मनीमा पस्यो यो एक नश्लवादको चिह्नका रुपमा स्थापित भई लाखौं यहुदी को ज्यान लिएर विस्तापित भयो। त्यसपछि पश्चिममा आजसम्म पनि यो यो चिह्न नश्लवाद, फासीवाद र घृणाको चिह्न भएर रहेको छ।
जर्मनीमा हिटलरको नाजी झण्डा सम्म कसरी पुग्यो त स्वस्तिक?
यसको लागि ईतिहासमा दुई सय वर्ष पछाडि फर्किनु पर्छ। जर्मनीमा जन्मेका म्याक्स मुलर भारतीय धर्म, भाषा र संस्कृति का अध्येता थिए। यी व्यक्ति तिनै हुन् जसले वेदलाई अङ्ग्रेजीमा अनुवाद गरे। यीनलाई संस्कृत लगायत अन्य थुप्रै युरोपेली भाषाको ज्ञान थियो। जब यीनले संस्कृत भाषा सिके उनले यस भाषाको व्याकरण युरोपेली भाषासँग मिल्दोजुल्दो पाए। साथै केही शब्दहरू को पनि समान अर्थ भेट्टाए। यसपछि उनी भारतीय (भारतवर्ष) र युरोपेली हरुको अन्तरसम्बन्धमा अध्ययन गर्न थाले। सन् १८५० मा यीनले "Two Aryan Races" नामक सिद्धान्त प्रतिपादन गरे, जस अनुसार रसिया र जर्जिया को पहाडी इलाका ककसिया आर्यन (आर्य) हरुको उद्गम स्थल हो। यो क्षेत्रबाट एकथरी पश्चिम लागे, अर्काथरीहरु इरान हुँदै सिन्धु घाटी सम्म आइपुगे। उनका अनुसार आर्यहरु ईशापूर्व १५०० वर्ष अगाडि भारत पसेका हुन्। उनीहरु यहाँ आएर आक्रमण गरे। यहाँको सभ्यता नष्ट पारे। अनि यहीँ उनीहरूले ऋग्वेद लेखे। आर्यन आएपछिको समयलाई वैदिक काल भनिन्छ। यो सिद्धान्त लाई Aryan Invasion Theory (AIT) भनिन्छ।
वर्तमान समयमा यो सिद्धान्त प्राप्त प्रमाणहरु र प्रयाप्त प्रमाणहरुको अभावमा गलत सावित भैसकेको छ। तर पनि १९औं शताब्दीमा यही सिद्धान्त लाई अङ्ग्रेजहरूले फुटाउ र शासन गर विधि का लागि प्रयोग गरेको थियो। राखीगढीको भिरडाना पुरातात्विक साइट जुन सिन्धु घाटी सभ्यताकै भाग हो, यहाँ करिब नौ हजार पाँच सय बर्ष पुरानो सभ्यता फेला पर्यो। यहाँ प्राप्त शिवलिङ्ग, रथ, नमस्कार गरेका मुर्ति हरु बाट हिन्दुहरू बाहिर बाट नआएको र हिन्दू सभ्यता यहाँ सिन्धु घाटी को सभ्यता भन्दा पुर्व (ईशा पूर्व ७५००) नै रहेको भन्ने पुष्टि हुन्छ। यहाँ को उत्खनन गर्दा कुनै हतियार हरु भेटिएनन्, जसबाट आक्रमण भएको पुष्टि होस्। सिन्धु घाटी को सभ्यता ईशापूर्व ३३ सय वर्ष अगाडि बाट सुरु भएको भन्ने मान्यता थियो। जसको पुरातात्विक साइट आजको पाकिस्तान सहित भारतको हरियाणा राज्य सम्म रहेको छ।
तर १९औं शताब्दीको मध्यतिर, Aryan Invasion Theory युरोपमा प्रचलित थियो। युरोपका केही देशका मानिसहरू आफुलाई आर्यन (Nobel Race) मान्ने गर्थे।
सन् १८६८ मा ग्रीक को पौराणिक कथामा आधारित ट्रोय को शहर खोज्न निस्केका जर्मन पुरातात्त्वविद हेनरिच स्लिइमान् (Heinrich Schliemann) ले करिव तीन वर्षको खोज पछि सन् १८७१ मा एक विशेष खोज गरे। उनले टर्कीको एजियन तट (Aegean Coast) मा स्वस्तिक चिह्नका करिव १८०० प्रकारहरु भेट्टाए। यो खोजले उनलाई विश्व विख्यात बनायो। यस पछि युरोप लगायत अमेरिका सम्म स्वस्तिक चिह्न लाई शुभ चिह्न मानी प्रयोग हुन थाल्यो। कोकाकोला होस् अथवा खेलकुदका टिमहरु, सबैले आ-आफ्नो प्रतिकात्मक चिह्नमा स्वस्तिक चिह्न प्रयोग गर्न थाले।
यीनै हेनरिचका सहयोगी अमिल लुइस बर्नोफ (Emile Louis Burnouf) ले ऋगवेदको अध्ययन गरी स्वस्तिक चिह्न र रहस्यमय प्राचीन मानिसहरु बीचको सम्बन्ध बारे खोजी गरे। सेतो छाला, खैरो कपाल र अग्लो कद हुने हरु आफुहरु महान जाति "आर्यन" भनेर घमण्ड गर्न थाले। सन् १९२० मा स्वस्तिक चिह्न जर्मनीमा पस्यो।
प्रथम विश्वयुद्धमा नराम्रो पराजय बेहोरेको जर्मनीमा राजनैतिक सङ्कट थियो। सन् १९३३ मा हिटलर सत्तामा आयो। हिटलर प्रथम विश्वयुद्धको पराजयको कारण यहुदी हरु हुन भन्ने ठान्थ्यो। त्यसपछि सुरु भयो नश्लको को लागि युद्ध। हिटलर जर्मनहरु शुद्ध नश्लका आर्यन हरु हुन् भन्ने मान्थ्यो र यहुदी हरु लाई तल्लो नश्लका रुपमा हेर्थ्यो। तर जर्मनमा यहुदी हरु निकै धनी र बुद्धिमान थिए। यसबाट हिटलर रुष्ट थियो। यही थियो हिटलर र यहुदी बीचको घृणाको कारण। उसको झण्डामा भएको स्वस्तिक चिह्न पनि उही शुद्ध नश्ल र आर्यन जाति को प्रतीक थियो। यही घृणाले लाखौं मानिसहरूको ज्यान लियो।
संस्कृतमा आर्य (आर्यन) को अर्थ उत्तम, विद्वान र जान्ने व्यक्ति भन्ने बुझिन्छ। यसमा नश्लको कुरै आउँदैन। यसरी एक गलत सिद्धान्त का कारण नश्लवादको उदय भयो र पृथ्वी ले एक भयङ्कर युद्धको मार खेप्नु पर्यो। एक तानाशाहको सनकले परमाणु बम सम्म फुट्यो। शुभ मानिएको स्वस्तिक चिह्न एकाएक नश्लवादको प्रतिक बन्यो। आजपनि केही पहिचानको राजनीति गर्नेहरु नश्ललाई (Race) लाई धर्मसँग जोडेर घृणाको राजनीति गर्छन्। जुन विल्कुल गलत छ।
Hajur le Rachana ekdam sahi xa...Esto lekh haru Aru pani padhne abasar dinuhola🥰
ReplyDeleteDhanyabad
DeletePost a Comment