नेपाल श्री पशुपतिनाथको देश हो। भनिन्छ यहाँका पशु पनि अनाथ छैनन्, उनिहरुका नाथ श्री पशुपतिनाथ स्वयं यहाँ विराजमान छन्। आज भन्दा करिब १५ वर्ष अगाडि सम्म नेपाल विश्वको एकमात्र हिन्दु राष्ट्र थियो। श्री पशुपतिनाथलाई संविधानले नै राष्ट्रदेवको रुपमा मानेको थियो। नेपालको ईतिहासमा श्री पशुपतिनाथको विशेष स्थान रहेको छ। विभिन्न वंशावली अनुसार श्री पशुपतिनाथको उत्पत्ति नेपाल नाम को उत्पत्ति सँगै आएको पढ्न सकिन्छ। विभिन्न शास्त्रहरुमा र पौराणिक कथाहरूमा पनि श्री पशुपतिनाथ को उल्लेख गरिएको छ।
नेपाल को राजधानी काठमाडौंमा अवस्थित र युनेस्कोले विश्व सम्पदा सुचीमा सुचीकृत गरेको यस पाशुपत क्षेत्रको ईतिहास एक हजार वर्ष भन्दा बढी पुरानो छ।
नेपालको सबैभन्दा पुरानो वंशावली गोपालराज वंशावली अनुसार श्री पशुपतिनाथको उत्पत्ति ज्योतिर्लिङ्ग को रुपमा भएको थियो। एक ग्वाला को कैली गाई जहिले हराउने गर्थिन्। एक दिन ग्वाला ले गाईको पिछा गर्दै जाँदा गाईले थुनबाट दुध पोखेको देख्यो। यो देखेपछि दुधले भिजेको त्यो ठाउँ खनेर हेर्दा त्यहाँ बाट ज्योतिर्लिङ्ग उत्पन्न भयो। त्यस्को तेजले ग्वाला भष्म भयो। यसपछि श्री पशुपतिनाथ को उत्पत्ति भएको भन्ने दन्त्यकथा छ।
भाषा वंशावलीमा पनि पशुपतिनाथको गुठी व्यवस्थापन बारे उल्लेख छ। अर्को कथा महाभारत सँग सम्बन्धित छ। महाभारतको युद्ध पश्चात गोत्र हत्याको पाप बोकेका पाण्डवहरू भीष्म पितामह को आज्ञा र भगवान श्री कृष्णको सल्लाह अनुसार श्री महादेवको तप गर्न हिमालय तर्फ लागे। हिमालयमा गएर तपस्या गर्दा पनि महादेव ले तत्काल दर्शन दिनुभएन। महादेव एक साँढे को रुप लिएर कैलाशबाट निस्किनु भयो। महादेव लाई साँढेको रुपमा देखेपछि पाण्डवहरु साँढेको पछाडि लागे।जब उनीहरु नजिक पुगे, साँढे जमिन भित्र धसिन थाल्यो। भिमले साँढेको पुच्छर समाते। भिमको हातमा पुच्छर मात्र रह्यो। त्यो ठाउँ जहाँ पुच्छर रह्यो त्यो केदारनाथ हो र जहाँ शिर भाग रह्यो त्यो ठाउँ पाशुपत क्षेत्र हो। महाभारतमा पाशुपत क्षेत्रलाई माहेश्वरपुर भनिएको छ।
मन्दिरको भौतिक संरचना बारे भने विभिन्न लेखहरु पढ्न पाइन्छ। गोपालराज वंशावली अनुसार लिच्छवी राजा प्रचण्डदेव ले श्री पशुपतिनाथ को मन्दिर बनाएको भन्ने उल्लेख छ। उनले यो मन्दिर पाँच तले बनाएका थिए। यस्तै अर्को एक वंशावली अनुसार भने लिच्छवी राजा सुपुष्प देव ले यस मन्दिरको निर्माण गर्न लगाएका थिए। मन्दिर को आडैमा रहेको त्रिशुल भाष्कर वर्माले चढाएको भन्ने कुरा भाषा वंशावलीमा उल्लेख छ। कतै लिच्छवि राजा विश्व देवले त्रिशुल राखेको भन्ने कुरा पनि पढ्न सकिन्छ। वि. सं. १३५१ मा अनन्त मल्लले मन्दिरमा सुनको छाना चढाएका थिए। लिच्छवि देखि शाहवंशीय राजाहरु आफ्नो शासनकालमा श्री पशुपतिनाथको मन्दिरमा केही न केही सेवा, दान र निर्माण गरेको ईतिहास छ।
मन्दिर किँरातकालिन हुन सक्ने पनि ईतिहास छ। त्यो बेलामा किँरातहरु शैव थिए। त्यसैले कुनै किँरात राजाले यस मन्दिरको निर्माण गरेको पनि हुन सक्छ। स्वयं भगवान श्री महादेवले पनि किँरातेश्वर को रुपमा प्रकट हुनुभएको थियो। मृगस्थली मा भगवान मृगको रुपमा आउनुभएको भन्ने कथाहरु शास्त्रहरुमा भेटिन्छन्।
वि. सं १४०६ मा बंगालका सुल्तान संसुद्दीन इलियास का करिब ३०,०००(?) सैनिक जनकपुर, सिन्धुली हुँदै नेपाल छिरे। यहाँ आएर करिब एक हप्तासम्म विध्वंस मच्चाएपछि श्री पशुपतिनाथको मन्दिर तोडफोड गर्नुका साथै मुख्य शिव लिङ्ग लाई तीन टुक्रा पारी फुटालिदिए। यहाँ बाट पैसा, सुन चाँदी लिएर फर्किए। साथै पाशुपत क्षेत्रमा रहेका, श्री बराह अवतारको मुर्ति बाहेक अन्य सबै मुर्ति हरुमा क्षति पुर्याए।
यसपछि वि. सं. १४१७ मा महामन्त्री जयसिंह रामवर्दनले मन्दिर को पुनर्निर्माण गरे। वि.सं. १४७३ मा राजा ज्योतिर मल्लले पुनः मन्दिरको जीर्णोद्धार गरे। वर्तमान मन्दिर भने वि.सं. १७५४ मा राजा भुपालेन्द्र मल्लले बनाएका हुन।
मन्दिरमा भारतीय विशेष गरी दक्षिण भारतको कर्नाटक, महाराष्ट्र र आन्ध्र प्रदेश का ब्राह्मण पुजारी रहने प्रचलन रहेको छ। यो प्रचलन कहिलेदेखि प्रारम्भ भएको भन्ने यकिन तथ्य छैन। कसैले राजा प्रताप मल्लका पालादेखि यो प्रचलन रहेको भन्ने गरेको पनि सुनिन्छ।
राजा को निधन हुँदा पुरै राज्यलाई नै जुठो लाग्ने र पशुपतिनाथको पुजामा अवरोध हुने हुँदा, यस्तो नहोस् भनेर भारतीय ब्राह्मणलाई पुजारी को निम्ति राखिएको हुन सक्छ।
ब्राह्मण दुई प्रकारका हुन्छन्, शुल्क यजुर्वेदी र कृष्ण यजुर्वेदी। शुक्ल यजुर्वेदी भनेको हामीले देखि राख्ने साधारण ब्राह्मण हुन्। कृष्ण यजुर्वेदी भनेका मुख्यतः दक्षिण भारतको कर्नाटक, महाराष्ट्र, आन्ध्र प्रदेश आदि तिरका ब्राह्मण हुन। उनीहरुलाई जुठो परे पनि हातमुख धोएर पाठपुजामा बस्न सक्छन्।
साथै शिव भगवान तन्त्र विद्याका पनि प्रणेता हुनुहुन्छ। कृष्ण यजुर्वेदी ब्राह्मणले वैदिक ज्ञान मात्र नभई तान्त्रिक ज्ञान पनि प्राप्त गरेका हुन्छन्। यसैले पशुपतिनाथ को मन्दिरमा हुने कृष्ण यजुर्वेदी ब्राह्मण हुन्।
पाशुपत क्षेत्र नेपालीहरुको मात्र नभई संसारका सम्पूर्ण हिन्दू हरुको आस्थाको केन्द्र हो। यसको महत्व कालान्तर सम्म पनि रहिरहनेछ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।
धन्यवाद
ReplyDelete🙏🙏
Deleteश्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।🪔🔔
ReplyDeletePost a Comment