नेपाल शब्दको उत्पत्ति लाई लिएर धेरै कथाहरु सुन्न र पढ्न सकिन्छ। ईतिहासको विभिन्न कालखण्डमा लिखित विभिन्न वंशावलीको अध्ययन गर्ने हो भने नेपाल नामको लागि कयौं दन्त्यकथाहरु भेटिन्छन्।
प्रचलित एक दन्त्यकथा अझ भनौं बौद्ध वंशावलीका अनुसार महाचिन बाट मञ्जुश्री आएर चोभारको डाँडा काटेर काठमाडौं उपत्यकाबाट पानी बाहिर फालेपछि यहाँ बस्न योग्य जमिन बन्यो। मलिलो माटो भएकाले यहाँ घाँस उम्रियो, अनि दक्षिणबाट ग्वालाहरु गाई चराउन यहाँ आए। यीनै ग्वालाहरु गोपालवंशी हुन्। धर्माकर नामक व्यक्ति पहिलो गोपालवंशी राजा हुन्। काठमाडौं उपत्यकामा पहिले पानी थियो त्यो पनि सत्य हो र चोभार बाट पानी बाहिर गएको कुरा पनि सत्य हो। यहाँको बलौटे माटो यस कुराको प्रमाण हो। तर मञ्जुश्रीले नै काटेको भन्ने कुराको ठोस प्रमाण भने छैन।
हिन्दू वंशावली अनुसार भगवान श्री कृष्णले दानासुर नामक राक्षसलाई मारेर उपत्यकाबाट पानी बाहिर फालेको अनि उनका छोरीहरु लिएर द्वारिका फर्केको भन्ने कुरा उल्लेख छ। श्री कृष्ण सँग आएका गोपालहरु यहीँ (मातातीर्थमा) शासन गरेको पनि भनिन्छ। र यो वंशावली अनुसार भुक्तमान पहिलो गोपालवंशी राजा हुन्। तर महाभारतको युद्ध हुँदा नेपालमा किँरातवंश ले शासन गरेको, र स्वयं किंरात राजा पनि युद्धमा सरिक भएकाले यो कथाको पनि खासै वजन भने छैन।
पद्मगिरी वंशावली, राजभोग वंशावली, नेपाल महात्म्य, पशुपति पुराण आदिमा "ने" नामक ऋषिको चर्चा पाइन्छ। पद्मगिरी वंशावली अनुसार किर्तीपुरका एक ब्राह्मण सँग कपिल नामक गाई थियो। त्यो गाई हरेक दिन एक निश्चित ठाउँमा गएर आफ्नो दुध खन्याउँथ्यो। यो देखेर चकित ब्राह्मण, गाईले दिनहुँ थुनबाट दुध पोख्ने ठाउँमा खन्न थाले। त्यहाँबाट श्री पशुपतिनाथको शिवलिङ्ग फेला पर्यो। र "ने" मुनीद्वारा यीनै ब्राह्मणलाई राजाकाज सिकाइ राजा बनाइयो। यीनले भुमाङ्गत नामबाट शासन चलाए। यही कथा फरक ढङ्गबाट राजभोग वंशावली पनि उल्लेख छ। विदेशी लेखक डेनियल राइटले पनि '"ने" मुनी को अस्तित्व स्वीकार गरेका छन्।
नेपाल देशको ईतिहास नामक पुस्तकमा निप जातका व्यक्तिलाई "ने" मुनीले राजाकाज सिकाएर राजा बनाएको कुरा छ। भुक्तमान नै निप हुन् भन्ने कुरा पनि गरिएको छ।विभिन्न वंशावली अनुसार ने मुनीले पाशुपत क्षेत्रको रक्षा गरेको, र उनी नै नेपालको पालनकर्ता र तीर्थमुनी भएको जनाइएको छ। भाषा वंशावलीमा "ने" मुनीलाई नेपालको पालनकर्ता भएको मानिएको छ भने काठमाडौं उपत्यकाको एक राजवंशावली अनुसार यीनै "ने" मुनीका कारण बिरुपाक्ष मातृसम्भोग को पापबाट मुक्त भएको कुरा उल्लेख गरिएको छ। वि. सं १५०९ को यक्ष मल्लको र वि. सं १७८५ को जगतजय मल्लको ताम्रपत्रमा पनि "ने" मुनीको नाम आएको छ।
तर आर्यहरुको नाम एक अक्षरको हुने प्रचलन नभएको हुँदा "ने" नाम मै कयौं शंका र उपशंकाहरु रहेका छन्। "ने" मुनी को अस्तित्व स्वीकार नै गर्ने हो भने पनि, उनी को हुन्, कहाँ बस्थे भन्ने कुरामा ईतिहास मौन छ।
गण्डकी महात्म्य अनुसार भने नेपाल नामको उत्पत्ति निप नामक व्यक्तिबाट भएको भनिएको छ। पारकोट राज्यका राजा पारका छोरा निपले शिवजीको तपस्या गरी आशिर्वाद लिए, र आफ्नो नामबाट एउटा शक्तिशाली राज्य होस् भन्ने वरदान मागे। शिवजीले पनि आफ्नो पाशुपत क्षेत्रमा तिम्रो नामबाट राज्य होस् भनि वरदान दिए। यीनै निप राजबाट निपाल र कालान्तरमा अपभ्रंश भई नेपाल भएको हुनसक्छ। हालको तनहुँ जिल्लामा रहेको पुरकोटनै पारकोट राज्य हुनसक्छ।
यी त सबै भन्ने कुरा न हुन भने जस्तै दन्त्यकथाहरु बाट चोखो ईतिहास फेला पर्दैन। नेपाल नामको सन्दर्भमा केही तथ्य हरु यस्ता छन्:
१. तिब्बती भाषामा ने भनेको ऊन र पाल भनेको घर हुन्छ। त्यो बेलामा यहाँ प्रशस्त ऊन हुने हुँदा यसलाई "ऊन को घर" अर्थात् नेपाल भनिएको हुन सक्छ।
२. नेपालमा शासन गर्ने दोस्रो वंश महिषपाल हुन् ।(यदि गोपालवंशलाई पहिलो मान्ने हो भने। हुन त कसैले गोपालवंश भन्दा पनि पहिले कार्कोट वंश थिए पनि भन्छन्। तर ठोस प्रमाणहरुको अभावमा किराँतवंशलाई पहिलो वंश मानिन्छ।) महिष अर्थात् भैंसी। उनीहरु भैंसी पाल्थे। भैंसीलाई नेपाल भाषामा में (म्हे) भनिन्छ। र "म्हे पाल" अर्थात् भैंसी पाल्ने बाट नै नेपाल शब्द बनेको हुन सक्छ।
३. दन्त्यकथाहरु लाई नमान्ने र साँच्चै "ने" मुनी को अस्तित्व स्वीकार गर्ने हो भने, यीनै "ने" ऋषि बाट आश्रित भुमी नै नेपाल हो।
राम्रो लेख
ReplyDeleteधन्यवाद ❤️
Deleteधन्यवाद
ReplyDeleteयस्तै गहन अध्ययन गरेर हामी सामु अरु पनि इतिहासका रोचक तथ्यहरु प्रस्तुत गर्दै गर्नुहोला। धन्यवाद
ReplyDeletePost a Comment