हिमालय को उत्पत्ति कसरी भयो?

 नेपाल हिमवत्खण्डमा अवस्थित देश हो। नेपालको करिब ७५% जमिन हिमाल र पहाडले भरिएको छ। नेपालको शिरको ताज बनेर रहेको हिमालय क्षेत्रमा विश्वकै सर्वोच्च शिखर सगरमाथा मात्र नभई अन्य कयौं हिमालहरु पनि रहेका छन्। अफगानिस्तान देखी म्यानमार सम्म फैलिएको यस हिमालय हिमश्रृङ्खला आजभन्दा करिब पाँच करोड वर्ष पहिले भएको हो। यसको निर्माण प्रक्रिया बडो रोचक रहेको छ। सुन्दा आश्चर्य लाग्न सक्छ कि हाल सगरमाथा लगायत विशाल हिमपर्वतहरु रहेको ठाउँमा कुनै समय समुन्द्र रहेको थियो। यो समुन्द्रमा रहेका समुन्द्री जीवहरुको जीवावशेषहरु आजपनि सगरमाथाको चुचुरोमा पाइन्छन्।

तस्विर: प्यानजिया
जर्मन वैज्ञानिक अल्फ्रेड वेग्नरले लेखेको किताब "दि ओरिजन अफ् कन्टिनेन्ट्स " का अनुसार आजभन्दा करिब २२५ मिलियन वर्ष पहिले अर्थात् साढे बाईस करोड वर्ष पहिले सात वटै महादेश एउटै ठाउँमा जोडिएर रहेका थिए। त्यसलाई सुपर कन्टिनेन्ट (जर्मन भाषामा: Urkontinent) अर्थात् विशाल महादेश भनिन्थ्यो। यो विशाल महादेशको नाम "प्यानजिया" (Pangea) रहेको थियो जसको अर्थ सम्पूर्ण पृथ्वी ( All the Earth) भन्ने हुन्छ। प्यानजीया ग्रीक शब्द हो। यस समयमा महासागरहरु छुट्टिएका थिएनन्, र एकमात्र महासागर थियो जसलाई प्यान्थालासा (Panthalassa) भनिन्थ्यो। प्यान्थालासा को अर्थ सम्पूर्ण महासागर भन्ने हुन्छ।

करिब १५ करोड वर्ष अगाडि पृथ्वीको आन्तरिक हलचलका कारण प्यानजिया दुई टुक्रामा टुक्रिन सुरु भयो। र ७ करोड वर्ष पहिले दुई टुक्रा भयो। उत्तरी भागमा हालको उत्तर अमेरिका र युरेसिया (युरोप र एशिया) संयुक्त रुपमा थिए जसलाई लौरेसिया (Lauresia) भनियो भने दक्षिणमा हालको अफ्रिका, दक्षिण अमेरिका, अष्ट्रेलिया, अन्टार्कटिका र भारतीय उपमहाद्विप संयुक्त रुपमा थिए जसलाई गोन्डवानाल्याण्ड (Gondwanaland) भनियो। लौरेसिया र गोन्डवाना बिचमा रहेको सागर लाई टेथस (Tethys) सागर भनिन्थ्यो। यस टेथिस सागरमा लौरेसिया बाट बगाएर ल्याएको चट्टाने माटो र मेटाफोरपिक चट्टानहरु जम्मा भए।
गोन्डवानाल्याण्ड पनि टुक्रियो। अफ्रिकाको पश्चिमी तटबाट दक्षिण अमेरिका अलग भयो। पूर्वी तटबाट अन्टार्कटिका र अष्ट्रेलिया अलग भए भने उत्तर पूर्वी तटबाट भारतीय उपमहाद्विप अलग भयो। त्यसपछि भारतीय उपमहाद्विप जसलाई ईण्डो-अष्ट्रेलियन् प्लेट पनि भनिन्छ त्यो उत्तर तर्फ सर्किन थाल्यो भने अन्टार्कटिका दक्षिण तर्फ सर्किन थाल्यो। एउटा सानो टुक्रा पनि टुक्रियो जसलाई आज माडागास्कर भनिन्छ।
यसरी गोन्डवानाल्याण्डबाट टुक्रिएको ईण्डो-अष्ट्रेलियन् प्लेट १५ सेन्टिमिटर प्रति वर्ष का गतिले उत्तरतर्फ युरेसियन प्लेट तिर अगाडि बढ्यो। करिब ६ हजार किलोमिटर दूरी तय गरेर आजभन्दा करिब ५ करोड वर्ष पहिले ईण्डो-अष्ट्रेलियन् प्लेट लौरेसियाको दक्षिणमा रहेको तिब्बतियन प्लेट सँग ठोकियो। यो प्रक्रियामा तिब्बतियन प्लेट स्थिर थियो र ईण्डो-अष्ट्रेलियन् प्लेट गतिमा थियो। यसका कारण दुई प्लेट बीचको जमिन खुम्चिएर माथि उठ्न थाल्यो। यो प्रक्रियालाई जियोसिन्क्लाईन् प्रक्रिया ( Geosyncline Process) भनिन्छ। यसरी माथि उठेका जमिनहरु हिमाल र पहाड बने। जियोसिन्क्लाईन को उच्च भागलाई एन्टिक्लाईन् (Anticline) भनिन्छ भने गहिरो भागलाई सिन्क्लाईन् (Syncline) भनिन्छ। सिन्क्लाईन्मा माटो भरियो र यो समथर जमिन बन्यो। यहाँ माटो मलिलो र जमिन खेतियोग्य बन्यो।

तस्विर: जियोसिन्क्लाईन् प्रक्रिया 
भारतीय उपमहाद्विप को पश्चिममा हिन्दूकुश पर्वतमाला रहेको छ, उत्तरमा हिमालय हिमश्रृङ्खला, पूर्वमा अर्कान पर्वतमाला रहेको छ भने दक्षिणमा हिन्द महासागर छ। यसरी यो एशिया महाद्वीपको चारै तर्फबाट प्राकृतिक सिमानाले छुट्टिएको हुँदा यसलाई उपमहाद्विप भनिएको हो।

विभिन्न महाद्विपमा भेटिएका जीवावशेषहरु, सगरमाथा लगायत हिमालहरुको बढ्दो उचाई र महादेश हरुको तटिय आकारहरु मिल्नुले पनि यस कुरालाई प्रमाणित गर्छ। यो सबै प्रकियालाई कन्टिनेन्टल कोलिसन थियरी (Continental Collision Theory) भनिन्छ। आजपनि समुन्द्री जीवका जीवावशेषहरु हिमालय क्षेत्रमा पाईन्छन्। कालिगण्डकी नदीको किनारमा पाईने शालिग्राम पनि जीवावशेष नै हो। अर्को रोचक कुरा के छ भने, यो ईण्डो-अष्ट्रेलियन् प्लेट अझैपनि तिब्बतियन प्लेट मुनि पाँच सेन्टिमिटर प्रति वर्षका गतिले धसिँदै छ। जसका कारण हिमालहरु को उचाई बढिरहेको छ। यस क्षेत्रमा धेरै भुकम्प जानुको कारण पनि यहि प्लेट हरुको घर्षण नै हो

Post a Comment

Previous Post Next Post