जन्म र प्रारम्भिक जीवन
नेपाली ईतिहासमा कयौं क्रान्तिहरु भएका छन्। यी क्रान्तिहरु को कुरा गर्दा भीम दत्त पन्त नछुटिने नाम हो। भीम दत्त पन्त को नाम नसुन्ने कमै होलान्, तर उनका क्रान्तिकारी कथाहरु र उनको शाहस को कथा जान्ने कमै मात्र छन्।
सुदुरपश्चिम प्रदेशको डडेलधुरा जिल्ला अमरगढी २, कारीगाउँमा वि. सं १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त समाजवादी किसान आन्दोलनका नेतृत्वकर्ता थिए। उनी दलित र गरिब किसानको पक्षमा लड्ने महान अभियन्ता थिए। "ठालु खान्ना आलु, गरिब खान्ना बास्मती" भन्ने नाराका साथ उनले तमसुक च्यात भकारी फोड आन्दोलन चलाएका थिए। जसको जोत उसको पोत, किसान जीन्दावाद, जनताको राज जीन्दावाद भन्ने भीम दत्त एक विद्रोही नाम हो।
भारतमा अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। भारतमा अध्ययन गरेर फर्केपछि २००७ सालमा गरिब, दलित, जनजाति (मगर, थारु) आदिलाई संगठित गराई उनले राणाविरोधी आन्दोलन सुरु गरेका थिए। २००७ सालपछिको राजनैतिक परिवर्तनपछि केही समय उनी काङ्ग्रेस मा आवद्ध रहे तर पछि काङ्ग्रेसको व्यवहार मन नपरेर कम्युनिष्ट तिर गए। कम्युनिष्ट पार्टीमा आवद्ध भएपछि उनले वाम आन्दोलन सुरु गरे। काङ्ग्रेस सँग मत भिन्नता भएपछि उनले जय नेपाल को सट्टा "जय जनता" भन्न थालेका थिए।
भीम दत्तको योगदान र महत्त्व
कि जोत हलो, कि छोड थलो
होइन भने छैन भलो।
यस्ता क्रान्तिकारी नारा लिएर उनी दलित र गरिब किसानका लागि लडिरहे। सुदुरपश्चिम को भ्रमण मा रहँदा उनले कयौं गरिब र दलितले नुन सम्म पनि खान नपाएको देखे। त्यसपछि उनले नुन आन्दोलन सुरु गरे। उनले कञ्चनपुरको ब्रहमदेव मा रहेको एक भन्सारमा लगाइएको ताला फुटालेर नुन, तेल, लत्ताकपडा गरिबहरुमा बाँडे। गरिब र धनिलाई एकै बनाउने भन्दै उनले मुक्ति सेना गठन गरे। उनको मुक्ति सेनामा दलित, थारु, मगर आदि थिए। मुक्ति सेनाले जाली तमसुक बनाएर श्रम शोषण गर्ने ठालुलाई कारवाही गर्न थाले।
उनले आफ्नै पिता विरुद्ध पनि आन्दोलन गरेका थिए। तपाईं पनि सामन्ती हो भनि तमसुकहरु च्यातिदिएका थिए। उनले आन्दोलनकारीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे। जसका कारण ठालुहरु चिढिएर उनलाई पागल भन्थे। बैलोरीमा एक बैंक कब्जा गरी सेनालाई तलब दिएर बाँकी पैसा गरिब किसानमा बाँडिदिएका थिए।
उनले आफ्नो सम्पूर्ण जीवन गरिब किसानलाई दिएका थिए। जसका कारण उनले आफ्नो परिवारलाई समेत ध्यान दिन पाएका थिएनन्। जसका कारण उनले पाँच वर्ष को जेठो छोरा र साढे दुई वर्षको कान्छो छोरा समेत गुमाउन परेको थियो। दोस्रो विवाह गरेर एक छोरी जन्मेकी थिइन्, उनको पनि निधन भएको थियो।
तस्बिर: भीम दत्त पन्तको जन्मघर
सामन्ती व्यवस्थाविरुद्ध लडाइँ
उठ जाग रे नेपाली नव जवान जाग रे,
नेपालमा तम नेपाल देशलाई स्वतन्त्र बनाउ रे।
बम्बई जाने रेलगाडीमा दिल्लीको माल आयो,
गरिबका दिन आया ठालुको काल आयो।
भीम दत्त अक्सर यस्ता गित गाइरहन्थे। उनी जातिय विभेद को सख्त विरोधी थिए। पंडितको छोरा भएर दलितको हातको पानी खाएका थिए। उनी जात केवल दुइवटा हुन्छन्, लोग्ने मान्छे र स्वास्नी मान्छे भन्ने गर्दथे। उनले शैक्षिक आन्दोलन, महिला मुक्ति र गरिब दलित आन्दोलनलाई संयुक्त रुपमा समाजवादी आन्दोलन नाम दिएर सङ्घर्ष गरेका थिए। तमसुक पट्टा आन्दोलन चलाएर तमसुक च्यात्ने काम पनि गरे। भीम दत्त पन्तले सुरु गरेको आन्दोलनकै कारण उनलाई पटक पटक जेल हालियो। अनेकौं झुठा आरोप लगाएर जेल हाल्दा पनि उनी विचलित नभएपछि उनलाई मार्ने षड्यन्त्र रचियो। जसका लागि भारतिय सैनिक बोलाईएको थियो। बेलौरी कब्जा गरेर धनगढी कब्जा गर्न जाँदा उनलाई भारतिय सैनिकले नियन्त्रणमा लिएको थियो।
वि.सं २०१० श्रावण महिनाको १७ गते उनलाई आफ्नै मित लाल बहादुर थापाले गोली हाने। गोली लागेर छट्पटाइरहेको अवस्थामा उनको टाउको काटियो र बडाहाकिम मोहन बहादुर सिंहलाई बुझाइयो। काटेको टाउको ७२ घण्टासम्म बाँसको टुप्पोमा झुण्डाएर राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो।
काजकिरिया गर्न उनको टाउको माग्न जाँदा ३१ बुँदे सहमतिमा औंठा छाप लगाई टाउको दिइयो। उनको काजकिरिया गर्न गाउँमा बाउन पाइएन। उनको परिवारलाई सामाजिक वहिष्कार गरि मेला, पर्व र पानी पँधेरो बाट समेत बञ्चित गरियो। उनको हत्या गर्ने लाल बहादुर थापालाई बडाहाकिम बाट रु ५००० पुरस्कार दिइयो।
योगदान र महत्त्व
भीम दत्त एक व्यक्ति नभई आन्दोलन हो। भीम दत्तले समाजमा व्याप्त छुवाछुत, आर्थिक शोषण, र लैङ्गिक विभेद विरुद्ध आफ्नो जीवन समर्पण गरे। उनले आफ्नो व्यक्तिगत जीवनका दुःखद घटनाहरू र शारीरिक यातनाहरू सहेर पनि आफ्नो उद्देश्यबाट विचलित नभई सुदूरपश्चिमका गरिब र दलितको हकहितका लागि निरन्तर लडे।
तर आज सम्म पनि उनको ईच्छा पुरा हुन सकेको छैन। मुलुक चरम जातिय विभेद र लैङ्गिक विभेदको जालो बाट उम्किन सकेको छैन। भीम दत्त कै क्षेत्र सुदुरपश्चिममा त अझ अन्धविश्वास र जातिय छुवाछुत चरम छ।
उनको हत्याको ६३ वर्ष पछि २०७२ सालको फागुन १९ मा नेपाल सरकारले उनलाई शहिद घोषणा गरेको थियो।
Post a Comment