एकिकरण हुनु पूर्व को नेपाल

राष्ट्र र राष्ट्रियता मानव निर्मित कुराहरु हुन्।‌ अहिले हाम्रो जुन राष्ट्रियता छ यसको कारण ३०० वर्ष अगाडि जन्मेका पृथ्वीनारायण शाहलाई नै जान्छ। उनी नभएको भए सायद नेपाल एकिकरण नहुन सक्थ्यो, हामी अर्कै राष्ट्रका नागरिक हुन्थ्यौं होला र त्यसैमा गर्व पनि गर्थ्यौं होला। आधुनिक नेपालको एकिकरणको श्रेय पृथ्वीनारायण शाहलाई नै जान्छ। तर देशमा गणतन्त्र आइसकेपछि केही मानिसहरु पृथ्वीनारायण शाहको योगदानको मुक्तकण्ठले प्रशंसा गर्न चाँहदैनन्। उनका गल्ती कोट्याएर उनलाई थुक्ने अथवा उनको एकिकरण अभियानको विरोध गर्ने थुप्रै व्यक्तिहरु सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ। अझ कोही कोही त पृथ्वीनारायण शाह भन्ने काल्पनिक पात्र मात्र हुन् भन्ने तर्क समेत प्रस्तुत गर्छन्। पृथ्वीनारायण शाहलाई लगाइने आरोपहरु मध्ये केही ले किर्तिपुरको नाक काण्ड लाई अघि ल्याउँछन् त कोही भाषा, लिपि र धर्म मासेको आरोप लगाउँछन्।

नेपाल पौराणिक कालदेखि नै स्वतन्त्र र अविभाज्य थियो। २४०० वर्ष अगाडि को कौटिल्य अर्थशास्त्रमा समेत नेपालको वर्णन छ। २००० वर्ष अगाडि को समुन्द्र गुप्तको प्राग अभिलेखमा नेपालको सिमाना पूर्वमा कामपुर (आसाम) र पश्चिममा कर्तिपूर (कुमाउ गढवाल) सम्म रहेको लेखिएको छ।

कुनै समय उत्तरमा मानसरोवर, पश्चिममा कुमाउ गढवाल, पूर्वमा बंगाल र दक्षिणमा भारतको बिहार सम्म नेपालको सिमाना थियो। तर लिच्छविकाल पछि बिक्रमको बाह्रौ शताब्दीमा यो राज्य छिन्नभिन्न भयो र विभिन्न साना राज्य हरु खडा भए। उत्तर पश्चिममा नागराजले स्थापना गरेको सिञ्जा राज्य, दक्षिणमा नान्यदेवले स्थापना गरेको सिम्रौनगढ (तिरहुत) राज्य, उपत्यकामा अरि मल्ले स्थापना गरेको नेपाल मण्डल आदि हुन्।‌ सिञ्जा राज्यको सिमाना पूर्वमा गोरखा, दक्षिणमा लुम्बिनी र उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत को मानसरोवर सम्म थियो। यही विशाल सिञ्जा राज्य टुक्रिएर बाइसी र चौबिसी राज्यहरु खडा भएका थिए।

एकिकरण पूर्वको नेपाली समाज कस्तो थियो ? यस क्षेत्रमा कति राज्य र कति राजा रजौटाहरु थिए, उनीहरुको आपसमा कस्तो सम्बन्ध थियो होला त? के पृथ्वीनारायण शाहले भन्दा पहिले कसैले यस क्षेत्रमा एकिकरणको प्रयास गरेका थिए ? पन्ध्र सय वर्ष अगाडि को नेपाल कालान्तरमा कसरी टुक्रिएर ५० भन्दा बढी राज्यमा कसरी विभाजन भयो? यी तमाम प्रश्नहरुको जवाफ पृथ्वीनारायण शाहलाई दानविकरण गर्नेहरु ले खोज्न सक्नु पर्छ। हुन त पृथ्वीनारायण शाह राजा हुन्, एक शासक हुन्। उनी सन्त महात्मा होइनन्। उनका पनि कमजोरी थिए, गल्ती थिए। त्यसैले उनलाई देवत्वकरण गर्नु पर्ने आवश्यकता पनि छैन। तर ईतिहासमा उनको योगदान जति रहेको छ, त्यति सम्मानका हकदार उनी पक्कै हुन्।

एकिकरण पूर्व को नेपाल:



जतिबेला पृथ्वीनारायण शाहको जन्म भएको थियो, त्यो समयमा यस क्षेत्रमा ५२ वटा जति राज्य थिए। तर ति सबै राज्य हरुमा केवल केही राज्यहरु मात्र शक्तिशाली थिए। पश्चिममा जुम्ला शक्तिशाली राज्य थियो। पूर्वमा मकवानपुर, विजयपुर र काठमाडौं उपत्यका तीन राज्यहरु कान्तिपुर, पाटन र भक्तपुर शक्तिशाली थिए। पाल्पाको सेन राज्य पनि शक्तिशाली थियो। स्वयं पृनाशा जन्मेको गोरखा एक कमजोर र गरिब राष्ट्र थियो। राज्यहरुमा एकता थिएन। उपत्यकाकै कुरा गर्ने हो भने पनि, तीन राज्यहरुमा पटक्कै मेल थिएन। यक्ष मल्लको निधन पछि उपत्यकामा तीन राज्य खडा भएका थिए। उनका तीन भाई छोरा क्रमशः रत्न मल्ल, राय मल्ल र रण मल्लले कान्तिपुर, भक्तपुर र पाटन लाई स्वतन्त्र राज्यका रुपमा शासन गर्न थालेका थिए। उनीहरु बीच कतिसम्म बेमेल थियो भन्दा यक्ष मल्लको शव भक्तपुर बाट पशुपतिनाथमा जलाउन ल्याएउँदा रत्न मल्लले रोकेका थिए। भक्तपुरका राजा लाई कान्तिपुर र पाटनका राजा सँग रिस उठ्यो भने बिस्का: जात्रा हेर्न जाने कान्तिपुरे र पाटने कुटिन्थे। त्यस्तै कहिलेकाहीँ पाटनको रातो मच्छिन्द्रनाथको जात्रा हेर्न भक्तपुरे र कान्तिपुरेले पाउँथेनन्। एउटै समुदाय भएपनि झैझगडा र वैमन्स्यता व्यापक थियो। यो त एउटा उदाहरण हो।
दक्षिणमा अङ्ग्रेजहरु स्थापित र मुगलहरु विस्थापित हुने क्रममा थिए। त्यही भएर पनि यस क्षेत्रमा मुगलहरुको आगमनको डर बढ्दै थियो। उपत्यकामा घरिघरि मुसलमान ले आक्रमण गरेर दुख दिन्थे। बंगालको राजा समसुद्दिन ईलियाजले त उपत्यकामा लुटपाट नै मच्चाएको थियो। एकीकृत नभई रहेको खण्डमा अङ्ग्रेजहरुले पनि सजिलै आक्रमण गरेर यस क्षेत्रलाई आफ्नो उपनिवेशमा लिन सक्थे। बाईसी र चौबिसी राज्य हरुमा पनि युद्ध भैरहन्थ्यो। लमजुङ र गोरखा राज्यको दुस्मनी यसको उदाहरण हो। उपत्यकाका तीन मल्ल राज्यहरु मा पनि आपसी मेलमिलाप थिएन। पूर्वका राज्यहरुमा बङ्गालीहरुले आक्रमण गरेर दुख दिन्थे। यस्तो अवस्थामा यो क्षेत्र मा एकता को खाँचो थियो।‌ सबै एकिकृत भएर बस्नुपर्ने आवश्यकता देखिएको थियो।

त्यसैले पनि पृथ्वीनारायण शाह भन्दा पहिले पाल्पाका राजा मुकुन्द सेनले एकिकरण को प्रयास गरेका थिए। त्यसपछि नेपालमण्डल का राजा यक्ष मल्ल ले पनि एकिकरण को प्रयास नगरेका भने होइनन्। तर उनीहरु सफल हुन सकेनन्। पृथ्वीनारायण शाह एकिकरण गर्न सफल हुनु को कारण युद्ध र राजनीति मात्र नभई उनको विचार पनि हो।‌ उनी के मान्दथे भने राज्य भनेको बाँड्ने कुरा होइन।
वि. सं ५२२ मा आफ्ना बुबा धर्मदेवको निधनपछि राजा बनेका मानदेवले मामाको सहयोग आफ्नो राज्य विस्तार गरेका थिए। उनले आफ्नो राज्यमा पश्चिमको गण्डकी पारी को मल्ल राज्य पूर्वमा सठ (किँरात) राज्यहरु लाई आफ्नो राज्यमा मिलाएका थिए। यसरी मानदेवको पालामा पनि अहिलेको नेपाल जत्रै राज्य बनेको थियो। तर कालान्तरमा केन्द्र कमजोर हुँदा र बिभिन्न सामन्तहरु उदय भएपछि एकिकृत नेपाल टुक्रिएको थियो। जसलाई पुनः एकिकरण गर्ने प्रयास पाल्पाका राजा मुकुन्द सेनले गरेका थिए। पाल्पा राज्यको विस्तार पाल्पा एक शक्तिशाली राज्य थियो। पाल्पा का राजा मुकुन्द सेन ले यसको विस्तार गरेका थिए। उनका छोरा लोहाङ्ग सेन पनि राज्य विस्तारका क्रममा अग्र पङ्तीमा रही लडेका थिए। उनले नारायणी नदीको पूर्वमा विशाल वन फाँडेर बस्ती बसाले, जसलाई मुकुन्दपुर भनिन्थ्यो। यही मुकुन्दपुर कालान्तरमा मकवानपुर भएको हो भन्ने धारणा विभिन्न ईतिहासकारहरुले गरेका छन्। मुकुन्द सेनको निधनपछि लोहाङ्ग सेन पाल्पा र मकवानपुर का राजा भए। लोहाङ्ग सेनले पूर्वको पहाडी र तराई को भुमि कब्जामा लिए। उनले तराईका दुई दर्जन भन्दा बढी स-साना राज्यहरुका सामन्तहरु लाई जितेर पाल्पा राज्यको सिमाना कोशी नदी सम्म पुर्याए। लोहाङ्ग सेनकै पालामा पाल्पा राज्यको सिमाना दक्षिणमा भारतको दरबङ्गा, सुपोल र राधापुर सम्म पुगेको थियो।
यसपछि लोहाङ्ग सेनले कोशी नदी पारी पनि राज्य विस्तार गर्ने योजना बनाए। तर कोशी नदी पारी शक्तिशाली विजयपुर राज्य रहेको थियो। विजयपुरको पहाडी क्षेत्रमा किँरातीहरुको दबदबा रहेको थियो। विजयपुरका राजा विजयनारायण थिए। उनले किँरातहरुसँग सम्झौता गरेका थिए। सम्झौता अनुरुप यदि विजयपुरमा कसैले आक्रमण गरे किँरातीहरुले मिलेर प्रतिकार गर्नु पर्ने हुन्थ्यो। मोरेहाङ्ग (हालको मोरङ्ग) पनि यहि सम्झौता अनुसार विजयपुर राज्यमा विलय भएको थियो। विजयपुरलाई युद्ध गरेर हराउनु कठिन थियो। त्यसैले लोहाङ्ग सेनले युद्ध बाट भन्दा कुटनैतिक तवरले अगाडि बढ्ने सोच बनाए र विजयपुर राज्यको कमजोरी केलाउन थालेे।
राजा विजयनारायणका मन्त्रीहरु किँराती थिए। मुरेहाङ्ग नाम गरेका एक मन्त्री विजयनारायण कि छोरीको सुन्दरताले मोहित भए। उनीहरु को सम्बन्ध बारे थाहा पाएपछि राजा विजयनारायणले मुरेहाङ्गको हत्या गराइदिए। मुरेहाङ्गका छोरा बाझहाङ्ग यसको बदला लिन चाहन्थे। यीनै बाझहाङ्गले लोहाङ्ग सेनको मद्दत गरे, र लोहाङ्ग सेनले सजिलै विजयपुर राज्यलाई मकवानपुरमा विलय गराए। त्यसपछि लोहाङ्ग सेनले १० लिम्बू, ८ राई, र १६ खुम्बु लाई दिवान पद दिए। त्यसपछि मकवानपुर राज्य को सिमाना पश्चिममा रिढी, पूर्वमा बंगाल र दक्षिणमा भारतको कटिहार सम्म पुग्यो। पाल्पा राज्य टुक्रिनुको कारण लोहाङ्ग सेन मकवानपुर दरवार बाट शासन चलाउथेँ। उनको निधन पछि उनका छोरा रागवेन्द्र सेन राजा बने। वि. सं १७१८ मा हरिहर इन्द्र सेन पाल्पाका राजा भए। यीनका छोरा छत्रपति इन्द्र सेन थिए। छत्रपति इन्द्र सेनका दुइवटी पत्नी थिए। जेठी पट्टीकाका छोरा जेठा विधाता इन्द्र सेन थिए भने कान्छी पट्टीका छोरा शुभ सेन थिए। छत्रपति इन्द्र सेनको युवराज छँदै मृत्यु भयो। त्यसपछि हरिहर इन्द्र सेनले विधाता इन्द्र सेनको सट्टा कान्छी पट्टी का छोरा शुभ सेनलाई युवराज घोषित गरिदिए। यसबाट रुष्ट भएका विधाता इन्द्र सेनले किँरातीहरुको सहयोगमा मकवानपुर बाट विजयपुरलाई अलग गराए र आफु राजा अनि किँरातीहरुलाई मन्त्री बनाइ शासन गर्न थाले। यसरी विशाल मकवानपुर राज्य टुक्रिएर पुन: विजयपुर अलग भयो।

भाषा, धर्म र‌ संस्कृति:

नेपाली भाषाले राज्यबाट प्रश्रय पाएको भने पक्कै हो। आधुनिक नेपाली भाषा प्राचीन खस भाषाको विकसित रुप हो। एकिकरण भन्दा पहिले विभिन्न समुदायमा आ-आफ्नै मातृभाषा बोल्ने चलन थियो। उपत्यकाका नेवार हरु नेपाल भाषा बोल्थे, राई हरु राइ भाषा, लिम्बुहरु लिम्बु भाषा बोल्थे। गुरुङ, मगर, तामाङ आदि सबै आ-आफ्नै भाषा बोल्थे तर सम्पर्क भाषा भने खस भाषा नै थियो। बाइसी चौबीसी राज्यहरुको सम्पर्क भाषा खस भाषा थियो। सिद्धिनरसिंह मल्लले गोरखा का राजा राम शाहसँग व्यापारिक सम्झौता गरेका थिए। उपत्यकामा नेपाल भाषा बोलिने भएपनि राजाहरुले सन्धि सम्झौता गर्दा खस भाषाकै प्रयोग गर्थे। राजा प्रताप सिंह शाहका पालामा त तिब्बत सँग भएको एक सम्झौतामा नेपाल भाषाको प्रयोग गरिएको थियो। तसर्थ यस क्षेत्रको सम्पर्क भाषाका रुपमा खस भाषाकै प्रयोग हुन्थ्यो भने समुदाय स्तरमा मातृभाषा प्रयोग हुन्थ्यो। पछि राणाकालमा नेपाली भाषाले फुल्ने मौका पायो। यसलाई आड दिने काम राजा महेन्द्रले गरे।
धर्म को कुरा गर्दा उपत्यकामा दुइ धर्म थिए, हिन्दू र बौद्ध। भक्तपुरका जनता हिन्दू थिए, पाटनका बौद्ध थिए भने कान्तिपुर मा दुवै धर्म मान्ने मान्छेहरु थिए। सिञ्जा राज्यको स्थापना हुँदा बौद्ध धर्म व्यापक थियो। यसका शासक बौद्ध थिए। खस राज्यहरुमा बौद्ध र हिन्दु (मष्टो) दुवै धर्म मान्ने मान्छेहरु थिए। सिम्रौनगढ का राजाहरु हिन्दु थिए। पुर्वमा किँरात धर्म मान्ने हरु थिए।
अन्ततोगत्वा, पृथ्वीनारायण शाहलाई विस्तारवादी भनेर आलोचना गर्नु र अन्य शाहवंशीय राजाहरु लाई जस्तै व्यवहार गर्नु गलत हो। ठुलै राज्यको राजा हुने चाहले एकिकरण सुरु गरेको भएता पनि आज जुन राष्ट्र छ त्यस्को पहिचान दिने काम उनले नै गरेका हुन्। यसमा सबै सहमत हुन जरुरी छ। उनीबाट केही युद्ध अपराध नभएका भने पक्कै होइनन्, तर त्यस्को लागि उनका राम्रा काम र योगदान को कदर नगरिनु भने उचित हुँदैन।

Post a Comment

Previous Post Next Post