हिन्दू राष्ट्र नेपाल: आवश्यकता ??

नेपाल‌ कुनै समयको हिन्दू धर्म सहितको हिमाली अधिराज्य। देशमा दशकौं लामो युद्धले देशमा नयाँ राजनीतिक परिवर्तनको बिहानी देखायो। देशमा दुई सतक भन्दा पुरानो शाहवंशीय शासनकाल समाप्त भई गणतन्त्र स्थापना भयो। देशमा पहिचान सहितको संघीयता को लागि संघर्ष भयो। मुलुकले नयाँ संविधान पाउन लामो समय कुर्नु पनि पर्यो। र अन्तिममा देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गयो। यति हुँदाहुँदै देशमा एउटा परिवर्तन पनि भयो, त्यो थियो धर्म निरपेक्षता।

धर्म निरपेक्षता नेपालीको चाहना थियो अथवा थिएन भन्ने विषयमा बारम्बार बहस पनि चलिरहन्छ। कोही धर्म निरपेक्षता नेपालीको चाहना थिएन, परिवर्तनहरुको बीचमा यो यत्तिकै घुसाइएको भन्ने मान्छे पनि भेटिन्छन्।

आजको यस शीर्षकको लेख हिन्दू राष्ट्र किन आवश्यक छ त भन्ने विषयमा छ।

नेपालमा धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र चाहिन्छ भन्दै यसलाई राजनैतिक मुद्दा बनाउने सानातिना दलहरु पनि छन्। तर उनिहरु यस विषयमा जनमत संग्रह गराउन सरकारलाई दवाव दिन चाहन्नन्। यसबाट यो त प्रष्ट छ कि उनीहरु यसलाई केवल राजनैतिक मुद्दा मात्र बनाएका छन्।
नेपाल धर्म निरपेक्ष भएपछि केही धर्म विशेषलाई धर्म परिवर्तन गराउन सजिलो पनि भएको छ। केही समय अघि मात्र उनीहरूले नेपाल धर्म निरपेक्ष भएपछि को समयलाई स्वर्ण दशक का रुपमा पनि मनाए। तर यति सानो जनसङ्ख्या मा धर्म परिवर्तन गराएर उनिहरुलाई केही फाइदा छ त? कि यो सबै देशमा धार्मिक युद्ध गराउने षड्यन्त्र मात्र हो?

हिन्दू राष्ट्रको आवश्यकता किन? 

वैदिक कालदेखि ज्ञान र तपस्या को भूमि तपोवन नेपाल हिमवत्खण्ड को एक स्वतन्त्र राष्ट्र हो। ब्रह्माण्डको ज्ञान बाट अटसमटस बनेको वेदका लाई अक्षरमा उतार्ने महर्षि व्यास हुन अथवा संस्कृत‌ व्याकरणका पिता महर्षि पाणिनि हुन, ज्ञानी राजा जनक हुन अथवा योग का पिता पतञ्जलि हुन, विश्वका तारा गौतम बुद्ध हुन अथवा स्वयं लक्ष्मी माताको अवतार माता जानकी हुन, यी सवैको जन्म यही हिमवत्खण्डमा भएको हो। सनातन संस्कृति को अनुसरण गर्ने हामी नेपाली पुरै विश्व नै एक परिवार हो भन्ने भावना राख्छौं। हाम्रा लागि हिन्दु, बौद्ध, किराँत, बोन जति प्यारो छ उत्तिकै सम्मान र आदर मुसलमान र ईशाइलाई पनि गर्छौं। हिन्दु धर्म हाम्रो आस्था मात्र नभएर यो हाम्रो पहिचान हो, इतिहास हो र हाम्रो बाँच्ने आधार पनि हो।

विगत एक दशकदेखि देश हिन्दू राष्ट्र बाट धर्म निरपेक्ष राष्ट्र बनेको छ जसले गर्दा विश्वको एकमात्र हिन्दु राष्ट्र को पहिचान हामीबाट खोसिएको छ। धर्मनिरपेक्षता कसको चाहना थियो र के का लागि थियो त्यो प्रष्ट छैन तर फुटाउ अनि शासन गर भन्ने सिद्धान्त बोक्ने कहि पश्चिममा साम्राज्यवादीहरुको चलखेल र अहिले देशमा मौलाएको हिन्दू विरोधी गतिविधि र बढ्दो ईशाइकरणबाट यो प्रष्ट छ कि धर्मनिरपेक्षता पश्चिममा चलखेल नै हो। देशलाई जातिय र धार्मिक द्वन्द्व तिर तानेका बिदेशी सिद्धान्तका अनुयायीहरुले युरोप को धार्मिक युद्धको औषधी बनेको सेक्युलारिजम् लाई रोगनै नलागेको यो देशमा ल्याएर जबरजस्ती खुवाएका छन्, जसको साइड इफेक्ट छिट्टै देशमा देखिनेवाला छ।

१. नेपाल पशुपतिनाथको देश हो। हिन्दूहरुका आराध्य देव पशुपतिनाथ, माता सिता, किँरातेश्वर महादेव, महर्षि बाल्मिकी, हिन्दू र बौद्ध का आदर्श बुद्ध आदि व्यक्तित्वहरु को देश भएकाले पनि देश हिन्दूहरुको पहिचान बोकेको देश हो।

२. अयं निजः परो वेति गणना लघुचेतसाम् |
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ||
(महोपनिषद्, अध्याय ४, श्लोक ७१)
अर्थात यो मेरो आफन्त हो; यो पराए हो, यस्तो गणना सानो चेतना भएकाले गर्छन्। उदार हृदय हुनेहरुको लागि त सम्पूर्ण धर्ती एक परिवार हो। वैदिक संस्कृति सहिष्णुतामा विश्वास राख्ने संस्कृति हो। हामी सबै धर्मलाई सम्मान गर्छौं तर हाम्रो संस्कृति विरुद्ध बोल्ने र हाम्रो धर्मलाई धावा बोल्नेहरुलाई ठिक लगाउन पनि जानेका छौं। देश हिन्दू राष्ट्र बन्नुपर्छ भन्नुको यो मतलब हैन कि हिन्दू बाहेक अन्य धर्म देशमा रहनै नपाउन। देश हिन्दू होस तर धार्मिक स्वतन्त्रता रहिरहोस्। हरेकलाई‌ आफ्नो धर्म र संस्कृति बराबर मान्ने अधिकार हुनुपर्छ। हाम्रोलागि कोही पराई छैन, किनकी हाम्रोलागि पुरै विश्व एक परिवार हो।

३. जतिपनि पूर्वीय दर्शन छन् ति कतै न कतै हिन्दू धर्म सँग सम्बन्धित छन्। तामाङहरु शिवजीलाई "पेङ्गदोर्जे" र पार्वतीलाई "रुइसाङ्ग" नामले सम्बोधन गर्छन्, राईहरु शिवजीलाई "पारुहाङ" र पार्वतीलाई "सुम्निमा" भनेर सम्बोधन गर्छन्। गौतम बुद्धलाई हिन्दुहरु नारायणको अवतार मानेर पुजा गर्छन्। हिन्दु र बौद्ध मा दर्शन फरक भएपनि दुवैलाई अलग गर्न भने सकिन्न। यो हिमवत्खण्ड शैव धर्मावलम्बीको खण्ड हो।

. बढ्दो ईशाइकरण र पश्चिममा हस्तक्षेप अर्को समस्या हो। ईशाइ बन्नु अथवा नबन्नु कुनै पनि व्यक्तिको स्वतन्त्रता र अधिकारको कुरा हो तर कुनै एक धर्म प्रचार गर्न अर्को धर्मको अस्तित्व नै नरहने गरि प्रहार गर्नु गलत हो। बढ्दै गएको ईशाइकरणले हिन्दू मात्र नभई किँरात, बौद्ध र बोन धर्मलाई समेत असर परेको छ। एक समुदायले अर्को समुदायलाई गाली गर्ने र घृणा को वातावरण सिर्जना भएको छ। जसले गर्दा विगतमा बहुसांस्कृतिक भएकै कारण पनि धार्मिक युद्ध नभएको यो देशमा एक किसिमको जातिय हिंसा फैलिने डर फैलिएको छ।

. विश्वमा सयौं ईशाइ राष्ट्र, मुस्लिम राष्ट्र रहेका छन् तर एउटा पनि हिन्दू राष्ट्र छैन। नेपाल एक पर्यटकीय क्षेत्र हो। यहाँ पर्यटकहरु देशको कला र संस्कृतिको अवलोकन गर्न आँउछन्। हिन्दू राष्ट्र भयो भने सयौं सांस्कृतिक पर्यटकहरु भित्र्याउन सहज हुन्छ जसले गर्दा देशलाइ फाइदा हुन्छ।

. भारतको सांस्कृतिक अतिक्रमण: भारतले थुप्रै कुराहरु जस्तै योग, संस्कृत व्याकरण र वेदहरुलाई भारतीय भनेर युएन मा दर्ता गराएको छ। महाभारतकालिन थुप्रै ठाँउहरु र घटनाहरु भारतमै भनेर ठोकुवा गर्ने गरेको छ। विश्वका तारा गौतम बुद्ध लाइ समेत भारतमा जन्मेको भनेर भन्ने गरेको छ। जसका कारण विदेशीहरुलाई हिन्दु धर्म भनेको केवल भारतीयहरुको धर्म भन्ने लागेको पाइन्छ। यसको समाधानका लागि पनि देश हिन्दू राष्ट्र हुनु आवश्यक छ।

हरेक धर्म र संस्कृतिको संरक्षण गर्दै सनातनदेखी चलिआएको धर्मको सम्मान र प्रवर्द्धन गरि, हिन्दू धर्म को आडमा रहेका तमाम विकृति र विसङ्गतिहरु जस्तै जातिय र लैङ्गिक विभेद लगायत अन्य अन्धविश्वासहरु छाडेर समयसापेक्ष सुधार गरि देशलाई हिन्दू राष्ट्र कायम गर्नु आजको आवश्यकता देखिन्छ।

Post a Comment

Previous Post Next Post