के हो विक्रम संवत्?
विक्रम संवत् पूर्वीय सभ्यता को एक महत्वपूर्ण अंग हो, भारतवर्षको भुगोल र खगोलशास्त्र को एक उत्कृष्ट उदाहरण हो। संसारमा जतिपनि संवत् छन् ती मध्ये को एक अत्यन्तै प्राचिन र वैज्ञानिक संवत् हो। संसारमा सर्वमान्य ईश्वी संवत् जुन येशु ख्रिष्टको जन्ममा आधारित सौर्य पात्रो हो त्यसले समयमापनको लागि पृथ्वी को सुर्य परिक्रमा लाई मात्र ध्यानमा राख्छ भने नेपाल, भारत, बङ्गलादेश र भुटान मा प्रयोग मा आउने विक्रम संवत् ले समयमापनका लागि सुर्य र चन्द्रमा बीचको अनुदैर्ध्य कोण (longitudinal angle) लाई प्रयोग गर्छ। यो ईश्वी संवत् भन्दा ५६.७ वर्ष अगाडि छ। यो तिथिमा आधारित संवत् हो। तिथि भनेको चन्द्रमा र सुर्यको अनुदैर्ध्य कोण १२° बढ्न लाग्ने समय हो। १५ तिथि को एक पक्ष हुन्छ। पक्ष दुइ हुन्छन्, कृष्ण र शुक्ल। २ पक्षको १ मास हुन्छ। करिव २९.५ तिथि को एक मास पुग्ने हुँदा, कहिलेकाहीँ अधिक मास पर्न जान्छ। २ मासको १ ऋतु र ३ ऋतु को १ आयान हुन्छ। २ आयान मिलेर एक वर्ष हुन्छ। सुर्य मेष राशिमा प्रवेश गरेपछि विक्रम संवत् को नयाँ वर्ष सुरु हुन्छ।
विक्रम संवत् कसले सुरु गर्यो?
विक्रम संवत् सम्बन्धित कयौं कथाहरु सुन्न पाइन्छन्, तर आजसम्म पनि विक्रम संवत् कसले सुरु गर्यो भन्ने कुरा रहस्य नै छ।
भारतीय कथन अनुसार उज्जैन का राजा विक्रमादित्य ले शक हरुलाई हराएर यो सम्वत सुरु गरेको भन्ने पाइन्छ। विक्रमादित्य को साम्राज्य पुरै भारतवर्ष देखी युरोपसम्म पुगेको थियो भन्ने कथा हरु पनि सुन्न सकिन्छ। तर ईतिहास हेर्ने हो भने २०७८ वर्ष अगाडि कुनै विक्रमादित्य राजाको अस्तित्व भएको देखिदैन। र भारतमा गुप्त वंशका सम्राट चन्द्रगुप्त द्वितीयलाई पनि विक्रमादित्य भनेको पाइएको छ। गुप्त वंशले चौथो शताब्दी देखि छैठौं शताब्दी सम्म शासन गरेका थिए। र यदि उज्जैन का राजा विक्रमादित्य लाई नै मान्ने हो भने उनको साम्राज्य मा अहिलेको नेपाल पनि पर्थ्यो र यसलाई विदेशी संवत् भन्न मिल्दैन।
नेपाली कथा अनुसार विक्रमादित्य साँखुका राजा थिए। साँखु स्थित बज्रयोगिनी मन्दिर सँग बिक्रम संवतलाई जोड्न सकिन्छ। तर नेपालको पुरातात्विक विभागले यसप्रति ध्यान नदिँदा र यसको राम्रो प्रचार नहुँदा विक्रम संवत् को भारतीय कथा मात्र सबैलाई थाहा छ। नेपाली कथा अनुसार कुनै समय साँखुमा धर्मदत्त नाम गरेका राजा थिए। उनी बज्रयोगिनी देवीका उपासक थिए। उनले पारसमणि प्राप्त गर्नका लागि देवीको उपासना गरेका थिए। उनले एउटा कराईमा आफ्नो अंग को सानो भाग काटेर देवीलाई भोग दिन्थे। र राजाको उपासना को बाह्र वर्ष पुग्न एकदिन मात्र बाँकी छँदा देवी ले पारसमणि बनाउने शुत्र दिने तर भोली विहानै आएर देवीको पुजा गर्न आदेश दिइन्। यो कुरा राजाको सारथी विक्रमादित्य (विक्रम सेन) ले सुन्यो। र भोलीपल्ट सबेरै राजाभन्दा पहिला आएर उसले आफ्नो अङ्ग काटी देवीको पुजा गर्न थाल्यो। देवीले विक्रमादित्य लाई पारशमणीको शुत्र दिइन र त्यो कराई मा अबदेखि यस्तो नैवेत कहिल्यै पाक्ने छैन भनि कराई घोप्ट्याइदिइन्। धर्मदत्त जब पुजा गर्न पुगे उनले त्यो घोप्टो कराई देखेपछि आफ्नो गोप्य कुरा पनि लुकाउन नसेकेको भन्दै त्यहीँ बज्रयोगिनी को ध्यान गरेर बसे। विक्रमादित्य साँखुको राजा बन्यो। र यहि विक्रमादित्य ले आफ्नो शासनकालमा विक्रम संवत् सुरु गरेको भन्ने कथा सुन्न पाइन्छ।
आजपनि बज्रयोगिनी मन्दिरमा उल्टो कराई र विक्रमादित्य को शिर भागको मुर्ति देख्न सकिन्छ। यस मन्दिरमा ५२ वटा शिलालेख रहेका छन्, जसमा ८ वटा संस्कृत भाषामा, १४ वटा नेवारी र संस्कृत भाषामा, ११ वटा नेवारी भाषामा, ८ नेपाली भाषामा र ५ वटा नेपाली र संस्कृत भाषामा रहेका छन्। यही मन्दिरमा लिच्छवि राजा अंशुवर्माकी छोरी भृकुटीको विवाह भएको भन्ने जनविश्वास पनि छ।
तर यो कथा पनि त्यति विश्वास गर्न सकिने खालको छैन। २०७७ वर्ष अगाडि खगोलशास्त्र मा त्यति विकाश भएको थियो भनेर मान्ने अन्य कुनै आधारहरु छैनन्। र त्यहाँ रहेको शिर को मुर्तिलाई बौद्ध हरु अवलोकेश्वर को प्रतीक मान्छन्। त्यो लिच्छवि कालिन राजा वृषदेव अथवा उनका छोरा मानदेवको टाउको हुन सक्छ। पुरातात्वीक विभागले यस विषयमा अध्ययन र अनुसन्धान गर्नु पर्ने देखिन्छ।
विक्रम भनेको सुर्य हो, र सौर्य पात्रो भएकाले यसलाई विक्रम संवत् भनेको पनि हुन सक्छ। तर जे भएपनि विक्रम संवत् को रहस्य रहस्यनै रहेको छ।
Post a Comment