लिच्छवि को हुन्?



लिच्छवि शब्द मगधी प्राकृत भाषाबाट आएको हो जसको अर्थ भालु हुन्छ। संस्कृतमा र पाली भाषामा ऋक्षवी भनिन्छ। ऋक्ष अर्थात् भालु ले शक्ति को प्रतिनिधित्व गरेको छ।लिच्छविहरूको बिहारको उत्तर भागमा हालको मुजफ्फरपुर जिल्लाको बसाड गाउँ (प्राचीन नाम वैशाली) मा शासन केन्द्र रहेको थियो। लिच्छवीहरूको शासन व्यवस्था र उनीहरूको नेपाल आगमनको इतिहास केलाउनुपर्दा इतिहासमा हामीलाई करिब २५६८ वर्ष अगाडि पुग्नुपर्छ।
तत्कालीन उत्तर भारतका १६ जनपदहरूमध्ये मगध (हालको पटना, गया, नालन्दा र सहवान जिल्लाहरू) एक जनपद थियो। यो पुर्ण राजतन्त्रात्मक शासन सहितको शक्तिशाली राज्य थियो।  हर्यङ्कवंशी सम्राट बिम्बिसार मगधका पहिलो राजा हुन्। उनले ई.पू. ४५५ देखी ई.पू. ४९२ सम्म शासन गरेका थिए। उनी तथागत बुद्धका समकालीन हुन्। उनले छिमेकी राज्य बज्जि (राजधानी वैशाली) कि लिच्छवी राजकुमारीसँग बिहे गरेका थिए। बिम्बिसारलाई आफ्नै छोरा अजातशत्रुले कैद गरे र शासन हत्याए। उनकै शासनकालमा भएको मगध-बज्जि युद्ध (ई.पू .४८४ - ई.पू .४६८) ले नेपाल उपत्यकामा लिच्छवी शासनको जग बसालेको मानिन्छ। अजातशत्रु राजा भएपछि छिमेकी राज्यहरू कोशल, काशी र बज्जि राज्यमा आक्रमण गरे।
तत्कालिन समयमा जतिबेला संसारमा राजतन्त्रात्मक व्यवस्था हाबी थियो, त्यतिखेर बज्जि लगायत केही राज्यहरु गणराज्य शासन व्यवस्थाको अभ्यास गरिरहेका थिए। बज्जि गणराज्य कुनै एकल राजाद्वारा शासन गरेको राज्य थिएन। यो एक सङ्घ वा भनौं गणतन्त्र थियो, जसलाई बज्जि वा बृज्जी संघ भनिन्छ। यस महासंघमा आठ कुलहरू थिए, जसमध्ये लिच्छविहरू सबैभन्दा प्रमुख थिए। बज्जि महासङ्घ राजाद्वारा नभई यी कुलहरूका प्रतिनिधिहरूको सभाद्वारा शासित थियो। यो निकै शक्तिशाली राज्य थियो, त्यसैले मगध-बज्जि युद्ध १६ बर्ष सम्म चलेको थियो।
युद्ध गरेर मात्र नजित्ने भएपछि अजातशत्रुले राज्यको भेद थाहा पाउन र फुट गराउन गुप्तचर बनाई मन्त्री वस्साकार (वर्षाकार) लाई पठाए। यसरी सङ्घमा फाटो ल्याएर लिच्छविहरूलाई पराजित गरी बज्जि राज्य मगध साम्राज्यको अधिनमा पारे। त्यसपछि त्यहाँका लिच्छविहरू उत्तरतर्फ नेपाल उपत्यकामा (हालको काठमाडौँ) आए। सबै लिच्छविहरू एकैपटक आएका भने होइनन्। फरक फरक समुहमा आएर काठमाडौं उपत्यकामा बस्न थाले। केही वर्षपछि हाँडीगाउँ शासन केन्द्र बनाई शासन गर्न थाले। सुपुष्प लिच्छवि कालिन प्रथम राजा मानिन्छन्।

लिच्छवि राजाहरू
ठोस प्रमाणको अभावमा राजाहरू र शासन अवधिको बारेमा ईतिहासकारहरूका भिन्न रायहरु छन्। राजा मानदेव लिच्छविकालिन पहिलो प्रमाणित राजा हुन्। उनको चाँगुनारायण अभिलेख (इ ४६४) नेपालको पहिलो अभिलेख पनि हो। यस अभिलेखले उनको शासनकाललाई प्रमाणित गरेको छ। विभिन्न अभिलेख र वंशावली बाट लिच्छवि राजाहरूको बारेमा जानकारी पाउन सकिन्छ। सुपुष्प पछि २० जना राजा भए। त्यसपछि जयदेव प्रथम राजा बने।‌
जयदेव द्वितीय को पशुपति अभिलेख मा राजा जयदेव प्रथम लाई पहिलो लिच्छवि राजा लेखिएको छ। त्यसपछि ११ जना राजा छाडेर क्रमशः राजा वृषदेव, शंकरदेव, धर्मदेव, मानदेव लगायत राजाहरुको नाम लेखिएको छ।
वि. सं २०४९ वैशाख मा मालिगाँउमा एउटा लिच्छविकालिन मुर्ति भेटिएको थियो, जसमा महाराजा जयवर्मा संवत्‌ १०७ लेखिएको छ।‌ साथै गोपालराज वंशावलीमा‌ जयवर्मा देखि सुपुष्प वर्मा सम्म एघार वर्मान्त राजाहरू पछि वृषदेव देवान्त नाम भएका राजाको उल्लेख गरिएको छ। यसरी हर्दा ईतिहासमा दुई जना सुपुष्प नाम गरेका राजा भएको अनुमान लगाउन सकिन्छ।
राजा मानदेव पछि केही समय उनका छोरा महीदेव राजा भए। उनको शासनकाल छोटो रह्यो। त्यसपछि वसन्तदेव राजा भए। वसन्तदेव पछि राजा शिवदेव प्रथम (इ ५२६) भए।‌ शिवदेव पछि राजा अंशुवर्मा भए। उनले फरक संवत् प्रयोग गरेको देखिन्छ। अंशुवर्माको शासनको पहिलो मिति संवत् २९ हो र अन्तिम मिति संवत् ४५ हो। बुगमति अभिलेखमा संवत् ४५ लेखिएको छ। यो कुन संवत् हो भनी एकिनका साथ भन्न सकिने अवस्था छैन तर केही विदेशी इतिहासकारले भने यसलाई "हर्ष संवत्" मानेका छन्।
अंशुवर्माको शासनकाल पछि नेपालमा गुप्त र लिच्छविको द्वैत शासन देखा पर्छ।  अंशुवर्मा पछि केही समय उदयदेवको शासन देखा पर्छ। तर पछि उदयदेवका भाई ध्रुवदेवले शासन हत्याउँछन्। उनले आफ्ना भतिज अर्थात उदयदेवका छोरा नरेन्द्रदेवलाई तिब्बत लखेट्छन्। त्यसपछि जिष्णुगुप्त र ध्रुवदेको संयुक्त शासन चल्छ। संयुक्त शासनमा गुप्तहरु शक्तिशाली र लिच्छवि नामका मात्र राजा देखा परेका छन्। लिच्छविहरुले मानगृह बाट शासन चलाउँथे भने गुप्तहरूले कैलाशकुट भवनबाट शासन चलाउँथे। जिष्णु गुप्त र ध्रुवदेको संयुक्त शासन पछि जिष्णु र भीमार्जुनदेवको संयुक्त शासन सुरु हुन्छ जुन संवत्‌ ५९ सम्म चल्छ।
संवत् ५९ देखी संवत् ६४ सम्म जिष्णु गुप्तको एकलौटी शासन चल्छ।‌ यो एकलौटी शासन विरुद्ध भीमार्जुनदेव र जिष्णुको छोरा विष्णु लाग्छन्, जुन कुरा जिष्णु गुप्त लाई मन पर्दैन। त्यसैले जिष्णु गुप्तले विष्णु गुप्तका छोरा श्रीधर गुप्तलाई युवराज बनाउँछन्।
संवत् ६४ पछि विष्णु र भिमार्जुनको संयुक्त शासन सुरु हुन्छ। सम्वत् ६९ बाट पुन: नरेन्द्रदेव (उदयदेवका छोराको) अभिलेख भेटिएकाले यिनीहरूको संयुक्त शासन मात्र ६ वर्ष चलेको अनुमान लगाउन सकिन्छ। यसपछि तिब्बतबाट फर्केर नरेन्द्रदेवले आफ्नो शासन सुरु गर्छन।
यसरी इसाको पहिलो शताब्दी देखी आठौं शताब्दीसम्म नेपालमा शासन गरेका‌ लिच्छवि राजाहरूको शासनकाललाई नेपालको ईतिहासको स्वर्ण काल मानिएको छ। यस समयमा वैष्णव, शैव, बौद्ध धर्मबीचको धार्मिक सहिष्णुता, समन्वयात्मक संस्कृति लगायतका थुप्रै सकरात्मक पक्ष देख्न सकिन्छ। साथै सत्ता प्राप्तीको संघर्ष र द्वैत शासन जस्ता कुराहरु पनि यस कालमा देख्न सकिन्छ। प्रयाप्त प्रमाणहरु र अध्ययन अभावका कारण लिच्छविकालिन इतिहास अझै भूगर्भमा लुकेको छ।

Post a Comment

Previous Post Next Post