खम्पा विद्रोह र निशस्त्रीकरण अभियान


२००६ असोज १५ गते जनवादी गणतन्त्र चीनको लागि नयाँ बिहान थियो। माओत्सेतुङले तियान आनमेन स्क्वायर (Tian'anmen Square) बाट जनवादी गणतन्त्र चीनको घोषणा गरे। त्यसपछि उनले चीनको भौगोलिक सिमाना विस्तार गर्ने अभियान सुरु गरे। 

त्यस समयमा तिब्बत स्वतन्त्र राज्य थियाे। तर ईतिहासको विभिन्न कालखण्डमा तिब्बत चिनियाँ शासन अन्तर्गत रहेकाले २००८ जेठ ९ गते (सन् २३ मे, १९५१) मा जनवादी गणतन्त्र चीन र तिब्बत सरकार बीच १७ बुँदे सम्झौतामा हस्ताक्षर भयो। जसले शान्तिपूर्ण तवरबाट तिब्बत चीनमा गाभियो। सम्झौता अनुसार चीनले तिब्बतको विद्यमान राजनीतिक प्रणालीलाई नबदल्ने र दलाई लामाको स्थानलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्यो। साथै तिब्बतमा धार्मिक स्वतन्त्रता, सैन्य एकिकरण लगायत अन्य कुराहरूमा दुबै पक्ष सहमत भए।

तर वि.सं २०१५ (सन् १९५८) सम्म आइपुग्दा तिब्बती हरूले चीनसँगको सम्झौता व्यवहारमा लागु भएको पाएनन्। साथै तिब्बतीहरूले यो सम्झौता डर र दवाब बीच गरिएको ठान्दथे। तिब्बत क्षेत्रमा चिनियाँ सैनिकको दमन बढ्दै गएपछि २०१५ असार २ गते तिब्बतीहरु मिलेर एक छापामार (गुरिल्ला) समुहको स्थापना गरे जसलाई चुशी गाङ्द्रुक (Chusi Gandruk) भनिन्थ्यो। यो समुहको काम तिब्बतमा रहेका चिनियाँ सैनिक विरुद्ध गुरिल्ला युद्ध गर्नु थियो।

२०१५ फागुन २७ (सन् १९५९ मार्च १०) का दिन तिब्बतको राजधानी ल्हासाबाट विद्रोह सुरु भयो, जसलाई "१९५९ तिब्बत विद्रोह" (1959 Tibet Uprising) पनि भनिन्छ। तर चिनियाँ सरकार यो विद्रोह दबाउन सफल भयो। फलस्वरूप तिब्बत शासन परिषद् 'कशाग' विघटन भई चौधौं दलाई लामा भारतमा निर्वासित भए। अब तिब्बत पूर्ण रूपमा चिनको शासन अन्तर्गत आयो।

सन् १९७१ मा चिनले तिब्बतमा सुरक्षा अभियान सुरु गर्यो। यसपछि सयौं तिब्बतीहरू शरण लिन नेपाल लगायत अन्य दक्षिण एसियाली मुलुकमा पुगे। ती मध्ये एक जातिय समुह थियो खम्पा।‌ खम्पाहरू चुशी गाङ्द्रुक समुहका संस्थापक पनि हुन्।


को हुन खम्पा/ खाम्पा?

खम्पा खाम क्षेत्रका जातिय समुह हुन्। खाम क्षेत्र पूर्वी तिब्बतमा‌ पर्छ।‌ सिचुआन प्रान्तको पश्चिमको अधिकांश भाग र उत्तरी युनान को केही भाग पनि खाम क्षेत्र हो। 

खम्पाहरू उग्र-योद्धा हरु हुन्।‌ तिब्बती लडाईंहरूमा मुख्य भूमिका खेल्ने उनिहरु घोडचढी र धनुर्विद्यामा‌ माहिर थिए। तिब्बत विद्रोहको बेलामा चिनियाँ सैनिकलाई प्रतिकार गर्न र छापामार शैलीमा‌ युद्ध गर्न सङ्गठित भएका थिए। सन् १९७१ मा केही खम्पाहरू नेपालको उत्तरी क्षेत्रमा हिमालय सीमाना छेउछाउका क्षेत्रमा बसोबास गर्न थाले। उनीहरूले नेपाली भूमिमाबाट चीन विरोधी गतिविधि सञ्चालन गर्ने थालेका थिए।

दलाई लामाले तिब्बतलाई चिनबाट जोगाउन आफ्ना सिपाहीहरूलाई तालिम र हतियारहरूले सुसज्जित गरेर आफ्नो सेनालाई बलियो बनाइरहेका थिए। तिब्बती भाषामा उनीहरूलाई खम्पा भनिन्थ्यो तर खाम क्षेत्रका मानिसहरूलाई खम्पा भनेर पनि सम्बोधन गरिन्छ। ती खम्पाहरू स्वभावैले निडर र सक्षम योद्धा थिए।


वि.सं २०३१ को खाम्पा विद्रोह 

वि.सं २०३१ तिर तिब्बती मूलका लडाकू खम्पाहरूले ताइवान, अमेरिका र भारतको सहयोगमा उपल्लो मुस्ताङको उच्च पहाडी दुर्ग केशांङ्गमा विद्रोही समूह खडा गरेका थिए । उनीहरूको उद्देश्य चीन अधीनस्थ तिब्बतको केही र नेपालको उच्च हिमाली भागलाई मिलाएर छुट्टै राज्य खडा गर्ने थियो । त्यसका प्रमुख कमाण्डर गे वाङ्दी (Gey Wangdi) थिए, जसलाई ढेवा भनिन्थ्यो । उनका राजनीतिक सल्लाहकार हिस्सी थिए । उनीहरूसँग ६० जना जति युवा लडाकू, दुई दर्जन जति भयानक सिकारी कुकुर र अन्य केही सहयोगी थिए ।(शाहवंशको शल्यक्रिया पृ.१८०)


खाम्पा आतंक

अमेरिकी सहयोग, तालिम, लत्ताकपडा, हातहतियार र खाद्यान्न पाएपछि आलाकाँचा उमेरका खाम्पा लडाकुहरुले स्थानीय क्षेत्रमा आतंक मच्चाएका थिए। उनिहरू स्थानिय महिलाको बलत्कार गर्ने, हत्या गर्ने, चौंरीगाई र भेडा लुट्ने र मारेर खाने, आगजनी गर्ने जस्ता काममा संलग्न भए।‌ यसपछि चीन सरकारले नेपालसँग पत्राचार गरी खम्पा आतंक नियन्त्रण गर्न अनुमति माग्यो। यो कुरा राजा वीरेन्द्रसम्म आइपुगेपछि उनले एकपटक नेपाल आफैंले प्रयास गर्ने खबर पठाए फलस्वरूप खम्पा विरुद्ध कारबाही गर्न उनीहरूको आधार इलाका नजिकै हेलिकप्टर मार्फत ६० जना जति हतियारधारी सैनिक उतारियो।


खम्पा विद्रोह र अमेरिकी सहयोग 

जानकारहरूका भनाइमा त्यसबेला संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनिसेफ नेपालमा काम गर्ने स्विस मूलका पाइलट हारडी फ्‌युहररले खम्पाहरूलाई हतियार पुऱ्याउने काम गर्दथे। उनी एकल मेसिन भएको पिलाटस पोर्टर (Pilatus Porter) नामको जहाजका पाइलट थिए । त्यसले यातायातका साधन नपुगेका नेपालका दुर्गम भेगमा युनिसेफका पाठ्यसामग्री, खाद्यान्न आदि पुयाउँथ्यो । तिनै सामग्रीसँगै फ्युररले अमेरिकाले उपलब्ध गराएका हतियार र खाद्यान्न खम्पाहरूसम्म पुऱ्याइदिन्थे । त्यसका लागि काठमाडौको स्युचाटारमा रन-वे नै बनाइएको थियो । युनिसेफको सामग्री भएकोले सरकारले पनि जाँच गर्दैनथ्यो ।

तर ७० को दशक आउँदा अमेरिकाले आफ्नो वैदेशिक नीतिमा परिवर्तन गर्दै चिन सँग सम्बन्ध सुधार गर्न थाल्यो।‌ यसपछि भने खम्पाहरूले प्राप्त गर्ने अमेरिकी सहयोग बन्द भयो।


खम्पा निशस्त्रीकरण अभियान

राजा विरेन्द्रको आदेशपछि खम्पा विद्रोह दबाउन आधार सिविर नजिकै झरेका नेपाली सेनाका सैनिकहरूलाई भौगोलिक जटिलताले सतायो। कोही लेक लागेर मरे भने केही खम्पा र तिनका सिकारी कुकुरको सिकार बने। बिना अनुसन्धान हचुवाको भरमा गएका सैनिक कोही फिर्ता आएनन्। उनीहरूका हतियार र खाद्यान्न सामग्रीहरु खम्पाले हत्याए।

त्यसपछि सेनाले फरक रणनीति अपनाएर खम्पाको विस्तृत अध्ययन गर्यो। अध्यनन पछि खम्पाहरुको बारेमा जानकारी थाहा भयो। करिब नौ हजारको सङ्ख्यामा खम्पाहरूले तिब्बतबाट हिमाल पार गरि नेपालका विभिन्न ठाउँहरूमा बसोबास गरेका थिए। उनीहरुसँग प्रयाप्त हातहतियार रहेको थियो। मुस्ताङ जिल्ला कब्जा गरी तिब्बतलाई पुन: कब्जा गर्ने उद्देश्यले उनीहरूले‌ नेपालमा शिविर स्थापना गरेका थिए। नेपाली सेनाले उनीहरूविरुद्ध कारबाही गरिरहेको थाहा पाएपछि उनीहरूलाई दलाई लामा (लामाले रेकर्डेड टेपमार्फत यो सन्देश पठाएका) द्वारा जवाफी कारबाही गर्ने आदेश दिए। तर कतिपय खम्पाले नेपाली सेनासँग लड्नुभन्दा आत्मसमर्पण गर्नु राम्रो ठाने।

२०३१ असार ३१ (१९७४ जुलाई १५) मा नेपाली सेना पोखराबाट जोमसोम पुग्यो।‌‌ त्यहाँबाट गे वाङ्दीलाई हतियार बुझाइ आत्मसमर्पण गर्न भन्यो।‌ आत्मसमर्पण गर्न ५ दिनको समय दिइयो, तर खम्पाहरुकै आग्रहमा‌ सो मितिमा ६ दिन थप गरियो।

२०३१ साउन १७ गते खम्पाहरुको शिविरमा‌ नेपाली सेनाले छापा मारी गाडिएको अवस्थामा सयौं हातहतियार बरामद गर्यो। नेपाली सेनाले खम्पा शिविरबाट सयौं अमेरिकन बन्दुक, पेस्तोल लगायत अन्य बम, बारुद र गोलीहरू पनि बरामद गर्यो। तर गे वाङ्दी भने शिविर छाडेर भागिसकेको‌‌ थियो।

सुदूरपश्चिम दार्चुलाको टिङ्‌ङ्करलेक हुँदै भारत पसेर सुरक्षित हुने उसको दाउ थियो । उसको स्वागतका लागि त्यहाँ केही भारतीय गुप्तचर अधिकारीहरू पनि तैनाथ थिए । वर्षायामको समयमा महिनौँको यात्रापछि टिङ्करलेक हुँदै भारत पस्न लागेका वाङ्दी र उसका सहयोगीहरूमाथि २०३१ भदौ ३० गते लिपुखोलाको पुल तर्न लाग्दा लुकेर बसेका नेपाली सेनाका जवानहरूले एक्कासि गोलीको वर्षा गरे। उनीहरू सबै सोत्तर पारिए।

त्यसको केही दिनपछि सेनाको सफलता सार्वजनिक गर्न काठमाडौँमा एक प्रदर्शन गरिएको थियो। त्यसमा गे वाङ्दीले लगाएका लुगा, उनीहरुबाट जफत गरिएका अमेरिकामा निर्मित हतियार र अन्य युद्ध सामग्री राखिएको थियो।

यो अभियान सफल भएपछि राजा विरेन्द्र केसाङ गएका थिए। त्यहाँ बसेको मन्त्रिपरिषद्को बैठकले केसाङमा नेपाली सेनालाई हाई अल्टिट्युड तालिम दिने विद्यालय खोल्ने निर्णय गरेको थियो।


वि.सं २०२४ पोखरा युएफओ दुर्घटना 

सन् १९६८ मार्च २५ (२०२४ चैत १२) गते बाटुलेचौर पोखरामा एउटा अजिव दुर्घटना भयो। स्थानीय बासिन्दाका अनुसार राती करिब सवा आठ बजे तिर एक प्रज्वलित वस्तु विघटित भई खेतमा बजारिएको थियो। जसले गर्दा खेतमा ठुलै खाडल बन्न पुग्यो।‌ त्यस खाडलबाट एउटा ६ फुट जतिको धातुको डिस्क‌ (disc) भेटिएको थियो। अमेरिकी रिपोर्ट अनुसार यसलाई अज्ञात उडान वस्तु अर्थात् युएफओ (UFO) भनिएको छ। अपरिचित वायुयान लाई युएफओ भनिन्छ। साधारणतया युएफओमा एलियल सवार‌ हुन्छन् भन्ने मान्यता रहेको छ।

दुर्घटना पछि नेपाली सेनाले दुर्घटना स्थल घेराउ गरी उक्त विमानका अवशेषहरु सङ्कलन गर्यो। त्यसरी सङ्कलन गरिएका विमानका टुक्राहरु सबै  काठमाडौँ  स्थित अमेरिकी दूतावासमा बुझाइएको भन्ने जानकारहरुले भन्छन्।

करिब एक डेढ महिना जति अमेरिकी टोली त्यही स्थानमा बसी उक्त युएफओका भागहरू सङ्कलन गरेर लगे। अमेरिकी लेखक देखी सिआईएको रिपोर्ट सबैमा युएफओ भनेर लेखियो। तर बाँकी देशहरु जस्तै चिन वा सोभियत संघबाट भने यस विषयमा एलियन र युएफओ सम्बन्धित कुनै कुरा प्रकाशित भएन।

तसर्थ केही ईतिहासविदहरु अनुसार उक्त युएफओ अमेरिकी जासूस विमान हुन सक्ने अथवा नेपालको हिमाली क्षेत्रमा लुकेर बसेका खम्पाहरूलाई हतियार र खाद्यान्न आपूर्ति गर्ने विमान हुनसक्ने अड्कल लगाउँछन्। विमान प्रति अमेरिकी चासो बढि हुनु र प्राप्त सामानहरु सबै अमेरिकाले लैजानु र बाँकी देशबाट यस विषयमा अनुसन्धान नहुनुले पनि यस अड्कललाई थप बल दिन्छ।

Post a Comment

Previous Post Next Post