नेपालमा मुस्लिम आक्रमणको ईतिहास।


वि.सं ६६७ बाट सुरु भएको ईस्लाम धर्म‌ भारतीय उपमहाद्वीपमा छिर्न धेरै समय लागेन। उमय्याद अभियान अन्तरगत १०२ वर्षपछि वि.सं ७६९ मा अरबी जनरल मुहम्मद बिन कसिमले सिन्ध राज्यमा आक्रमण गरि यहाँका राजाको हत्या गरे। सातौं देखी अठारौं शताब्दी सम्ममा यस क्षेत्रमा केही ईस्लामिक साम्राज्यहरु खडा भए। भारतीय उपमहाद्वीपको पहिलो ईस्लामिक साम्राज्य घुरिद साम्राज्य हो।‌ मध्यकालमा भारतमा मुस्लिम आक्रमणको जगजगी थियो। घुरिद, दिल्ली, लोदी, मुगल आदि शासकहरूको आक्रमण पछि नयाँ साम्राज्यहरु खडा भएतापनि यी मुस्लिम आक्रमकहरुको शासनमा नेपाल कहिल्यै परेन। तर चौधौं शताब्दी तिर भने नेपालले पनि केही भयंकर मुस्लिम आक्रमणहरु सहनुपरेको थियो। लुटपाट एवम् राज्य विस्तारका कारण भएका यी आक्रमणको चर्चा आजको लेखमा गरेको छु।


गयासुद्दिन तुगलकको‌ सिम्रौनगढमा आक्रमण

वि.सं १३८३ मा सिमरौनगढको पतन भयो। यसको प्रमुख कारण दिल्लीका सुल्तान गयासुद्दिन तुगलक र तिरहुतका राजा हरसिंहदेवबीचको युद्ध थियो। गयासुद्दिन तुगलकले किन सिम्रौनगढमा आक्रमण गरे भन्ने विषयमा दुईथरी ईतिहास छ:

जनश्रुति अनुसार एक दिन गयासुद्दिन तुगलकले बंगालबाट लुटेको सम्पत्ति दिल्ली लग्दै थिए। बाटोमा सिम्रौनगढका सैनिकले उनले लुटेर ल्याएको सम्पत्ति एकएक गर्दै लुटेर लगे। यो सबैबाट क्रोधित राजाले सिम्रौनगढमा आक्रमण गरि ध्वस्त पार्ने अठोट गरे। तर घनघोर जङ्गल र भुलभुलैया बीच रहेको सिम्रौनगढ दरबार सम्म पुग्न त्यति सजिलो भने थिएन। जति नै प्रयास गरेपनि तुगलकले सिम्रौनगढ दरबार पुग्ने बाटो फेला पार्न सकेनन्। 

त्यसपछि उनको भेट कामेश्वर ठाकुर सँग भयो। उनी राजा हरिसिंह देवले दरबारबाट बेइज्जत गरेर निकालेका मन्त्री थिए। ठाकुरले राजासँग बदला लिन दिल्ली सुल्तानको सहयोग गर्न तयार भए। उनैले सुल्तान लाई दरबार पुग्ने बाटो देखाइदिए।

अर्को मत अनुसार गयासुद्दिन तुगलक बंगाल जितेर तिरहुतको बाटो हुँदै दिल्ली फर्कंदै गर्दा, तुगलकले तिरहुत राज्यमाथि आक्रमण गर्न आएको भन्ने भ्रम हरसिंहदेवलाई पर्यो। यही भ्रमका कारण हरसिंहदेवले तुगलकका सेनामाथि हमला गरे।

यो हमलाले दिल्ली र तिरहुतबीच घमासान युद्धको रूप लियो। तुगलकको शक्तिशाली सेनाको सामना गर्न हरसिंहदेव असफल रहे, जसले गर्दा उनी आफ्नो परिवार र सेनाका केही सदस्यसहित जंगलमा भाग्न बाध्य भए।

तुगलकका सेना हरसिंहदेवलाई पछ्याउँदै सिम्रौनगढको बलियो किल्लासम्म पुगे र तीन साता लगाएर किल्लाको पर्खाल भत्काए। पर्खाल फोडेपछि, उनीहरूले राजधानीसम्म पुग्ने बाटोमा रहेका नहरहरू पुरेर सिमरौनगढको मुख्य संरचनामा प्रवेश गरे।

यस क्रममा सिम्रौनगढको राजधानी पूर्ण रूपमा तहसनहस भयो। तर, युद्ध सुरू हुनुअघि नै हरसिंहदेव, उनको परिवार र केही सैनिक गोप्य मार्गबाट नेपाल उपत्यकातर्फ पलायन गरेका थिए।


समसुद्दिन ईलियाजको नेपाल उपत्यकामा आक्रमण

१४०६ मंसिर २२ (सन् १३४९ डिसेम्बर ७) का दिन नेपाल उपत्यकामा ठूलो आक्रमण भयो।‌ बंगालका राजा समसुद्दिन ईलियाजले लुटपाट गर्ने मनसाय सहित गरेको यो आक्रमणमा सयौं मन्दिरहरू तहसनहस भए। करोडौंको सुन लुटियो र हजारौं देवी-देवताका मुर्तीहरु तोडिए।

समसुद्दिन ईलियाज वि. सं १३८१ मा सिम्रौनगढमा आक्रमण गर्ने गयासुद्दिन तुगलकका सेनापति का छोरा थिए। चौधौं शताब्दीको सुरुतिर बंगाल दिल्ली सल्तनत अन्तर्गत नै पर्दथ्यो। सोही बेला दिल्ली सल्तनतले बंगालको तीन भाग लगाएको थियो - सतगाँव, सोनारगाँव र लखनौती। इलियास सतगाँवमा गभर्नर नियुक्त भएका थिए। तर चौधौं शताब्दीको मध्य तिर यी तीनै राज्यका गभर्नरहरुले स्वतन्त्र भएको घोषणा गरे र एक अर्का विरुद्ध लड्न थाले।‌ यसमा इलियाज विजयी भए।‌ त्यसपछि उनले बंगालको एकीकरण गरी यसको सिमाना विस्तार गर्न लागे। यसक्रममा उनले उत्तमतर्फ आक्रमण गरे। काठमाडौं उपत्यकामा आक्रमण गर्ने उनी पहिलो मुस्लिम राजा थिए।

भारतको पटना बाट जनकपुर हुँदै सिन्धुली र त्यपछि बनेपा हुँदै भक्तपुर छिरेर बंगाली मुसलमान सेनाले भक्तपुरमा आक्रमण गरे। स्वयम्भू चैत्यमा फेला परेको एक शिलालेख अनुसार भोलिपल्ट उनिहरूले पशुपतिनाथ मन्दिरमा आक्रमण गरि लुटपाट गरे। उनिहरूले करिब सात दिन सम्म उपत्यकामा लुटपाट मच्चाए। यसक्रममा पशुपतिनाथको मन्दिर पुर्ण रुपमा ध्वस्त भयो। पशुपतिनाथको शिवलिङ्ग तीन टुक्रा पारे। पशुपतिनाथ लगायत अन्य मन्दिर परिसरका मुर्तिहरु पनि फुटाले। स्वयम्भू लगायत अरु गुम्बा र चैत्यहरुमा लुटपाट गरी तोडफोड गरे। भेटिए जति मूर्तिलाई पूर्णतया फुटाउन नसके पनि विभिन्न मन्दिरमा कुँदिएका देवीदेवताको नाक भाँचिदिए। तर इस्लाम धर्ममा‌ बराह लाई छुनु हराम  भएर भगवान बिष्णुको तेस्रो अवतार बराहका मुर्तीमा भने तोडफोड गरेनन्।

वि.सं १८३५ मा सिंजाका राजा आदित्य मल्लले काठमाडौं उपत्यकामा आक्रमण गरेका थिए। यस युद्धमा‌ उपत्यकाका राजा जयरुद्र मल्लको मृत्यु भएको थियो। यसपछि उपत्यकामा राजनीति अस्थिरता भएको थियो। जयरुद्र मल्लकी छोरी नायक देवी र उनका ठुलो बुवा जयानन्द शाह का छोरा जयराज देव मल्ल बीच सिंहासनका लागि भएको कलहले मल्ल राज्य कमजोर भएको थियो। यसको फाइदा बंगाली सुल्तानले उठाएका थिए।

यो आक्रमणमा कति हताहत भयो करै खुलाइएको छैन। तत्कालीन राजा जयराज देवलाई पनि आक्रमणकारीहरूले दरवार सँगै जलाएको ऐतिहासिक अभिलेखले देखाँउछ। साथै यो आक्रमण कति दिन चल्यो र कसरी अन्त्य भयो भनेर एकिनका साथ भन्न सकिदैंन। तर इतिहासकार बाबुराम आचार्यका अनुसार काठमाडौंको चिसो हावापानी सहन गाह्रो भएर बंगाली आक्रमणकारीहरु फर्केर गएका हुन सक्छन। 

यस आक्रमणपछि जयराज देवका छोरा जयार्जुन मल्ल राजा भए। यस आक्रमणको प्रभाव एक शताब्दी सम्म रह्यो। त्यसपछि राजा जयस्थिति मल्लको पाला सम्ममा सम्पूर्ण पुनर्निर्माणको काम सकिएको थियो ।


मीर काशिमको नेपाल चढा

गोर्खा राज्यको विस्तार (नेपाल एकीकरण) अभियानका क्रममा १८१९ भदौ ९ गते मकवानपुर राज्य गोर्खाली सेनासँग पराजित भएपछि विशाल मकवानपुर राज्य पनि गोर्खा राज्यमा विलय भयो। त्यसपछि मकवानपुरे राजा दिग्वन्धन सेन भागेर बंगाली राजाको शरणमा पुगे। दिग्वन्धन सेन राजा पृथ्वीनारायण शाहका जेठान थिए।‌ दिग्वन्धन सेनको अनुरोधमा बंगाली राजा मीर काशिमले नेपालमाथि आक्रमण गरेका थिए। आफ्ना सेनाको सैन्य शक्ति हेर्न, साथै बंगालको सिमाना विस्तार गरी उपत्यकाको धन लुटपाट गर्न मीर काशिमले दिग्वन्धन सेनको अनुरोध सजिलै स्वीकार गरे।

वि.सं १८१९ को पुषमा मीर काशिमका सेनापति गुरगिन खाँ करिब दुई हजार सेना र एक हजार बन्दोबस्त सहित सयौं थान बन्दुक र तोप सहित नेपालतर्फ बढे। त्यसपछि माघ २ गते ढडुवा थानामा आक्रमण गरी अगाडी बढे।

यो आक्रमणका बारेमा भतिजा नन्दु शाहले पृथ्वी नारायण शाहलाई जानकारी गराए। यसपछि नन्दु शाहको नेतृत्वमा मकवानपुर बाट र पृथ्वी नारायण शाहले दहचोकबाट पठाएका सेनाहरुले प्रत्याक्रमण गर्ने तयारी गरे। रामकृष्ण कुंवर, वंशराज पाण्डे, हर्ष पन्त र केहर सिंह बस्नेतको नेतृत्वमा सैनिकहरु तयारी अवस्थामा बसे।

छापामार शैलीमा‌ युद्ध गर्न माहिर गोर्खाली सैनिकहरूले माघ १० को मध्यरातमा तीन तिरबाट घेरेर बंगाली सैनिक हरुलाई आत्थुआत्थु पारे। करिब सत्र सय बंगाली सेनाहरू हताहत भए। 

गुरगिन खाँ बाँकी रहेका सैनिक लिएर पछाडि हटे। केही थान बन्दुक, भाला, धनुष बाण र खुकुरी लिएर लडेको नेपाली सेनाले बंगालीले छोडेर भागेका पाँच सय थान बन्दुक र दुई थान तोप कब्जा गर्यो।

यो युद्ध पछी नेपाली सेनामा आधुनिकीकरण भयो। पाश्चात्य सैनिकहरू जस्तै नेपाली सेनाले पनि राइफल सहितको कम्पनीहरूको स्थापना गरे। मकवानपुर दरवारमा पहिलो पटक श्रीनाथ, कालीबक्स, सबुज, गोरख र बज्रबानी कम्पनी स्थापना भए।

Post a Comment

Previous Post Next Post