आयरिश स्वतन्त्रता युद्ध: अल्स्टर प्लानटेसन देखि क्रोमवेलको आयरल्याण्ड विजयसम्म

 

आयरल्याण्डमा अंग्रेज आगमन बाह्रौं शताब्दी तिर भएको थियो, तर सन् १५९३ बाट सुरु भएको नौ बर्षे युद्धको समाप्ति पश्चात भएका विभिन्न घटनाक्रमहरूले अंग्रेजहरूको आगमन व्यवस्थित तवरबाट हुन पुग्यो। सन् १६०१ मा किन्सेलको युद्धमा अंग्रेज फौजहरूसँग आयरिश संघ पराजित भएपछि सन् १६०३ मा मेल्लिफन्टको सन्धि भयो र यसपछि युद्ध समाप्त भएको थियो। यो युद्धमा स्पेन आयरिश संघ को पक्षमा लडेको थियो। 

सन् १६०३ मा जेम्स प्रथम इंगल्याण्डका राजा बनेपछि उनले आयरल्याण्डलाई पूर्ण नियन्त्रणमा राख्न त्यहाँका स्थानिय क्याथोलिक आयरिशहरूको भूमि कब्जा गर्ने रणनीति अपनाए। इंगल्याण्डमा बहुसंख्यक जनता प्रोटेस्टेन्ट थिए भने आयरल्याण्डका बहुसंख्यक जनता क्याथोलिक थिए। बाइबलको अधिकारलाई लिएर उनीहरू बीच मतभेद थियो। त्यसैले यी सम्प्रदायहरू एकअर्का लाइ मन पराउँदैनथे। 


अल्स्टर प्लानटेसन

सन् १६०९ मा अल्स्टर प्लानटेसन (Plantation of Ulster) सुरु भयो, जसमा आयरल्याण्डको अल्स्टर क्षेत्रमा बेलायती सरकारले स्कटल्याण्ड र इंगल्याण्डबाट प्रोटेस्टेन्ट परिवारहरूलाई ल्याएर बसोबास गरायो। क्याथोलिक माथि प्रभुत्व राख्ने लक्ष्य सहित प्रोटेस्टेन्टलाई ठुलो मात्रामा जमिन दिइयो। आयरिश भाषा र संस्कृतिमा प्रतिबन्ध लगाइयो। अल्स्टर प्लानटेसन संगठित औपनिवेशवाद थियो जसले उत्तरी आयरल्याण्डमा नयाँ समुदाय, प्रोटेस्टेन्ट संस्कृति र नयाँ सम्प्रदायको विजारोपण गर्यो। यस विवादास्पद योजनाले आयरल्याण्डमा धार्मिक विभाजन ल्यायो। 

अल्स्टर प्लानटेसन अन्तर्गत आयरल्याण्डबाट आएका बेलायतीहरूले आधुनिक कृषि प्रणाली लागू गरे। जसले अलस्टरको अर्थतन्त्र बलियो बनायो। बेल्फास्ट र डेरी जस्ता सहरको विकास भयो र आयरल्याण्डमा औद्योगिक युगको जग बसाल्यो। यस प्लान्टेसन योजनाले प्रोटेस्टेन्ट र क्याथोलिक बीचको विभाजनलाई थप बलियो बनायो। यो घटना नै आयरिश स्वतन्त्रता आन्दोलनको आधार हो।


१६४१ को आयरिश विद्रोह

सर फेलिम ओ'निल को नेतृत्वमा सन् १६४१ मा आयरल्याण्डमा विद्रोह सुरु भयो। त्यसको एक वर्ष पछि कन्फेडेरेट आयरल्याण्ड नामक संस्था बनाई आयरिशहरू संगठित रूपमा विद्रोहमा उत्रिए। यो विद्रोहको मुख्य उद्देश्य सन् १६०९ मा खोसिएको क्याथोलिकहरूको जमिन फिर्ता गराउनु र क्याथोलिक माथिको दमन हटाउनु पर्ने थियो। यसलाई आयरिश कन्फेडेरेट युद्ध भनिन्छ। तत्कालिन समयमा बेलायतमा राजा चार्ल्स प्रथम थिए। तर सन् १९४२ बाट इंगल्याण्डमा गृह युद्ध सुरु भयो, जसमा बेलायत संसदले राजा चार्ल्स प्रथम विरुद्ध युद्ध आह्वान गरे। 


अंग्रेजी गृह युद्ध (सन् १६४२ - १६५१)

राजा चार्ल्स प्रथम तानाशाही प्रवृत्तिका राजा थिए। बहुसंख्यक प्रोटेस्टेन्ट जनताहरूका राजाले क्याथोलिक रानी बिहे गरेपछि बेलायती जनताहरू यसै पनि रुष्ट भएका थिए। उनले राजा भएको पहिलो चार वर्षमै तीन पटकसम्म संसद विघटन गरेर  बेलायती प्रजातन्त्रवादीहरूसँग जोरी खोजेका थिए। आफ्नो ईश्वरीय अधिकार ठानेर सन् १६२९ - १६४० सम्म उनले प्रत्यक्ष शासन गरे। यसैले उनको यो तानाशाही प्रवृत्ति विरुद्ध इंगल्याण्डमा गृहयुद्ध सुरु भयो। गृहयुद्ध संसद पक्षधर र राजावादीहरू बीच भएको थियो। 

संसद पक्षधर सैनिकहरूको नेतृत्व ओलिभर क्रोमवेलले गरेका थिए। गृहयुद्धमा राजाले आफ्नै जनताहरू विरुद्ध लड्न क्याथोलिकहरूसँग सम्झौता गरे। उनले आफ्नो ससुराली फ्रान्स र आयरल्याण्डबाट सैनिक ल्याएर संसद पक्षधर विरुद्ध युद्ध गर्ने योजना बनाए। कन्फेडेरेट आयरल्याण्डले प्युरिटान प्रभुत्व भएको सांसदलाई भन्दा राजालाई समर्थन गर्ने निर्णय गर्यो किनकि सांसद कट्टर क्याथोलिक विरोधी थियो। कन्फेडेरेट भित्र नै राजालाई समर्थन गर्ने कि नगर्ने भन्ने बिषयमा मतभेद थियो। राजाको यो कदम थाहा पाएपछि क्रुद्ध बनेका बेलायती जनता र सांसदहरूले राजा लाई गिरफ्तार गरेर उच्च राजद्रोहको मुद्दा लगाए। सन् १६४९ मा उनलाई दोषी ठहर गरि सोहि वर्षको जनवरी ३० मा व्हाइटहल बैंक्वेटिंग हाउस बाहिर ठुलो भिड अगाडी उनलाई मृत्युदण्ड दिइयो।  


क्रोमवेलको आयरल्याण्ड विजय (१६४९ - १६५३)

राजा चार्ल्स लाई मृत्युदण्ड दिइएपछि ओलिभर क्रोमवेल हर्ताकर्ता भए। उनको आगमन पछि को समयलाई इतिहासमा संरक्षकालय (The Protectorate) भनिन्छ। अब बेलायतमा गणतन्त्र थियो। यस समयमा क्रोमवेलले आयरिश कन्फेडेरेट लाई परास्त गरि विद्रोह दबाउन सैन्य परिचालन गरे। 

क्रोमवेल कट्टर क्याथोलिक विरोधी थिए। उनले क्याथोलिकलाई धर्म भन्दा पनि राजनीतिक शक्ति ठान्दथे। साथै जबसम्म आयरल्याण्डबाट क्याथोलिक चर्चहरु भत्काइँदैनन्, तबसम्म आइरल्याण्डमा शान्ति सम्भव छैन भन्ने उनको विचार थियो। साथै बेलायती प्रोटेस्टेन्टहरूको बदला लिन लाई पनि उनले आयरल्याण्डमा आक्रमण गर्ने योजना बनाए।बेलायती संसदले सन् १९५२ मा ऐन नै बनाएर प्रोटेस्टेन्टहरूलाई आयरल्याण्डमा बसोबास गराउन थाल्यो। यसलाई "एक्ट फर द सेटलिङ्ग अफ आयरल्याण्ड १६५२" भनिन्छ। 

सन् १९४९ सेप्टेम्बर ३ देखि ११ सम्म उनले आयरल्याण्डको द्रोघेडामा ठुलो नरसंहार मच्चाए। त्यसपछि वेक्सफोडमा व्यापक नरसंहार गरे जहाँ उनका सेनाले हजारौं आयरिश सैनिक र सर्वसाधारणको हत्या गरे। क्रोमवेलका समर्थकहरूले सेन्ट पिटर चर्चमा शरण लिएका केहि क्याथोलिकहरूलाई जिउँदै जलाए। शक्तिमा उन्मुक्त भएका उनले सन् १६५२ मा राजा चार्ल्सले जसरी नै सैनिक लगाएर संसद भङ्ग गरे। 

सन् १६५३ मार्च १० मा विद्रोही नेता फेलिम ओ'निल लाई मृत्युदण्ड दिइयो। यसरि १६४१ मा सुरु भएको आयरिश विद्रोह असफल भयो। युद्धको यो चरण नागरिक मृत्युको हिसाबले सबैभन्दा महँगो थियो। युद्ध, अनिकाल र प्लेगको कारणले लाखौं आयरिशहरूको मृत्यु भयो। करिब चार लाख क्याथोलिकहरूले मृत्यु वरण गरे भने आयरल्याण्डको तत्कालिन जनसंख्या करिब ४०% ले घट्यो। युद्ध र त्यसले निम्त्याएको भोकमरीका कारण करिब दुई लाख मानिसको मृत्यु भएको अनुमान इतिहासकारहरूले लगाएका छन्। 

ओलिभर क्रोमवेल १६५८ मा उनको मृत्यु नहुने बेलासम्म  इङ्गल्याण्ड, स्कटल्याण्ड र आयरल्याण्ड कमनवेल्थका प्रमुख संरक्षक (Lord Protector) बने।  

क्रमश ...

Post a Comment

Previous Post Next Post