सन् १६५८ मा ओलिभर क्रोमवेलको निधन पश्चात उनका छोरा रिचर्ड क्रोमवेल सत्तामा आए तर राजनीतिमा पिताको जस्तो प्रभाव जमाउन सकेनन्। १६५९ मा संसद पुनर्स्थापना भयो। सेना, कट्टर र मध्यम गणतन्त्रवादीहरू सहित विभिन्न गुटहरू सत्ता नियन्त्रणको लागि झडप गरे। यसै क्रममा सन् १६६० मा पुनः राजसंस्था पुनर्स्थापना भयो र चार्ल्स द्वितिय इङ्गल्याण्डको राजा बने।
अठारौं शताब्दीको मध्यसम्म आइपुग्दासम्म क्याथोलिक र प्रोटेस्टेण्टहरू बीच तनाव छदैं थियो। सन् १६९५ को पेनल कानुनले क्याथोलिकहरू माथि सम्पत्ति स्वामित्त्व, शिक्षा र रोजगारीमा रोक लगाएको थियो। अंग्रेजहरूको प्रो-प्रोटेस्टेण्ट नीतिहरूले आयरिशहरूमा अझ बढी स्वतन्त्रताको चाहना बढाएको थियो। अङ्ग्रेजी संसदले अंग्रेजी हितको रक्षा भन्दै आयरिश व्यापार र उद्योगमा पनि कडा प्रतिबन्ध लगाएको थियो। यहि बीचमा अमेरिकामा स्वतन्त्रता संग्राम हुन्छ। सन् १७७५ देखि १७८३ सम्म चलेको यस सफल स्वतन्त्रता संग्रामले आयरिशहरूलाइ पनि प्रोत्साहित गर्यो।
सन् १७८२ को संविधान लाई आयरिश इतिहासमा महत्त्वपूर्ण परिवर्तनको रूपमा लिइन्छ। यसले आयरल्याण्डलाई आफ्नै कानुन बनाउन र अदालतका मुद्दाहरूमा निर्णय गर्न स्वतन्त्रता दियो। यसअघि, ब्रिटिश संसदले आयरल्याण्डका लागि कानुन बनाउने अधिकार राख्थ्यो। १७८२ पछि अस्तित्वमा रहेको आयरल्याण्डको संसदलाई ग्राटनको संसद भनिन्छ। यसलाई आयरिश राष्ट्रवादी नेता हेनरी ग्राटन को नामबाट नामकरण गरिएको थियो। यो परिवर्तनले आयरल्याण्डलाई केही स्वतन्त्रता दिए पनि कार्यकारी नियन्त्रण र सामाजिक विभाजन भने कायम नै थियो।
१७९८ को संयुक्त आयरिशमेन विद्रोह।
सन् १७९१ मा थियोबोल्ड वुल्फ टोन को नेतृत्वमा संयुक्त आयरिशमेन (United Irishmen) नामक समूहको गठन भयो। यो समूह अमेरिकी स्वतन्त्रता संग्राम र फ्रान्सेली राज्य क्रान्ति बाट प्रभावित थियो। तर बेलायत ले १७९० को दशकमा फ्रान्सेली क्रान्ति समर्थक प्रति दमनकारी नीति अपनायो जसले विद्रोहको वातावरण झन् उग्र बन्यो। सन् १७९४ मा थियोबोल्ड वुल्फ टोन गिरफ्तार भए।
सन् १७९८ मा विद्रोह सुरु भयो। फ्रान्सको सहयोगमा संयुक्त आयरिशमेनले विद्रोह गरे। सन् १७९८ मे २७ मा उलाट हिल युद्ध भयो, जसमा विद्रोही ले बेलायती सेनालाई परास्त गरे। सन् १७९८ जुन २१ मा बेलायती सेनाले भिनेगर हिल मा आक्रमण गर्यो। यस आक्रमणमा सयौं विद्रोही हताहत भए। न्यु रोस र बलिनाहिन्च को युद्धमा पनि विद्रोहीहरू परास्त भए। सन् १७९८ अगस्ट २७ को क्यासलवार युद्धमा फ्रान्सेली सेना र विद्रोही समूह संयुक्त आयरिशमेनले बेलायती सैनिक लाई हराए। तर १७९८ सेप्टेम्बर ८ को बालिनामकको युद्ध पछि विद्रोहले नयाँ मोड लियो। फ्रान्सेली सेनाले आत्मसमर्पण गरे। बेलायती सेनाद्वारा विद्रोही शिविर ध्वस्त पारियो, क्याथोलिकका घरहरू जलाईयो र गाउँ बस्ती कब्जा गरियो। ब्रिटिश सेनाले विद्रोहीलाई कडा सजाय दियो। विद्रोही नेता निर्वासित भए। मुख्य योजनाकार थियोबोल्ड वुल्फ टोनले जेलमा आ*त्महत्या गरे। केहि विद्रोहीले ब्रिटिश राजमुकुट समक्ष आत्मसमर्पण गरे। यस विद्रोहका क्रममा ३० देखि ५० हजार सम्म मानिसहरूको मृत्यु भयो। विद्रोह असफल त भयो नै यसले क्याथोलिक र प्रोटेस्टेन्ट बीचको अविश्वास अझ गहिरो बनायो।
यसपछि सन् १८०१ मा संविधानमा परिवर्तन गरि युनियन ऐन पारित गरियो। यस ऐन अन्तर्गत आयरिश संसद (ग्राटनको संसद) भङ्ग भयो र आयरल्याण्ड प्रतक्ष्य रूपमा बेलायति संसदको अधिनमा आयो। यसपछि संयुक्त अधिराज्य र आयरल्याण्ड (United Kingdom and Ireland) को स्थापना भयो।
आयरिश आलु सङ्कट र भयंकर भोकमरी (१८४५ - १८५२)
द आयरिश पोटेटो फ्यामिन - जसलाई ठुलो अनिकाल (Great Famine) का रूपले पनि चिनिन्छ। यसले आयरिश समाज र इतिहासमा ठुलो प्रभाव पारेको थियो। १८४५ मा फाइटोफ्थोरा ईन्फेटान्स किरा (Phytophthora Infestans) ले आलुमा विनासकारी रोग निम्त्याएको थियो। आलु आयरल्याण्डको प्रमुख खाद्य स्रोत थियो। आयरल्याण्डमा लुम्पर आलु प्रख्यात आलु थियो। यसको रोग प्रतिरोधात्मक शक्ति कम थियो। आलु सङ्कटले आयरल्याण्डमा भोकमरी फैलियो।
कोर्न एक्ट १८१५ (Corn Act 1815) का कारण ब्रिटिश साम्राज्यमा कोर्न (मकै, गहुँ आदि) आयातमा रोक लगाइएको थियो, जसका कारण पनि आयरल्याण्डमा खाद्यान्न अभाव उत्पन्न भएको थियो। साथै सोहि एक्टका कारण खाद्यान्न महँगो भएको थियो। सन् १८४६ मा यो एक्ट रद्द त गरिएको थियो, तर त्यति बेलासम्म निकै ढिला भएको थियो। यो प्रकोपले पहिलो वर्ष आलु उत्पादन आधा ले घट्यो, भने सात वर्षमा करिब तीन चौथाई बालि नस्ट भयो। यस प्रकोपका कारण १० लाख मानिसको ज्यान गयो भने २० लाख मानिसले देश छाड्नु पर्यो। ब्रिटिश सरकारले सङ्कटलाई सम्बोधन गर्न सकेन जसका कारण जनता रुष्ट भए र स्वतन्त्रताको चाहना झन् बढ्दै गयो। आयरिश जनताले कृषिको आत्मनिर्भरता कम गर्दै औद्योगिकरणमा जोड दिए।
भोकमरीकै बिचमा सन् १८४८ मा पुनः विद्रोहको प्रयास भयो। यसलाई युवा आयरल्यान्डर विद्रोह (Youth Irelander Rebellion) भनिन्छ। तर भोकमरीले मनोबल कमजोर बनाएका आयरिश जनताहरूले विद्रोह धेरै टिकाउन सकेनन्। विद्रोहका योजनाकारहरू समातिए। क्रान्तिमा सबैभन्दा प्रतिबद्ध रहेका जोन मिसेल लाई सन् १८४८ मा समातियो र देशद्रोह अपराधमा बन्दि बनाई बर्मुडा पठाइयो। त्यहाँ उनलाई मजदुरी गर्न लगाइयो। अन्य विद्रोहीहरू जोन ब्लेक डिलन, जेम्स स्टिफन्स, जोन ओ'महोनी र माइकल डोहेनि भागेर फ्रान्स पुगे।
यसरि पुनः एक पटक विद्रोहको प्रयास असफल बन्यो र आयरल्याण्ड स्वतन्त्र हुन सकेन।
क्रमश ...
Post a Comment