आयरिश स्वतन्त्रता संग्राम: विद्रोह, विधेयक र आइआरएको सफल संघर्ष

 


सन् १८४८ को विद्रोह असफल भएपछि भागेर फ्रान्स पुगेका विद्रोहीहरूले निर्वासनकै क्रममा सन् १८५८ मा आयरिश रिपब्लिकन ब्रदरहूड (Irish Republican Brotherhood) को गठन गरे। IRB द्वारा १८६७ मा पुनः एक पटक विद्रोहको प्रयास भयो जसलाई फेनियन राइजिङ्ग (Fenian Rising) को नामले चिनिन्छ। विद्रोहको योजनालाई आयरिश प्रति सहानुभूति राख्ने अमेरिकी  र अमेरिकी गृहयुद्धका भेटेरानहरूले समर्थन गरेका थिए, जसमध्ये धेरैले आर्थिक एवम् हातहतियारहरूको सहयोग गरेका थिए। तर सहि योजना र प्रयाप्त हातहतियार बिना भएको यो विद्रोहमा धेरै विद्रोही नेताहरू समातिए। 


गृह शासन आन्दोलन १८७०

सन् १८७० मा प्रख्यात वकिल एवम् राजनीतिज्ञ आइज्याक बटको संस्थापकत्वमा आयरिश होम गभर्नमेन्ट एसोसिएसन गठन भयो। आयरल्यान्डको सुशासन, धार्मिक स्वतन्त्रता, भूमिकर एवं अन्य क्षेत्रमा सुधार ल्याउनु यस संस्थाको उद्देश्य थियो। साथै आयरिस संसदको पुनर्स्थापना गर्नु र ब्रिटिश साम्राज्यको हिस्सा रहँदै आन्तरिक प्रशासनमा स्वतन्त्रता प्राप्त गर्नु यसका लक्ष्य थिए। आइजक बटले मध्यमार्गी र संवैधानिक मार्गबाट ब्रिटिस संसदमा समर्थन जुटाउने प्रयास गरे। 

सन् १८८३ मा विभिन्न आयरिश समुहलाई एकीकृत गरि होम रुल लिग (Home Rule League) गठन गरियो। यसलाई आयरिश संसदीय दल पनि भनिन्छ।  यो आयरल्याण्डको सबै भन्दा ठुलो दल बन्यो। र गृह शासन आन्दोलनको वकालत यो दलले गर्यो। यो आन्दोलनले विशेषगरि गरिब जनता क्याथोलिक चर्च र मध्यवर्गी जनताको साथ पायो।

यो आन्दोलनको मुख्य चुनौती ब्रिटिश संसद बन्यो। होम रुल लिगको मागलाई ब्रिटिश राजनीतिज्ञहरूले कमजोर मान्थे किनकी उनीहरूलाई स्वशासनले आयरल्याण्डमा स्वतन्त्रता आन्दोलनलाई बल प्रदान गर्छ भन्ने लाग्थ्यो। ब्रिटिश संसद तगारो बनिरहँदा पनि आइज्याक बट संवैधानिक पद्धति बाटै अगाडी चाहे तर लिगकै अन्य नेता भने आक्रमणात्मक शैलीमा अगाडी बढ्नु पर्नेमा जोड दिन थाले। यसले मतभेदको अवस्था सृजना भयो र आन्दोलन केहि कमजोर बन्यो।


चार्ल्स स्टुअर्टको उदय

पार्टी भित्र आइज्याक बटको नेतृत्व कमजोर हुँदै गर्दा सन् १८८० मा चार्ल्स स्टुअर्ट पार्नेलको उदय भयो। उनले १८८० को दशकमा होम रुलको मागलाई ब्रिटिश राजनीतिमा प्रमुख विषय बनाए। आयरिश संसदीय दलको नेतृत्वमा आएपछि पार्नेलले सन् १८८६ मा पहिलो होम रुल विधेयक संसदमा पेश गरे। 

सो समयमा ब्रिटिश प्रधानमन्त्री लिबरल पार्टीका विलियम ग्ल्याडस्टोन थिए। आयरल्याण्डलाई संयुक्त अधिराज्य अधिनमै राखी एक आयरिश संसद स्थापना गर्ने उद्देश्यले ग्ल्याडस्टोनले यो विधेयक संसदमा पेश गरेका थिए।

दुई महिनाको बहसपछि विधेयकमा मतदान भयो र ८ जुन १८८६ मा ३४१ जनाले यसको विपक्षमा (९३ लिबरल सांसद सहित) मतदान गरे भने ३११ जनाले यसको पक्षमा मतदान गरे। उक्त विधेयक तल्लो सदन (कमन्स) मा ३० मतले पराजित भयो। 

विधेयक संसदमा बहसका क्रममा रहँदा नै बेलफास्टमा दंगा सुरु भएको थियो। ८ जुनमा विधेयक पास हुन नसके पछि दंगा चर्कियो। क्याथोलिक र प्रोटेस्टेण्ट बीचको हिंसा भड्किदा सयौं क्याथोलिकको घर जलाइयो। प्रहरी पनि दंगा नियन्त्रण गर्न असफल रह्यो। 

ग्ल्याडस्टोन पुनः सत्तामा आएपछि १८९३ मा दोस्रोपटक विधेयक संसदमा पेश भयो। यो पटक तल्लो सदन (कमन्स)ले विधेयक पास गरेता पनि माथिल्लो सदन (लर्ड्स) ले विधेयक अस्वीकृत गर्यो। प्रधानमन्त्री एच एच अस्क्विथले सन् १९१२ मा  तेस्रो पटक होम रुल विधेयक संसदमा पेश गरे। तर यो पटक भने माथिल्लो सदनले पनि विधेयक अस्वीकृत गर्न सकेन। तर आयरल्यान्डका कथित प्रोटेस्टेन्ट संघवादीहरूले अल्स्टर भोलेन्टियर फोर्स (UVF) बनाएर यो विधेयक विरुद्ध संघर्ष गरे। यसको जवाफमा आयरिश स्वयंसेवकहरुले राष्ट्रवादी सैन्य संगठन बनाए, जुन पछि विभाजित भएर आयरिश रिपब्लिकन ब्रदरहुड (IRB) लाई समर्थन गर्यो। तेस्रो होम रुल विधेयक सदनबाट पास भयो र कानुन बन्यो तर प्रथम विश्वयुद्धका कारणले रोकिन पुग्यो। सन् १९१४ बाट प्रथम विश्वयुद्ध सुरु भयो। यसमा बेलायतको तर्फबाट लड्ने कि नलड्ने भन्ने विषयमा पनि आयरिशहरूबीच मतभेद थियो। 


इस्टर विद्रोह र आइआरएको प्रारम्भ 

सन् १९१६ मा इस्टर विद्रोह सुरु भयो। ब्रिटिश सरकार विरुद्ध सन् १९१६ अप्रिल २४ मा डब्लिनमा विद्रोह भयो। विद्रोहको योजना प्याट्रिक पियर्स, टम क्लार्क र आयरिश रिपब्लिकन ब्रदरहुडका अन्य धरै नेताहरूले बनाएका थिए। यो विद्रोह दबाउन बेलायत सरकारले कठोर कारबाही गरेपछि आयरिश जनता अझ बढी ब्रिटिश शासनको विरोधमा उभिए। विद्रोहका लागि जर्मनीबाट तस्करी गरि ल्याएका हतियार प्रयोग भएका थिए। विद्रोही नेताहरूलाई बेलायत सरकारले गिरफ्तार गरि मृत्युदण्ड दियो। यो मृत्युदण्डले ब्रिटिश अधिकारिहरू विरुद्ध व्रिद्रोहको लहरलाई उत्तेजित गर्यो। उनिहरुलाई शहिद घोषणा गरि आयरिश जनताले आयरिश स्वतन्त्रता संग्रामको सुरुवात गरे।

इस्टर विद्रोह पछि सन् १९१९ मा आयरिश स्वयंसेवकहरुलाई पुनर्गठन गरि आयरिश रिपब्लिकन आर्मी (IRA) को गठन भयो। आइआरएले ब्रिटिश शासन विरुद्ध गुरिल्ला युद्ध सुरु गर्यो।

सन् १९१९ जनवरी २१ मा आइआरएले दुई ब्रिटिश प्रहरीको हत्या गरे। यो स्वतन्त्रता युद्धको प्रारम्भिक घटना हो। यहि दिन आयरिश संसदको पहिलो बैठक बस्यो र स्वतन्त्र गणराज्य घोषणा गर्यो। यो युद्ध १९१९ देखी १९२१ सम्म चल्यो। यसक्रममा दुवै पक्षबाट धेरै हिंसा भयो। १९२० मा थोमस म्याककार्टनलाई ब्रिटिश प्रहरीले हत्या गरेपछि विद्रोहीहरु एकजुट भए। 

सन् १९२० नोभेम्बर २१ मा फुटबल हेर्न गएका १४ सर्वसाधारणलाई ब्रिटिश प्रहरीले गोलि हानी हत्या गर्यो। यसपछि आइआरएको नेतृत्व गरेका माइकल कोलिन्सले गुप्तचरी नेटवर्क बलियो बनाई ब्रिटिश सैनिक माथि आक्रमण गरे। ब्रिटिश सरकार दबाउन असफल भयो। यसरी विद्रोह दबाउन असफल भएपछि ब्रिटिश सरकार सन्धि गर्न तयार भयो।

११ जुलाई १९२१ मा युद्धविराम भयो। यसपछि आयरल्याण्डलाई  दुई टुक्रा परियो। उत्तरको भाग उत्तरी आयरल्याण्ड नाममा बेलायतकै शासनमा रह्यो भने दक्षिणमा आयरल्याण्ड गणतन्त्र स्थापना भयो। एंग्लो-आयरिश सन्धि, ६ डिसेम्बर १९२१ मा हस्ताक्षर भयो। तर यो सन्धिको पक्ष र विपक्षमा आइआरए विभाजित भयो। 

कट्टरपन्थी आयरिशहरू उत्तरी आयरल्याण्डलाई पनि स्वतन्त्र गराउन चाहन्थे। सिंगो आयरल्याण्डको एकीकरण हुनु पर्ने भन्दै सन् १९२२ बाट आयरल्याण्डमा गृहयुद्ध सुरु भयो। सन्धि समर्थक (प्रो-ट्रिटी) र सन्धि विरोधी (एन्टी-ट्रिटी) बीच भएको यो युद्ध करिब एक वर्षसम्म चल्यो। सन् १९२२ अगस्ट २२ मा एन्टी-ट्रिटी समुहले माइकल कोलिन्सको हत्या गरे। तर सन्धि विरोधीहरूले प्रभावकारी नियन्त्रण कायम राख्न सकेनन र युद्ध रोकियो। गृहयुद्धका क्रममा कट्टरपन्थी आइआरए सदस्यहरूले धेरै ब्रिटिश नागरिकहरुको हत्या गरे।

एन्टी-ट्रिटी समुहले फियाना फेल (Fianna Fáil) नामक राजनीतिक दल खोलि राजनैतिक माध्यम बाट उद्देश्य अगाडी बढाए। यद्दपि केहि उग्र-राष्ट्रवादी आयरिशहरुले आइआरएलाई सक्रिय राखिरहेका थिए। जसले विभिन्न समयमा बेलायतमा आक्रमण गरिराखे। सन् १९९३ मा आइआरएले वारेण्टनमा बम आक्रमण गर्यो जसमा २ बालक को मृत्यु भएको थियो र ५६ जना घाइते भएका थिए। हालसम्म पनि उत्तरी आयरल्याण्ड अंग्रेज अधिनमै रहेको छ। 

Post a Comment

Previous Post Next Post