भेदभाव समान मानिएका व्यक्ति वा वस्तुका बीच गरिने वा सम्झिने भेदको विचार अथवा पक्षपात गर्ने भाव हो। सरल भाषामा भन्नु पर्दा कसैसँग असल र कसैसँग खराब व्यवहार गर्ने काम भेदभाव हो। समाजमा जात, धर्म, लिङ्ग, वर्ण वा नश्ल को आधारमा भेदभाव देख्न सकिन्छ।
दुनियाँमा प्रजातन्त्र, समानता र वाक स्वतन्त्रताको वकालत गर्ने संयुक्त राज्य अमेरिका पनि कुनै समय नश्लवादको जन्जिरले जकडिएको थियो। मानिसको नश्ल र छालाको रङ्गको आधारमा विभेद, पूर्वाग्रह, वा द्वेषपूर्ण व्यवहार गर्नु नै नश्लवाद हो। यसले समाजमा प्रायः सामाजिक, आर्थिक, र राजनीतिक असमानताहरूलाई जन्म दिन्छ।
यस लेखमा अमेरिकाको स्वतन्त्र संग्राम पूर्व र त्यसपछिका विभिन्न कालखण्डमा रहेको नश्लवादको इतिहासको चर्चा गर्ने प्रयास गरेको छु।
औपनिवेशिक कालमा दास प्रथा र नश्लवाद
अश्वेतहरूको अमेरिका आगमनको इतिहास कोट्याउँदा हामी सोह्रौँ शताब्दीको मध्य तिर पुग्नु पर्छ। सन् १५६५ मा, स्पेनी अन्वेषकहरूले, पेड्रो मेनेन्डेज डे एभिलेसको नेतृत्वमा, सेन्ट अगस्टिन (हालको फ्लोरिडमा) सहरको स्थापना गरे, जुन अहिले संयुक्त राज्य अमेरिकामा सबैभन्दा पुरानो र हालसम्म पनि लगातार बसोबास गरिएको युरोपेली स्थापित बस्ती हो। यो सहर स्थापनाको क्रममा स्पेनिशहरूले उपनिवेश निर्माण गर्न र श्रमदान गर्न अफ्रिकीहरूलाई दास बनाएर ल्याएका थिए। अंग्रेज उपनिवेशमा अश्वेत दासहरू को आगमन सन् १६१९ को पोर्चुगल र एण्डोङ्गा अधिराज्य (वर्तमानको नामिबिया र एङ्गोला) बीचको युद्धसँग सम्बन्धित छ। त्यो समयमा एङ्गोला पोर्चुगलको उपनिवेश थियो। यो युद्ध पोर्चुगिजहरूले जितेका थिए। यसपछि सयौं अश्वेत अफ्रिकीहरूलाई समातेर युद्ध बन्दि बनाइयो। यसरी बन्दि बनाइएका ३५० जना जति अश्वेत मानिसहरूलाई लुआन्डा (वर्तमान एङ्गोला देशको राजधानी) बाट पोर्चुगलले साओ जोआओ बाप्टिस्टा (São João Baptista) नामक पानीजहाजमा राखी भेराक्रुज (हालको मेक्सिकोमा, तत्कालिन स्पेनिश उपनिवेश) तर्फ लग्दै गर्दा इंग्ल्याण्डको निजी जहाजले समातेर नियन्त्रणमा लियो। इंग्ल्याण्डका दुई जहाजको नाम ह्वाइट लायन र ट्रेजरर रहेको थियो। यी जहाजहरू अंग्रेज सामन्त रोबर्ट रिचका थिए। उनि वारविकको अर्ल (कुलीन वर्ग) थिए। रिच स्पेन र क्याथोलिक विरोधी थिए। यसरी स्पेनिशहरूबाट नियन्त्रणमा लिई अश्वेत मानिसहरूलाई पहिलो पटक अमेरिका स्थित इङ्ग्लिश उपनिवेशमा पुर्याइयो। त्यहाँ उनीहरूलाई अमेरिकी आदिवासीहरू सँगै दास बनाएर काम गराउन थालियो।
सन् १६६२ मा इङ्ग्लिश कोलोनी भर्जिनियाले दासत्वलाइ संस्थागत गर्यो। भर्जिनिया लगायत अन्य कोलोनीहरूमा कानुन बनायर दासत्वलाई वंशानुगत गरियो, मतलब दासको सन्तान दास नै हुने गरि कानुन ल्याइयो।
अठारौं शताब्दीको प्रारम्भमा, उपनिवेशहरूले दासत्व प्रणाली स्थापना गरे जुन केवल नश्लमा आधारित थियो। वंशानुगत र आजीवन यो दास प्रणालीमा मानिसहरूलाई सम्पत्तिको रूपमा व्यवहार गरिन्थ्यो भने उनीहरूसँग एकदम न्युन वा शून्य अधिकार थियो। दास मानिसहरूलाई किन्ने, बेच्ने र अरुलाई उपहार दिने गरिन्थ्यो। दासहरूलाई प्राय खेतबारीमा काम गराइन्थ्यो। कपास, सूर्ती लगायत नील रंगको खेतीमा दासहरूको प्रयोग हुन्थ्यो।
सन् १७३९ मा दक्षिण क्यारोलिनाको स्टोनो नदी किनारमा केहि दासहरू भेला भए। उनीहरूको उद्देश्य भनेको फ्लोरिडाको सेन्ट अगस्टिन सम्म पुग्नु थियो, जहाँ स्पेनिशहरूले दासहरुलाइ स्वतन्त्रता दिने र जमिन दिएर बसोबास गराउने प्रस्ताव गरेका थिए। यसरी जम्मा भएका दासहरूले हतियारखाना लुटे। बीस जना श्वेत मानिसहरूको हत्या गर्दै यो सशस्त्र समूह अघि बढ्यो। विभिन्न ठाउँमा पुगेपछि दासहरू समुहमा जोडिदै गए, र समूह करिब ६० जनाको भयो। साँझ सम्ममा आधा जति दासहरू मारिए, भने आधा विचलित भएर भागे। उनीहरूलाइ समातेर मृत्युदण्ड दिइयो। यो नै अंग्रेज उपनिवेशमा दासप्रथा विरुद्ध भएको पहिलो र ठुलो विद्रोह प्रयास थियो। इतिहासमा यसलाई स्टोनो विद्रोहको नामले चिनिन्छ।
तर अठारौं शताब्दी को अन्त्य तिर पुग्दै गर्दा अमेरिकामा स्वतन्त्रताको लागि संघर्ष सुरु भयो। यस क्रममा श्वेत र अश्वेत अमेरिकीहरू अंग्रेजी उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउन एक जुट भए। अमेरिकी क्रान्तिको उदय हुनु पूर्व, दासप्रथा उन्मूलन गर्ने बारे पहिलो बहस देखा पर्यो।
ब्रिटिश सरकारको उग्र कर नीति प्रति अमेरिकीहरू असन्तुष्ट थिए। यसले गर्दा ब्रिटिश सरकार प्रति स्थानीय अमेरिकीहरूको चरम असन्तुष्टी थियो। त्यसैले उनीहरूले ब्रिटिश संसदमा आफ्नो कुनै पनि प्रतिनिधित्व नभएको अवस्थामा कर तिर्न अस्वीकार गरे। "नो ट्याक्सेसन विदआउट रेप्रीजेण्टेसन" अर्थात् ब्रिटिश संसदमा अमेरिकी प्रतिनिधि नहुने बेलासम्म कर नतिर्ने नारा प्रख्यात भयो। यसैक्रममा सन् १७७० मा बोस्टन हत्याकाण्ड (ब्रिटिश अनुसार राजमार्गमा भएको घटना) भयो, जुन त्यहि उग्र कर नीतिको कारण घटेको थियो। यसले अमेरिकी स्वतन्त्रता संग्रामको बीजारोपण गर्यो। यस हत्याकाण्डमा एक अश्वेत नागरिक क्रिस्पस एटक्स सहित अन्य चार जनाको हत्या गरियो। क्रिस्पस एटक्सलाई अमेरिकी स्वतन्त्रता संग्रामको पहिलो शहिद मानिन्छ। सन् १७७४ बाट सुरु भएको स्वतन्त्रता को युद्ध, सन् १७८३ को पेरिस सन्धि पछि अमेरिकी स्वतन्त्रता संग्राम सकियो र सन् १७८७ मा संविधान को अन्तिम मस्यौदामा हस्ताक्षर भयो र आधिकारिक रूपमा ४ मार्च १७८९ बाट संविधान लागू भयो। यसले श्वेत नागरिकहरु त स्वतन्त्र भए तर अश्वेत नागरिकहरुले भने फेरी उही विभेदको सामना गर्नु पर्यो।
स्वतन्त्रता संग्राम पश्चात दास प्रथा र नश्लवाद
सन् १७८३ पछि उत्तरका ८ उपनिवेश (हाल राज्यहरू) र दक्षिणका ५ उपनिवेशहरु स्वतन्त्र भएका थिए। उत्तरका न्यु ह्याम्पसायर, म्यासाचुसेट्स, रोड आइल्याण्ड, कनेक्टिकट, न्युयोर्क, पेनसिलभेनिया, न्यू जर्सी र डेलावेयर स्वतन्त्र भएका थिए। यी राज्यहरूमा व्यापक औद्योगिकरण भएको थियो। साथै यहाँका मानिसले व्यापारमा बढि जोड दिएका थिए। दक्षिणमा भर्जिनिया, उत्तर क्यारोलाइना, दक्षिण क्यारोलाइना, जर्जिया, मेरिल्याण्ड स्वतन्त्र भएका थिए। यहाँको अर्थतन्त्र भने कृषिमा निर्भर थियो। कपास, सूर्ती र चामल यहाँ उत्पादन हुन्थ्यो। यसैले यहाँ दासहरूको आवश्यकता पर्थ्यो। उत्तरको तुलनामा दक्षिणका राज्यहरूमा उल्लेखनिय मात्रामा अश्वेत दासहरू थिए।
संयुक्त राज्य अमेरिका स्वतन्त्र त भयो, तर संस्थापक पिताहरूले नै दास प्रथा अन्त्य गर्ने पहल गरेनन्। कोहि संस्थापक पिताहरु आफैले दास राखेका थिए। दक्षिण राज्यका गभर्नरहरू अझ बढि कट्टर थिए। यस कारण उन्नाइसौं शताब्दीको सुरुवात देखि अन्त्य सम्म अमेरिकी जमिन विद्रोह र गृहयुद्धको आगोले तातिरह्यो।
गेब्रिएलको विद्रोह: सन् १८००
गेब्रियल प्रोसरको जम्म १७७६ मा भर्जिनिया राज्यमा भएको थियो। उनको जन्म त्यो बेलामा भएको थियो जतिबेला अमेरिकामा स्वतन्त्रता संग्राम सुरु हुँदै थियो। उनी थोमस प्रोसरका दास थिए। सुरुमा खेतमा काम गरे पनि पछि उनले लोहारको काम सिके। उनका दुई भाईहरू सोलोमन र मार्टिन पनि लोहार नै थिए। हट्टाकट्टा शरीर भएका गेब्रियल साक्षर थिए। अमेरिकामा अश्वेत व्यक्ति साक्षर हुनु दुर्लभ कुरा थियो। त्यो बेलामा केवल पाँच प्रतिशत अश्वेतहरु मात्र साक्षर थिए।
सन् १८०० मा गेब्रियलले विद्रोह योजना बनाए। उनी र उनका अरु लोहार साथी मिलेर केही आँसी र कोदालोहरुलाई पगालेर १२ दर्जन जति तलवार, मस्केट बल र ५० थान जति भाला बनाए। उनीहरुको योजना भनेको रिचमण्ड शहर कब्जा गरेर भर्जिनियाका गभर्नर जेम्स मोनरोलाई अपहरण गरी स्वतन्त्रताको लागि सौदा गर्नु थियो। साथै केही हतियारखानाहरु लुटेर शस्त्र जम्मा पार्ने उनीहरूले सोचेका थिए। यसको लागि उनिहरूले केही दासहरुलाई जम्मा पारे।
अगष्ट ३०, सन् १८०० लाई आक्रमणको दिन तय गरिएको थियो। तर त्यही दिन भयंकर पानी पर्यो। साथै उनिहरूकै समुहका दुई जना दासले आफ्ना मालिक मोस्बी शेपर्डलाई आक्रमणको पूर्वसूचना दिए। शेपर्डले यो सूचना गभर्नर मोनरोलाई दिए। यसपछि मोनरोले सेना लगाएर विद्रोही माथि आक्रमण गरे।
गेब्रियल भागेर नोरफक भन्ने ठाँउमा पुगे तर त्यहाँ पनि उनलाई अश्वेत दास विल किङ्गले धोका दियो। उनी लुकेको ठाउँको बारेमा आफ्नो मालिकलाई जानकारी दियो। सेप्टेम्बर २५ मा गेब्रियल समातिए। उनि सहित ९६ अरु विद्रोहीहरु पनि समातिए। अक्टोबर ६ मा उनलाई दोषी ठहर गर्दै अक्टोबर १० मा उनलाई फाँसी दिइयो।
मृत्युदण्ड सुनाइएका गेब्रियलको अन्तिम इच्छा उनलाई र मृत्युदण्ड सुनाइएका अरु विद्रोहीलाई सँगै झुण्ड्याउने थियो तर उनको त्यो ईच्छा पुरा भएन। उनीसँगै अरु २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो।
डेनमार्क वेसेको विद्रोह: सन् १८२२
डेनमार्क वेसे को जन्मनाम टेलिमाक थियो। उनको जन्म क्यारेबियन को सेन्ट थोमस टापुमा भएको थियो। उनलाई चार्ल्सटन, दक्षिण क्यारोलाइनाका क्याप्टेन जोसेप वेसेले खरिद गरेका थिए। उनी दक्ष सिकर्मी थिए। सन् १७९९ मा टेलिमाकले १५०० डलरको लोटरी जिते र ६०० डलरमा आफ्नो स्वतन्त्रता खरिद गरे। स्वतन्त्र भएपछि उनले आफ्नो नाम आफ्नो जन्मस्थलमा शासन गरेको देश 'डेनमार्क' राखे र थर वेसे। यसरी टेलिमाक डेनमार्क वेसे बने।
उनी चर्चका पादरी थिए। आफु स्वतन्त्र भएपछि अन्य दासहरुलाई पनि स्वतन्त्र बनाउन उनि योजनाबद्ध रुपमा लागे। फरक सैन्य रणनीति र व्यवस्थित योजना सहित उनले आफ्ना समर्थकलाई स-साना समुहमा विभाजन गरे। समूहबीच सम्पर्क गर्न गुप्त संकेत प्रणाली प्रयोग गर्थे। वेसेले धर्मको माध्यमबाट धेरै दासहरूलाई स्वतन्त्रताको लागि प्रेरित गर्थे। बाइबलका कथाहरु सुनाउथे। यसरी उनले करिब १५००० दासहरु जम्मा पार्ने योजना बनाएका थिए।
उनको मुख्य उद्देश्य दासहरुका मालिकको हत्या गर्ने, चार्ल्सटन सहर कब्जा गर्ने र दासहरुलाई चार्ल्सटन बन्दरगाहबाट जहाज नियन्त्रणमा लिइ अफ्रिका फिर्ता पठाउनु थियो। सबै गुलामहरुमा भरपुर आत्मविश्वास र मनोवल थियो। वेसेले योजना अन्य गुलाम नेताहरु सँग साझा गरेका थिए।
विद्रोह जुलाई १४, १८२२ मा ब्यास्टिल डे को दिनमा गर्ने योजना थियो। योजनाको बारेमा धेरै दासहरुलाई थाहा भयो। तर दुई जना गुलामहरु जर्ज विल्सन र जो लारोसे ले विद्रोह योजनाको खबर आफ्ना मालिकहरुसँग चुहाए।
यसपछि डेनमार्क सहित १३१ जना विद्रोह योजनाको आरोपमा समातिए। ६७ जनालाई मृत्युदण्डको सजाय दिइयो। जुलाई २ मा डेनमार्कले मृत्युदण्ड पाए।
यो विद्रोह योजना असफल भएतापनि यसले कालन्तरमा गुलामविरोधी, स्वतन्त्र र समानताको आन्दोलनलाई प्रोत्साहन गर्यो। र दक्षिणका श्वेतहरुलाई झस्कायो।
नेट टर्नरको विद्रोह: १८३१
नेट टर्नरको जन्म २ अक्टोबर १८०० मा गेब्रियललाई फाँसी दिनु भन्दा एक हप्ता अगाडि भएको थियो। उनी सानैदेखि धार्मिक थिए। उनले उपवास गर्ने, प्रार्थना गर्ने र बाईबलका कथाहरु पढ्ने गर्थे। उनी भर्जिनियाका बेन्जामिन टर्नरको दास थिए। बेन्जामिनको मृत्यु पछि स्यामुअल टर्नर उनको मालिक बनेका थिए।
२१ वर्षको उमेरमा उनी दासत्व छाडेर भागेका थिए। तर केही दिनपछि भोक र ईश्वरीय आभासका कारण पुन: स्यामुअल टर्नरको मै फर्किए।
उनी डकर्मी थिए, तर साक्षर भएको कारण अरु दासहरुलाई बाइबलका कथाहरु वाचन गरेर सुनाउने गर्थे। उनको मुख्य काम भनेको साउथह्याम्टनका दासहरुलाई बाइबल र दासत्व को बारेमा प्रचार गर्नु हुन्थ्यो। यसैक्रममा उनी आफ्ना मालिकसँग बिभिन्न ठाँउहरु पुग्थे। अफ्रिकी-अमेरिकी अश्वेत दासहरुको हृदयविधारक अवस्था देखेर उनी दुखी हुन्थे।
बाइबलको ज्ञाता भएको नाताले उनले एकदिन श्वेत अपराधीलाई बप्तिस्मा दिए। यो कार्यले तत्कालिन समाजको जातिय र सामाजिक मान्यता विथोलियो। उनलाई तत्कालै समातेर सजाय दिइयो।
यिनै धार्मिक गुलामले अमेरिकी ईतिहासको सबैभन्दा भयंकर विद्रोहको नेतृत्व गरे। विद्रोह २१ अगष्ट १८३१ मा सुरु भयो। टर्नर र उनका समर्थकहरूले आ-आफ्ना मालिक र तिनका परिवारको हत्या गरेर विद्रोहको सुरुवात गरे। उनको विद्रोह दुई दिनसम्म चल्यो, यसक्रममा करिब ८५ जना श्वेत पुरुष, महिला र बालबालिकाको हत्या गरे।
टर्नर भागेर दुई महिना सम्म लुकेर बसे। यो समयमा करिव २०० जना अश्वेत हरुको हत्या गरियो। विद्रोहमा समावेश नभएका दासहरुलाई शंकाको भरमै झुण्ड्याइयो। यसपछि अक्टोबर ३० मा टर्नरले आत्मसमर्पण गरे। उनलाई ११ नोभेम्बर १८३१ मा मृत्युदण्ड दिइयो।
यो विद्रोहका कारण दक्षिणी राज्यमा दासहरुको नियन्त्रणका लागि कडा कानुनहरु बनाइयो। अश्वेतहरुलाई शिक्षा लिन, आन्दोलन गर्न, र धार्मिक भेलाहरु गर्नबाट अंकुश लगाइयो।
क्रमश ...
Post a Comment