संयुक्त राज्य अमेरिकामा दासप्रथाको इतिहास: गृहयुद्ध देखि नागरिक अधिकार आन्दोलनले बदलेको समाज


१८६० आइपुग्दा उत्तरी राज्यहरुले प्राय दासप्रथा उन्मुलन गरिसकेका थिए। तर दक्षिणमा कपास खेती हुने भएकाले दक्षिणी राज्यले भने दासप्रथा हटाउन चाहेका थिएनन्।

अलाबामा, जर्जिया, फ्लोरिडा, भर्जिनिया, आर्केन्सा केन्टकी, टेनिसीज लगायतका दक्षिणी राज्यहरुमा अझै दास प्रथा कायम राखेका थिए। दक्षिणका राज्यहरूमा‌ स्लेभ‌ प्याट्रोलले गस्ती गर्थे। उनिहरूले दक्षिणबाट भागेर उत्तरी राज्य तिर जाने दासहरुलाई समातेर सजाय दिन्थे।

सन् १८६० मा रिपब्लिकन पार्टीका अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति‌ निर्वाचित भए। यसपछि दक्षिणी राज्यहरूले ८ फरवरी १८६१ मा संघबाट अलग भई कन्फेडेरेट राज्यको घोषणा गरे। जसलाई कन्फेडेरेट स्टेट अफ अमेरिका भनिन्थ्यो।‌ दक्षिण क्यारोलाइना २० डिसेम्बर १८६० मै संघिय सरकारबाट अलग भएको थियो। फरबरी १८६१ आउँदासम्म ७ राज्यहरु कन्फेसनमा जोडिएका थिए।

सन् १८६३ जनवरी १ मा राष्ट्रपति अब्राहम लिंकनले इमेनसिपेसन प्रोक्लेमेसनमा हस्ताक्षर गरे, जसले अमेरिकाको जमिनमा रहेका सबै दासहरुको स्वतन्त्रता घोषणा गर्यो। संघ बाट अलग भएका दक्षिणी राज्यहरूले‌ १८६१ मै गृहयुद्ध सुरु गरेका थिए।

कन्फेडेरेट का राष्ट्रपति जेफरसन फिनिस डेभिस थिए।‌ गृहयुद्ध सुरु भएपछि दक्षिणमा नश्ल मात्र नभई वर्ग संघर्ष पनि देखा पर्यो। दक्षिणले युद्धको लागि भन्दै केही कानुनहरु पास गर्यो, जुन धनी श्वेतहरूको पक्षमा थिए। दश प्रतिशत कर नीति ल्याएर आफ्नो उत्पादनको १०% कन्फेडेरेट सरकारलाई दिनु पर्ने नियम ल्याइएको थियो।

साथै युद्धको लागि सैनिक कम नहोस भनेर हरेक श्वेत मानिसलाई युद्धमा‌ सहभागी हुनु पर्ने कानुन ल्याइयो। सन् १८६२ मा कन्फेडेरेट कङ्ग्रेस ले बीस निग्रो कानुन पास गर्यो। जसअनुसार बीस वा सोभन्दा बढी दास हुने व्यक्तिलाई सेनामा भर्ती हुन छुट दिइन्थ्यो। बीस भन्दा कम दास हुने श्वेत मानिसले अनिवार्य सैनिक सेवामा आवद्ध भई युद्ध लड्नु पर्थ्यो। यस्ता किसिमका कानुनले गरिब श्वेत मानिसमा आक्रोश सिर्जना गरेको थियो।

गृहयुद्ध १८६५ सम्म चल्यो, जसमा कन्फेडेरेट‌ राज्यहरूको हार भयो। अप्रिल ९, १९६५ मा उनिहरूले आत्मसमर्पण गरे।


पुननिर्माण काल: सन् १८६५ देखी १८७७ सम्म

गृहयुद्ध पछाडी को १२ वर्ष लाई पुनर्निर्माण काल को रुपमा चिनिन्छ। यस समयमा अश्वेतहरुलाई संवैधानिक अधिकारी दिने काम भयो। अश्वेत र पूर्व-दास हरुलाई आर्थिक, सामजिक र राजनैतिक अधिकार दिएर समाजमा घुलमिल बनाउने प्रयास गरियो।


१३ औं, १४ औं र १५ औं संशोधन

‌सन् १८६५ डिसेम्बर ६ मा संविधानको १३औं संशोधन भयो। यो संशोधनले दासप्रथा लाई पूर्ण रूपमा अवैधानिक बनायो र अमेरिकाभर दासतालाई समाप्त गर्यो।

सन् १८६८ जुलाई ९ मा संविधानको १४ औं संशोधनले अमेरिकामा जन्मने हरेक नागरिकलाई समान अधिकार, संरक्षण र नागरिकता सुनिश्चित गर्दै समानताको अधिकार प्रदान गर्यो।


अवरोधहरू

सन् १८७० फेब्रुअरी ३ मा संविधानको १५ औं संशोधनले सबै नागरिकलाई मताधिकार दियो। रङ्ग, जाति त पहिचानको आधारमा दिइएको मताधिकार खारेज गर्यो।

सन् १८६५ मा अब्राहम लिंकनको हत्या पछि एन्ड्रियु जोनसन राष्ट्रपति बनेका थिए। पुननिर्माण कालको क्रमामा उनी र युलिसिस एस. ग्रान्ट राष्ट्रपति भए। उनीहरुको कार्यालयमा अश्वेतहरुलाई संवैधानिक अधिकार दिने प्रयास भए। तर पनि अझै अश्वेत नागरिकहरुले समाजमा आफ्नो प्रभाव जमाउन र घुलमिल हुन सकेनन्।

संविधानको १५औं संशोधनले अश्वेतहरूलाई मताधिकार त दिएको थियो तर यो सँगै यो संशोधनले राज्य सरकारलाई मताधिकारको लागि मापदण्ड तोक्ने अधिकार दियो।

धेरै दक्षिणी राज्यहरूले मताधिकार पाउन साक्षरता परीक्षण गर्ने नियम ल्याए।‌ सो समयमा अश्वेतहरुमा धेरै साक्षरता थिएन। सन् १८६१ मा जम्मा २०% अश्वेतहरु साक्षर थिए। यस्तै अश्वेतहरुलाई समाजमा घुलमिल हुन नदिन भेदभाव युक्त कानुन पास गरे।

सन् १८६५ मा "कु कलक्स क्लान" (Ku Klux Klan) नामक श्वेत सर्वोच्वादी समुहको गठन भयो। केही श्वेत कट्टरपन्थी मिलेर पुलास्की टेनिसी मा यो समूह गठन गरेका थिए। यसको मुख्य उद्देश्य भनेको पुनर्निर्माण कालका नीतिहरूको विरोध गर्नु थियो। नवनागरिक अश्वेतहरुको मताधिकार दबाउन र उनिहरुका अधिकारहरु कार्यान्वयन गर्न नदिन यो समुह सक्रिय थियो। अश्वेतहरुलाई घृणा गर्ने, सानो गल्तीमा पनि समातेर सामुहिक हत्या गर्ने जस्ता काम यो समूहले गर्थ्यो।


विभाजन अवधि: सन् १८८५ देखी १९६४

संविधानले अश्वेत नागरिकहरूलाई श्वेत नागरिक समान अधिकार दिएपनि दक्षिणी राज्यहरूले यसलाई सहर्ष स्वागत गर्न सकेका थिएनन्। १८७० र १८८० को दशकमा उनीहरुले विभिन्न कानुनहरु बनाएर अश्वेत र श्वेत नागरिकलाई विभाजित गराएका थिए। यस्ता कानूनहरुलाई जेम्स क्रो कानून भनिन्छ। जेम्स क्रो कुनै व्यक्ति होइनन्, यो अश्वेतहरुलाई होच्याउन श्वेतहरुले राखेको नाम मात्र थियो।

जेम्स क्रो‌ कानूनले अश्वेत र श्वेत नागरिकबीच हरेक सार्वजनिक क्षेत्रमा विभाजन ल्यायो। अश्वेतहरूले कामगर्ने ठाउँ, बस, स्कुल, शौचालय, रेस्टुरेन्ट र सार्वजनिक धाराहरू श्वेतहरूको भन्दा भिन्न र कम गुणस्तरका हुन्थे। कतिसम्म भने सार्वजनिक अस्पतालमा अश्वेतहरुको प्रतिक्षा कक्ष पनि भिन्नै हुन्थ्यो। अश्वेत‌ नागरिकले संविधानमा स्वतन्त्रता त पाए तर समाजमा स्वतन्त्र हुन भने अरु केही दशक सङ्घर्ष गर्नु पर्यो।


नागरिक अधिकार आन्दोलन

बीसौं शताब्दीको सुरुवात सम्ममापनि अमेरिकी समाज समरूप हुन सकेको थिएन। केही उदारवादी श्वेतहरू समानताको पक्षमा भएपनि संविधानको पूर्ण कार्यान्वयन हुन गाह्रो थियो।

यसैबीच सन् १९०९ मा एनएएसिपी (एसोसिएसन फर द एडभान्समेन्ट अफ कलर्ड पिपल) नामक मानव अधिकार सङ्गठन को स्थापना भयो।‌ यसको उद्देश्य सबै व्यक्तिको राजनीतिक, शैक्षिक, सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्दै जातीय घृणा र विभेदको अन्त्य गर्नु थियो। यो संघठनले नागरिक अधिकार आन्दोलनमा विशेष भुमिका खेल्यो।‌ सन् १९६० आइपुग्दा सम्म यस्तै अन्य सङ्घठन हरुको पनि स्थापना भयो।

सन् १९५७ मा मार्टिन लुथर किङ्ग जुनियरले एससिएलसी‌ को स्थापना गरे।‌ यसले मोन्टेगोमरी बस बहिष्कार र वाशिंगटन मार्च जस्ता विरोधको काम गर्यो। वाशिंगटन मार्चकै क्रममा मार्टिन लुथर किङ्ग ले प्रख्यात भाषण "आई ह्याभ अ ड्रिम" दिएका थिए।

यी सङ्गठनहरुले सन् १९५४ देखी १९६८ सम्म अमेरिकामा धेरै प्रदर्शन गरे। शान्तिपूर्ण आन्दोलनका माध्यमबाट जिम क्रो कानुनको विरोध गर्न यसका सदस्यहरू आन्दोलन गर्थे। शान्तिपूर्ण तवरबाट धर्ना दिने, बहिष्कार गर्ने र मार्च पास गर्ने आन्दोलन गर्ने तरिका हुन्थ्यो।

सन् १९५४ मा सर्वोच्च अदालतले सरकारी स्कुलमा हुने विभेदको अन्त्य गर्ने निर्णय गर्यो। अब बाट सरकारी स्कुलहरु समावेशी हुनुपर्ने भए। यसपछि लिटिल रक हाई स्कुल निर्णय कार्यान्वयन गर्ने पहिलो स्कुल बन्यो। ९ जना अश्वेत विद्यार्थीलाई सुरक्षाकर्मी सहित स्कुल पठाइयो।

सर्वोच्च को यस्तो निर्णय भएपनि सबै ठाउँमा निर्णय कार्यान्वयन भने हुन सकेन। सन् १९६३ मा अलाबामा एक अश्वेत विद्यार्थीलाई राज्य गभर्नरले स्कुलको गेटमै उभिएर भित्र जान दिएका थिएनन्। यस्ता घटनाले नागरिक अधिकार आन्दोलनलाई झन सशक्त बनायो।


के हो मोन्टेगोमरी बस बहिष्कार अभियान?

मोन्टेगोमरी बस काण्डलाई रोजा पार्क्स डिफायन्स (रोजा पार्कको अवज्ञा) पनि भनिन्छ। यो मोन्टेगोमरी शहर, अलाबामा को घटना हो। जिम क्रो कानुन अनुसार सारा यातायातमा श्वेत र अश्वेतहरूलाई फरक सिट हुन्थ्यो।

डिसेम्बर १, १९५५ मा एक दिन रोजा बसमा यात्रा गर्दै थिइन।‌ श्वेतहरूका लागि छुट्याइएको सिट भरिएको थियो।‌ एकजना श्वेत महिलाको लागि ड्राइभरले रोजा पार्क बसेको सिट खाली गर्न भन्यो। उनलाई बसको पछाडिको सिटमा बस्न भनियो, किनकी अश्वेत भन्दा श्वेत पछाडि बस्दैनथे। तर रोजाले यो आग्रह अस्वीकार गरिन। यसपछि उनलाई गिरफ्तार गरियो। रोजा पार्क नागरिक अधिकार आन्दोलन कि जननी मानिन्छिन। उनको गिरफ्तारी पछि मोन्टेगोमरी चर्चका पादरी मार्टिन लुथर किङ्ग ले अश्वेतहरूलाई मोन्टेहोमरी शहरमा बस बहिष्कार गर्न लगाए।


एमिट टिल हत्याकाण्ड

एमिट टिल हत्याकाण्ड लाई नागरिक अधिकार आन्दोलन हुनुको तत्कालिन कारण मान्न सकिन्छ। सन् १९५५ मा शिकागो सहरका १४ वर्षिय एमिट टिल छुट्टि मनाउन मिसिसिपीमा आफन्तकोमा गएका थिए। आफन्तको पसलमा उनी बसेका थिए। त्यहाँ २१ वर्षिय श्वेत महिला क्यारोलिन ब्रायन्ट आइन। टिलको ती महिलासँग केही कुरा भयो। ती महिलाले टिललाई सिठ्ठी बजाएको र जिस्काएको आरोप लगाइन्। केही बेरमा महिलाको पति र भाई मिलेर एमिट टिललाई कुटपिट गरे।‌ उनको टाउकोमा गोली हानी हत्या गरे।

यो घटनाले अफ्रिकी-अमेरिकी समुदाय रुष्ट भयो। चौध वर्षको बालक को हत्या भएपछि अमेरिकामा नागरिक आन्दोलन झन् ब्यापक बन्यो।


नागरिक आन्दोलनको अन्तिम चरण

६० को दशक अमेरिकी नागरिक आन्दोलनको लागि विशेष रह्यो। सन् १९६३ मा रोजगार र स्वतन्त्रताको लागि वाशिंगटन सम्म पदयात्रा आयोजना भयो। यसको नेतृत्व मार्टिन लुथर किङ्ग को सदन क्रिश्चियन लिडरसिप कन्फिरेन्स (एससिएलसी) ले गरेको थियो। यसमा करिब तीन लाख मानिसहरू सहभागी भएका थिए।

सन् १९६४ मा नागरिक अधिकार ऐन लागू भयो। यो ऐनले सार्वजनिक स्थानहरू (जस्तै, रेस्टुरेन्ट, होटल, पार्क) मा जातीय विभेद गर्न निषेध गर्‍यो। यसले लामो समयदेखि अफ्रिकी-अमेरिकी समुदायलाई विभेदित अवस्थामा राखेको "अलग तर समान" को सिद्धान्तलाई खारेज गर्‍यो।

सन् १९६५ मा अधिकारकर्मी जिम्मी लि ज्याकसन को हत्या भएपछि सेल्मा देखी मोन्टेगोमरी सम्म पदयात्रा आयोजना भयो तर यो पदयात्रामा प्रहरीले हस्तक्षेप गर्यो। मार्टिन लुथर किङ्ग समातिए।

नोबेल शान्ति पुरस्कार विजेता मार्टिनको गिरफ्तारी पछि आन्दोलन झन् भड्कियो। देशैभरि आन्दोलन चर्किएपछि सरकारले मताधिकार ऐन १९६५ लागु गर्यो। यो ऐनले मतदान गर्दा लिइने साक्षरता परिक्षा खारेज गर्यो।

यसरी नागरिक अधिकार आन्दोलनले कानुनी रूपमा विभाजनको अन्त्य गर्न सफल भयो। तर केही कट्टरपन्थी अश्वेतहरुले थप अधिकारका लागि सङ्घर्ष जारी राखे।‌ सन् १९६५ देखी १९८५ सम्म अश्वेत शक्ति आन्दोलन भयो। जसमा सशस्त्र विद्रोह भएको थियो। तर यस आन्दोलनले गति लिन भने सकेन।


परिणामहरू

सन् १९६८ मा मार्टिन लुथर किङ्ग को हत्या भयो। यसपछि अमेरिकाभर जातिय दङ्गा सुरु भयो। अश्वेतहरुको जीवनस्तरमा सुधार हुँदै गयो र २१औं शताब्दी लाग्ने बेलासम्म अमेरिकी समाजमा समरूपता र समानता देख्न थाल्यो। तर विभेदका घटनाहरू भने छिटपुट अहिले पनि देखिन्छन्।

सन् १९९१ मा एक अश्वेत नागरिक रोड्नी किङ्गलाई तीव्र गतिमा सवारी चलाएको आरोपमा लस एन्जलस प्रहरीले‌ मरेतुल्य हुने गरी कुट्यो। यसको कारणले १९९२ मा लस एन्जलस शहरमा दङ्गा र विद्रोह भयो।

सन् २०१२ को ट्रेयभोन मार्टिन मामला होस्, २०१४ को माइकल ब्राउन मामला होस् वा २०२० को जर्ज फ्लोयड मामला, यी घटनाहरुले अमेरिकाको शताब्दीयौं पहिलेको विवेदयुक्त समाजको अवशेषको चित्रण गर्दछ र यी घटनाले अझै पनि जातीय विभेद र पुलिस अत्याचारको मुद्दा जीवित रहेको प्रमाणित गर्छ। 

आज पनि "ब्ल्याक लाइभ्स म्याटर" जस्ता आन्दोलनहरूले जातीय समानताका लागि दबाब दिने काम गरिरहेका छन्।

Post a Comment

Previous Post Next Post