(विक्रमको २० औं शताब्दीको सुरुवाती समयमा, कोत पर्व र भण्डारखाल पर्व जस्ता नरसंहार पछि संस्थागत भएको जहानियाँ राणाशासन सोही शताब्दीको अन्त्यतिर आइपुग्दा विभिन्न कारणले कमजोर बन्दै गएको थियो। राणाशासन विरुद्ध छिट्फुट विरोधी आवाजहरु वि.सं १९५० लो दशक बाटै सुरु भएका थिए। केही शिक्षित र जागरुक युवाहरुले देश भित्र र बाहिरबाट यस जहानियाँ र क्रुर व्यवस्था विरुद्ध अप्रत्यक्ष रूपमा आवाजहरु उठाउन सुरु गरेका थिए। पर्चा बाँढेर होस् अथवा पुराण र सप्ताहका माध्यमबाट, क्रान्तिकारी बिचारहरुको सम्प्रेषण हुने क्रम जोडतोडका साथ चलेको थियो।
जहानियाँ राणाशासन विरुद्ध आवाज उठाउँदै गर्दा शहादत प्राप्त गरेकाहरुको नाम लिँदै गर्दा आउने नामहरू हुन्: शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ। विरोधी आवाजको नेतृत्व गर्ने यी योद्धा बाहेक अन्य थुप्रै पनि उनीहरूले सुरु गरेको क्रान्तिमा होमिएका थिए। बिभिन्न माध्यमबाट राणाविरोधी काम गरेकाले कोहीलाई कारागार सजाय भएको थियो, कोहीको सम्पत्ति जफत भएको थियो भने कोहीलाई देश निकाला गरिएको थियो।)
१. शुक्रराज शास्त्री (१९५० - १९९७)
पिता माधवराज जोशीले राणा सरकारको इच्छा विपरित १९५० काठमाडौं र पोखरामा आर्य समाजको मत प्रचार गरेका थिए। वीर शमशेरको पालामा चलेको त्यो प्रचार चन्द्र शमशेरको पालामा रोकियो। माधवराज दुई वर्ष जेल परे। माधवराज जेल परेपनि आर्य समाजको प्रचार रोकिएन। भीम शमशेरको पालामा "मलामी गुठी" को नामबाट आर्य सामाजिक मत भित्रभित्रै चालु रह्यो।
नेपालमा कुनै राजनीतिक दल त्यसबेला खोल्न नपाइने हुँदा १९९४ सालमा केही शिक्षित नेपालीहरूले "महावीर पब्लिक स्कुल" खोले र भित्रभित्र संगठन बिस्तार गरे। त्यसैको फल थियो "नेपाली नागरिक अधिकार समिति"को जन्म। सो समितिका अध्यक्ष शुक्रराज शास्त्री थिए भने सदस्यहरू केदारमान व्यथित, राजालाल, गङ्गालाल श्रेष्ठहरु थिए ।
शुक्रराज शास्त्रीले १९९४ सालमा भारतमा गई महात्मा गान्धी सुभाष चन्द्र बोस र मदनमोहन मानवीयहरूलाई भेटेको खबरले नेपालमा ठूलो सनसनी फैलिएको र अनेक चर्चा चलेको थियो। नागरिक अधिकार समिति अन्तर्गत खुलेको अर्को "सेवा समिति" का गतिशील सदस्य थिए मुरली पण्डित। मुरली पण्डितले नयाँ ढाँचाले असन, इन्द्रचोकका डबलीमा पुराण भन्न थाले र शुक्रराज शास्त्रीले टोलटोलमा गई गीता पाठ गर्दा कर्मयोगको सार बताउन थाले। सोही समयमा शुक्रराज शास्त्रीको "स्वर्गको दरबार" भन्ने पुस्तक भर्खर भर्खर प्रकाशनमा आएको थियो।
यस्तै गीताको प्रवचन १९९५ सालमा इन्द्रचोकमा गर्न लागेको बेलामा शुक्रराज पक्रिए। गीता प्रचारको निहुँले जनता भड्काउन थाल्यो भन्ने आरोप लागि उनलाई ६ वर्षको जेल सजाय दिइयो।
२. दशरथ चन्द (१९६० - १९९७), धर्मभक्त माथेमा (१९६६ - १९९७) र गंगालाल श्रेष्ठ (१९७५ - १९९७)
(यहाँ मृत्युदण्ड पाएका शहिदहरुको शीर्षक राखेर मात्र लेख्दा अन्य क्रान्तिकारीहरूलाई अन्याय गरेको जस्तो हुन्छ। टंकप्रसाद आचार्यले नेतृत्व गरेको नेपाल प्रजा परिषद्का अन्य चार जना क्रान्तिकारीहरू क्रमशः दशरथ चन्द, रामहरि शर्मा, धर्मभक्त माथेमा र जीवराज शर्मा थिए।)
दरबार स्कुलमा पढ्दा-पढ्दै टंकप्रसाद आचार्य हिन्दी भाषामा लेखिएको फ्रान्सेली राज्य क्रान्ति सम्बन्धि पुस्तकहरुबाट प्रभावित भई त्यस्तै क्रान्ति नेपालमा पनि छेडी, राणा शासनलाई उखाडी वैधानिक सरकार गठन गर्ने धोकोले तल्लिन भएका थिए। जाडो बिदामा तराई घुम्न जाँदा उनको भेट दशरथ चन्द सँग भयो। दशरथ चन्द पनि राणाशासनसँग मिच्चिएर त्रि-चन्द्र कलेज छाडी त्यही बखत रामनगरतिर लागेका थिए। टंकप्रसाद र दशरथ चन्द त्यहाँसँगै बसिबियालोजस्तो भलाकुसारी गर्दै राणा सरकार विरोधी भावना पोख्न पुगे। दुवैजना राणाशासन फालेर राजा त्रिभुवनको नेतृत्वमा नेपालमा वैधानिक सरकार गर्ने कुरामा सहमत भए।
टङ्कप्रसादका परममित्रहरू थिए रामहरि शर्मा र जीवराज शर्मा। धर्मभक्त माथेमा र दशरथ चन्दको चिनापर्ची भने कलकत्तामा भएको थियो। नयाँ सडकमा दशरथ चन्दले धर्मभक्तलाई टङ्कप्रसादसँग चिनापर्ची गराए। यसरी पाँच क्रान्तिकारीहरुको एकआपसमा चिनापर्ची भयो। यी सबैजना राणाविरोधी विचारले लिचिप्पै रङ्गीन भएका थिए। धर्मभक्त माथेमाले राजा त्रिभुवनलाई नारायणहिटी दरबारमा राणा सरकारले खटाइएको अधिकृतको सामुन्नेमा कसरत सिकाउँथे। टङ्कप्रसादले यिनैको सहयोगमा नेपालमा वैधानिक सरकार गठन गर्नेबारेमा राजा त्रिभुवनको आशय बुझे। यसको लागि त्रिभुवनको विश्वासपात्र र भित्रिया चन्द्रमान सैंजुले सूचना आदानप्रदान गर्न सहयोग गरे।
क्रान्तिकारीहरू १९९३ जेठ २० गते धर्मभक्तको ॐबहालको घरमा जम्मा भई वैधानिक सरकार बनाउनलाई एक राजनीतिक संस्था गठन गर्ने अठोट गरी संस्थाको नाम नेपाल प्रजापरिषद् राख्ने र नेपालको स्वेच्छाचारी राणा शासनलाई समाप्त गरी श्री ५ महाराजधिराजको वैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने र सो कुरा लिखित रुपमा राख्ने भन्ने कुराको पनि निर्णय भयो। संस्थाको यो उद्देश्य प्राप्तिका लागि जे जस्तो त्याग बलिदान गर्न परे पनि हामी तयार छौँ भनी श्रीमद्भागवत गीता टाउकोमा राखी सबले प्रण गरे। त्यसपछि संस्थाको अध्यक्षमा टंकप्रसाद आचार्य, उपाध्यक्षमा दशरथ चन्द, सचिवमा रामहरि शर्मा र कोषाध्यक्षमा धर्मभक्त माथेमा छानिए।
त्यसपछि यी पाँचजनाले नेपालभित्र बाहिर आफ्ना नयाँ विचारमा नेपालमा वैधानिक सरकार गठन गर्ने सहमत हुने खालका समर्थकहरूको खोजी गर्न थाले। प्रजापरिषद्को संख्या पाँच बाट पच्चीस पुग्यो।
टंकप्रसाद र दशरथ चन्दहरू राणाविरोधी तत्त्वहरू भेट्न भारततिर लागे। कलकत्तामा उनिहरुको भेट जयपृथ्वीबहादुर सिंह, रामराजा र महेन्द्र विक्रम शाहसँग भयो। महेन्द्र विक्रम शाहले चन्दा स्वरुप दिएको भा.रु २०० ले टङ्क प्रसादले रोनियो कम्पनिको साइक्लोस्टाइल मेशिन, मसी र कागज किने। यो मेशिनलाई जसोतसो लुकाएर वनारस,भीमफेदी, चिसापानीको बाटो हुँदै टंकप्रसादले काठमाडौँ ल्याए।
राजा त्रिभुवनले धर्मभक्त बाहेक अरुलाई चिनेका थिएनन्। राजालाई मोटरमा हावा खाने प्रबन्ध मिलाई अन्य क्रान्तिकारीहरुलाई चिह्नाउने प्रबन्ध मिलाइयो। क्रान्तिकारीहरु सडकको विभिन्न ठाउँमा पुस्तक लिएर उभिएका थिए।
टङ्कप्रसादले भारतबाट खरिद गरि ल्याएको मेशिनमा उनैको हस्ताक्षर सहितको पर्चा छापिए। राणा विरुद्ध मुख फोर्न नसकेका कुरा ती पर्चामा खुलमखुल्ला लेखिएको हुन्थ्यो। १९९७ लाग्दा सम्म पनि राणाहरुलाई प्रजा परिषदको अस्तित्व र त्यो पर्चा छाप्ने मेशिनको बारेमा सुइँकोसम्म लागेन।
काठमाडौँमा हुने खाने कसको घरमा के तरकारी पाक्दछ, कसको जहान परिवारभित्र आपसी के कस्तो सम्बन्ध छ, उनीहरु के लाउँछन्,के खान्छन् कोसँग कस्तो सम्बन्ध छ, भनेजस्ता खबर राख्ने राणा प्रधानमन्त्रीले चार वर्षसम्म आफ्नै आँखाको सामुन्नेमा काठमाडौँ भित्र त्यत्रो षड्यन्त्र रचिंदा समेत अत्तोपत्तो पाएनन्। यतिबेला सम्म नेपाल प्रजापरिषदमा सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा सुधारवादी दृष्टिकोण राखी सक्रिय भाग लिने व्यक्ति, रक्तबीज दल ( राजा त्रिभुवनका नोकरान, ड्राइभर र अन्य विश्वास पात्रहरू) र नेपाली नागरिक अधिकार समितिहरु पनि मिल्न पुगी एक ठूलो सङ्गमजस्तै बनेको थियो।
३ . पक्राउ र मृत्युदण्ड
१९९७ साल आषाढ ९ पाटनमा भोटेजात्रा मनाउने क्रममा ठाउँठाउँमा पर्चाबाजी भयो। दशरथ चन्द स्वयंले क्षेत्रपाटीको पुलिसलाई आफ्नो हाकिमलाई दिनु भनी एक मुट्ठा पर्चा भिडाए। रामहरि शर्मा, जीवराज शर्मा, पुष्करनाथ उप्रेती, बलबहादुर पाँडे इत्यादिले ठाउँमा पर्चा छरेका थिए।
यति हुँदा सम्म पनि राणाहरुलाई प्रजा परिषदको सुइँको पाउन सकेनन्। र राणा सरकारले सुराकीलाई पाँच हजार रुपियाँ दिने घोषणा गर्यो र इस्तिहार अधिराज्यभर ठाउँठाउँमा टाँस्यो। अन्ततः शहीद शुक्रराज शास्त्रीका भाई ख. रामजीबाट प्रजापरिषदको भेद खुल्यो। बाघ हेर्न परे बिरालो हेर्नु र शत्रु हेर्न परे भाइ हेर्नु भन्ने पुरानो उखान चरितार्थ भयो। १९९७ साल कार्तिक २ गते धर्मभक्तको घरमा प्रजापरिषद्को अफिसमा सरकारले छापा मार्यो र उनी दसीसहित पक्रिए। त्यसपछि नेपालभर धरपकड सुरु भयो।
पर्चा तयार गर्ने लिथो मेशिन त्यस बेला बलबहादुर पाँडेको गाईगोठमा गाडिएको थियो। त्यहींबाट झिकेर सरकारले लग्यो।
दशरथ चन्द,गणेशमानसिंह, गङ्गालाल श्रेष्ठ, रामहरि शर्मा, जीवराज शर्मा, सिद्धिचरण श्रेष्ठ, चूडाप्रसाद ढुङ्गाना, चित्तधर तुलाधर, बलबहादुर पाँडे, चन्द्रमान माली, मरीचमान लगायत ८६ जना गिरफ्तार भए। टङ्कप्रसाद भने यस धरपकडको बेलामा बनारसमा थिए। मर्न लागेका बाबुको मुख हेर्न बनारस पुगेका टङ्कप्रसाद लाई जयनगर रेलवे स्टेशन बाट समातेर सिंहदरबार चलान गरियो। नेपालमा वैधानिक सरकार गठन गर्ने उद्देश्यले राणा सरकार विरुद्ध यसपटक जति धेरै जनता नेपालको इतिहासमा अघि पक्रिएका थिएनन्।
१९९७ साल माघ ६ गते सिंहदरबारमा धेरै केरकार, पिटपाट र सोधपुछपछि राजबन्दीको भाग्यको फैसला भयो। सबैभन्दा बढी खबरिया चन्द्रमान सैंजु कुटिए।
गल्ति स्वीकार गर्न कोहि पनि तयार नभएकाले पनि धेरैले सास्ती पाए। दशरथ चन्द, गंगालाल श्रेष्ठ, गणेशमान र टंकप्रसादहरू मरणासन्नहुने गरि पिटिदा पनि गल्ति मान्न तयार भएनन्, उल्टो राणाशासनलाई तिरस्कार र सराप गरे।
छोरी कुटेर बुहारी तर्साउनु भनेझैं, राजा त्रिभुवन र तीनै युवराज र अधिराजकुमारका सामुन्नेमा राजबन्दीहरुलाई सजाय सुनाइयो। राजा त्रिभुवन मोर्डनाइज गर्नुपर्दछ, कन्सिडरेशन हुनुपर्छ भन्दै गर्दा किराले हिरा बिगार्छ भन्दै जुद्ध शमशेर जङ्गिए। उनकै हुकुम बमोजिम मीरसुब्बा महेन्द्रबहादुर महतले सजायँ सुनाए - "दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीहरूलाई ज्यानको सजाय भयो। बाहुन भएको कारण टंकप्रसाद आचार्य र रामहरि शर्मा मारिएनन् तर चारपाटा मुडिई दामल गरिई आजीवन कैद र सर्वस्वहरण गर्ने फैसला भयो।" ४१ जना देशभक्त राति झ्यालखानातिर पठाइए, ३२ जना दण्डित भए र १२ जनाले सफाइ पाए।
आफ्नो भाषण सकेपछि जुद्ध शमशेरले शुक्रराज शास्त्रीलाई सबैलाई भाँड्ने नाईके तैं होस्, तलाई पल्टनले कुलचाएर मार्छु भनि भनेका थिए ("स्वर्गको दरबार" भन्ने पुस्तकको कारण)। १९९७ साल माघ ९ गते सबै भन्दा पहिला शुक्रराज शास्त्रीलाई टेकुमा झुण्ड्याएर मारियो। त्यसपछि ११ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याइयो। १४ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवती अगाडि गोली हानेर मारियो। गंगालाल श्रेष्ठ मृत्युदण्ड दिइने बेलामा मात्र २२ बर्षका थिए।
मारिनुभन्दा अगाडी शहिदहरुलाई आफ्नो परिवारसँग भेट्न दिइयो। सबैले हाँसीहाँसी परिवार भेटे।
(गंगालाल श्रेष्ठले हतकडी र जन्जिर सहित आफ्नो कान्छो भाई पुष्पलाल श्रेष्ठलाई भेटेका थिए। उनै पुष्पलालले पछि कम्युनिष्ट पार्टी खोली प्रजातन्त्र र समानताको लागि आवाज उठाए। उनको पार्टीले पनि राणाशासन हटाउन महत्वपूर्ण भूमिका खेलेको थियो।)
मृत्युदण्ड पछि शोभाभगवतीनिर लाश हेर्न जाने सबैजसो नरनारीले चुपचाप खल्लो हालेर घर फर्के। मनमनै रुँदै बदला लिने प्रण सहित उनिहरु फर्के। ९७ सालको यस घटनाले राणाशासन फाल्न महत्वपूर्ण भूमिका खेल्यो।
सम्पूर्ण क्रान्तिकारी शहीदहरूप्रति भावपूर्ण श्रद्धान्जली।
जय नेपाल, जय श्री पशुपतिनाथ।।
( जानकारी श्रोत: त्यस बखतको नेपाल भाग २/३ )
Post a Comment