ह्वेन त्साङ्ग को जन्म वि. सं ६५७ मा पूर्वी चीनको चिन्ल्यू प्रान्तमा भएको थियो। उनी चार जना भाइहरु मध्ये सबैभन्दा कान्छा थिए। उनी वि.सं ६८४ मा ताङ वंश को शासनकालमा गोवी मरुभुमी बाट मध्य एशिया, काशगर, समरकन्द, वल्ख र अफ्गानिस्तान हुँदै वि.सं ६८६ मा भारत छिरेका थिए। उनले भारतवर्ष को भ्रमण गर्नुको उद्देश्य बौद्ध धार्मिक स्थलहरुको यात्रा गर्नु र सक्कल बौद्ध धर्मग्रन्थ लाई चाईनिज मन्डारीनमा अनुवाद गर्नु थियो। उनले वि. सं ६८७ देखि वि.सं ७०२ अर्थात् सन् ६२९ देखि सन् ६४५ सम्म भारतवर्षमा विभिन्न स्थानहरुको भ्रमण गरेर भारतवर्षको आर्थिक, सामाजिक, धार्मिक र राजनितिक अवस्था बारे आफ्नो यात्रा वृत्तान्तमा लेखेका थिए। उनले भारतवर्ष को भ्रमण गर्दा भारतमा राजा हर्षवर्धन थिए भने नेपालमा राजा अंशुवर्मा थिए।
ह्वेन त्साङ्ग को नेपाल बारे वर्णन
"यो राज्यको क्षेत्रफल करिब ४,००० ली रहेको छ भने यसको अवस्थिती हिमालय पर्वत अन्तर्गत रहेको छ। राजधानी को क्षेत्रफल लगभग २० ली रहेको छ। (ली प्राचिन चिनियाँ मापन एकाई हो। अनुमानित, ५ ली= १ मील) सम्पूर्ण देश हिमाल र पहाडले भरिएको छ। यहाँ खाद्यान्न र फलफूल प्रचुर मात्रामा हुन्छ। तामा, चौंरी गाई र मिरिङ चरा प्रशस्त पाइन्छन्। व्यापारका निम्ति तामाका मुद्राहरु प्रचलनमा छन्। मौसम चिसो र ओसिलो छ भने यहाँका मानिसहरू असत्यवादी र बेईमान छन्। यिनीहरू को स्वाभाव कठोर र भयानक छ। यिनीहरू प्रतिष्ठा र सत्यको केही विचार गर्दैनन्। यहाँका मानिसहरू अशिक्षित छन् तर कलाकौशलमा भने निपूर्ण छन्। यिनीहरू को अनुहारमा कत्ति पनि आकर्षण छैन। हिन्दू र बौद्ध मिलिजुली बस्छन् भने बौद्ध मठ र हिन्दू मन्दिरहरु सँगै जोडिएका छन्। करिब २००० बौद्ध भिक्षुहरु यहाँ हीनयान र महायानको अध्ययन गर्छन्। यहाँ लिच्छवि कूल को राजा छन्। यिनको आचरण शुद्ध छ। उनी बौद्ध धर्ममा आस्था राख्छन्। उनको नाम अं-चु-फा-भो (अंशुवर्मन/ अंशुवर्मा) हो। यिनको कीर्ति टाढा टाढा फैलिएको छ। यिनले शब्दविद्या (व्याकरण) सम्बन्धित एक ग्रन्थ को पनि रचना गरेका छन्। यस राज्यको राजधानी बाट दक्षिण-पूर्वमा एउटा अग्नीकुण्ड (तेलको श्रोत) रहेको छ। आगो बाल्यो तुरुन्त बल्छ। केही कुरा त्यस अग्नीकुण्डमा हाल्यो भने त्यसको स्वरुप तुरुन्त बदलिन्छ।"
कैलाशकुट भवन बारे वर्णन।
कैलाशकुट भवन लिच्छविकालीन भव्य दरवार हो। यसको उल्लेख सन् ६०५ को बुङ्मती अभिलेखमा पनि गरिएको छ। ह्वेन त्साङ्ग ले आफ्नो यात्रा वृत्तान्तमा यस दरबार को खुलेर प्रशंसा गरेका छन्।
कैलाशकुट भवन हाल पृथ्वी को गर्भमा विलिन छ। यो सात तल्लाको थियो। करिब एक हजार चार सय वर्ष पुरानो यस दरबार बहुमुल्य पत्थरहरुको कलात्मकताले भरिपूर्ण थियो। यसको छानामा करिब दश हजार मान्छे अटाउने क्षमता थियो। पानीको छहरा यसको वैभव र प्रसिद्धि को मानक थियो। सातौं तलाबाट पानीको फोहरा तल झर्थ्यो। छानाबाट प्रत्येक तला हुँदै तल पोखरी सम्म बडो कलात्मक शैलीमा झर्थ्यो।
नालन्दा विश्वविद्यालयको वर्णन
नालन्दा विश्वविद्यालय प्राचिन भारतको उत्कृष्ट विश्वविद्यालय हो। यस विश्वविद्यालयमा अध्ययन गर्न टाढा टाढा बाट विद्यार्थी हरु आउने गर्थे। यहाँ महायान का साथै हीनयान बौद्ध धर्म र हिन्दू धर्म शास्त्रको अध्यापन हुन्थ्यो। वि.सं ४५० मा राजा कुमार गुप्तको पालामा यसको स्थापना भएको थियो। यहाँ तीन तलाको पुस्तकालय रहेको थियो। यसको अस्तित्व १२ औं शताब्दी सम्म रहेको थियो। वि. सं ७५७ साल ताका ह्वेन त्साङ्ग ले दुई वर्ष यहाँ बसेर बौद्ध धर्म र संस्कृत भाषाको अध्ययन गरे। भनिन्छ मुस्लिम शासक बख्तियार खिल्जीले यहाँको पुस्तकालयमा आगो लगाउन लगाएको थियो। करिब तीन महिनासम्म पुस्तकालयमा आगो लागेको थियो।
वि.सं ७०२ मा राजाको आज्ञा लिएर ह्वेन त्साङ्ग ले ६० वटा खच्चर मा करिब १००० बौद्ध र संस्कृत ग्रन्थ लिएर चीन फर्केका थिए। कयौं खच्चर चीनको सीक्याङ्ग नदीमा डुबे र पुस्तकहरु हराए। उनी ७०० पुस्तक चीन पुर्याउन सफल भए। उनले ख्रोतान भन्ने ठाउँमा भाषा विद्यालय को स्थापना पनि गरेका थिए।

निकै राम्रो लेख
ReplyDeletePost a Comment