सेप्टेम्बर १३, २०२२ मा बाईस वर्षिया ईरानी महिला महसा अमिनी आफ्नो गृहनगर बाट राजधानी तेहरान तर्फ जाँदै थिइन। बाटोमा गश्त-ए-इर्शाद (नैतिक प्रहरी) ले उनलाई गिरफ्तार गर्यो। कारण थियो उनको हिजाबले राम्रोसँग कपाल ढाकेको थिएन। उनलाई हिरासतमा सोधपुछ गर्न लगियो तर त्यही साँझ उनको मृत्यु भयो। प्रहरीका अनुसार सोधपुछका क्रममा हृदयघात भएर उनको मृत्यु भएको भनियो तर पछि पोष्टमार्टम रिपोर्ट अनुसार मृत्युको कारण टाउकोमा गम्भीर चोट देखियो। तीन दिनपछि (१६ सेप्टेम्बरमा) उनको मृत्यु को खबर बाहिरिना साथ ईरानको सडकमा इस्लामिक शरिया कानुन र सरकार विरोधी आन्दोलन चर्किएको छ। अहिले सम्म ३१ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १५०० जना भन्दा बढी पक्राउ परेका छन्। ईरानको तानाशाही सरकारले मानव अधिकार मात्र नभई निर्मम रुपमा आफ्नै जनताहरुको हत्या गरिरहेको छ।
गश्त-ए-इर्शाद ईरानको एक प्रहरी इकाई हो, जसको काम इरानका सडकमा महिलाहरुले उचित कपडा लगाएको अथवा नलगाएको हेर्ने र उनिहरुका अनुसार महिलाहरुको आचरण खराब लागेमा गिरफ्तार गर्ने हो। ईरानमा महिलाहरुलाई ईस्लामिक शरिया कानुन अनुसार को हिजाब र खुकुलो लुगा (बुर्खा) लगाउन बाध्य पारिन्छ। महिलाहरुले उचित कपडा लगाएनन् भने पुरुषहरु उत्तेजित हुन्छन् र महिलाहरुलाई हानी गर्छन् भन्ने उनिहरुको मान्यता छ।
ईरानमा विश्वविद्यालय देखि सरकारी कार्यालयहरुमा आफ्नै ड्रेस कोड रहेको छ। जसमा महिलाहरुलाई हिजाब अनिवार्य छ।यहाँ सम्म कि विदेशी महिला नेतृहरुले ईरानी राष्ट्रपति अथवा सर्वोच्च नेता लाई भेट्नु परेमा अनिवार्य हिजाब लगाउनु पर्छ।
सन् १९७९ मा ईरानमा इस्लामिक क्रान्ति भएको थियो। त्यसपछि ईरानमा राजतन्त्र हटेर इस्लामिक गणतन्त्र स्थापना भयो। शाह (राजा) मोहम्मद रेजा पह्लवी सत्ताच्युत भए र क्रान्ति को नेतृत्व गरेका धार्मिक गुरु रुहोल्लाह खोमानीले सत्ता हत्याए। त्यसपछि सन् १९८१ मा हिजाब सम्बधी कानुन पास भयो। इस्लामिक दण्ड संहिताको धारा ६३८ अनुसार सार्वजनिक स्थानहरु जस्तै सडक, मल आदि ठाउँहरुमा महिलाहरु बिना हिजाबमा देखिए त्यो कानुनी रुपमा दण्डनिय हुन्छ। सन् १९७८ अगाडि को ईरानी सरकार महिला अधिकार लाई लिएर उदारवादी थियो। तर इस्लामिक क्रान्ति पछि ईरानले महिलाहरुलाई फुटबल स्टेडियममा जान पनि प्रतिबन्ध लगाएको थियो, जुन प्रतिबन्ध फिफा को दबाबमा यहि वर्ष ईरानले हटाएको छ।
ईरानी जनताहरु यो घटनाबाट मात्र नभई अन्य कुराहरू बाट पनि सरकारसँग असन्तुष्ट छन्। ईरानको आणविक हतियार बनाउने जिद्दी का कारण यो देश माथि विभिन्न प्रतिबन्धहरु लागेका छन्। जसका कारण मुद्रास्फीति दर ५०% भन्दा बढी छ। ईरानको तेलमा प्रतिबन्ध छ। मौद्रिक शुद्धीकरण र आतंकवादलाई आर्थिक सहयोग माथि निगरानी गर्ने संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) ले ईरानलाई कालोसूचीमा राखेको छ। प्यालेस्टाइनसँग आवद्ध आतंकवादी समूह हमासलाई आर्थिक सहयोग गरेका कारण ईरान यो सूचीमा परेको हो।
२१ औं शताब्दीमा पनि अति सामान्य अधिकारका लागि ईरानी महिलाहरु लडिरहेका छन्। जसका कारण ईरानमा फेरि सत्ता परिवर्तन भएर नयाँ क्रान्ति नहोला भन्न सकिदैन।
Was a good read
ReplyDeletePost a Comment