ईन्द्रजात्रा, कुमारी र छायाँमा परेका भैरव एवम् गणेश।



येँया अर्थात ईन्द्रजात्रा, नेपाल मण्डलमा मनाइने अनेकौं जात्राहरु मध्यको एक महत्वपूर्ण जात्रा‌ हो। भाद्र शुक्ल द्वादशी देखि आश्विन कृष्ण चौथी तिथि सम्म येँया (ईन्द्रजात्रा) मनाइने गरिन्छ। लिच्छविकालीन राजा गुणकामदेव ले सुरु गरेको यस जात्रा हनुमान ढोकाको काल भैरव अगाडि य:सिँ ठडाइएपछि सुुरु हुन्छ।

भक्तपुरबाट सल्लाको य:सिँ य:सिंगुँ नामक जंगलबाट विधिवत् पूजा गरी मानन्धरहरुले ल्याउछन्। पहिला बोकालाई अय्ला खुवाएर छोडेर जुन रुखमा छुन्थ्यो त्यही रुखलाई य:सिंका रुपमा काटेर ल्याउने गरिन्थ्यो। तर, अहिले भने मानन्धर समुदायबाट य: सिंगुँ पुगेर पूजा गरी‌ रुख काट्ने ल्याउने गरिन्छ। भाद्र शुक्ल द्वादशीका दिन यहि य:सिँ लाई काल भैरव अगाडि ठड्याइन्छ। नेपाली भाषामा य:सिँ लाई लिङ्गो पनि भनिन्छ। यसरी लिङ्गो ठड्याउने प्रचलन चाँही राजा प्रताप सिंह शाहको पालादेखि सुरु भएको मानिन्छ।

आमाको व्रतको लागि पारिजातको फूल लिन पृथ्वी लोकमा आएका देवराज इन्द्रले मालिकलाई नसोधी फूल टिपेको आरोपमा उनलाई समातेर डोरीले बाँधेर सबैलाई देखाएको संकेतका रुपमा ईन्द्रजात्रा मनाइने गरिएको किंवदन्ती रहेको छ। पछि ईन्द्रकी आमा बसुन्धरा काठमाडौंमा आएर ईन्द्रको खोजी गरिन्। यस घटनाई जात्रामा "दागीं" को रुपमा देखाइन्छ। ईन्द्र को वहान हात्ती पनि आफ्नो मालिकको खोजि गर्दै काठमाडौंमा आउँछ।‌ यसलाई जात्रामा "पुलु: किसि:" को रुपमा देखाइन्छ। आश्विन कृष्ण चतुर्दशी को दिन ईन्द्रजात्रा को अन्तिम दिन हो। यसलाई नानीचाया: भनिन्छ।

ईन्द्रजात्राको पहिलो दिन क्व: नेया (तल्लो टोलमा) जीवित देवी कुमारी एवम् जीवित देवहरु भैरव र गणेशको रथयात्रा हुन्छ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ। बहुमत (बौ:मत:) भनी बाँसमा मिलाएर लहरै बत्ती बालेर बनाएको एक किसिमको बत्तिलाई नगर घुमाउने गरिन्छ। यसलाई दागिंले बाटोमा कोहि छुटेको छ कि, अलपत्र भएको छ कि भनि फेरि हेर्न पठाएको भन्ने जनविश्वास रहि आएको पाइन्छ।

येँया पर्वमा किलागलबाट दि प्याखँ (देवी नाच), हलचोकबाट सवभकु (हलचोक आकाश भैरव नाच) र भक्तपुरबाट महाकाली नाच पनि प्रदर्शन गर्ने गरिन्छ।यसै बेला वसन्तपुरको त्रैलोक्य नारायण मन्दिरको डबलीमा विष्णुको दशावतार पनि देखाउने गरिन्छ। साथै यसै बेला श्री आकाश भैरव र बाकादेय् आजुलाई मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ। हनुमानढोकामा पनि वर्षभरी प्राय: बन्द रहने श्वेत भैरवको सबै आँखीझ्याल निकाली विशाल मुर्ती सर्वसाधारणलाई दर्शनको लागि खुला गरिन्छ। येँयाको यहि अवसरमा हाथा हायेकेगु भनी आकाश भैरव तथा श्वेत भैरवको मुखमा जडिएको नलिबाट जाँड तथा रस्सी बगाउने गरिन्छ भने यसलाई प्रसादको रुपमा ग्रहण गरिन्छ। येँया पुन्हिको रात भने घरघर तथा बहालमा गइ लोकभाकामा गीत गाउँदै समयबजी माग्ने चलन रहि आएको छ तर हाल भने यो प्रचलन लोप हुने अवस्थामा रहेको पाइन्छ।

मजिपा लाखे आजु र झ्यालिंचा :
येँया पर्वको अवधी भरी काठमाडौमा प्रख्यात मजिपा लाखे नचाउने गरिन्छ। मजिपा लाखेलाई शान्त भैरवको रुपमा पनि पुज्ने गरिन्छ भने मजिपा टोलको लाखे ननिमा लाखे आजुको घर रहेको छ। नेपाल संवतको यँला महिनामा निस्किने एक मात्र लाखे भएकोले यँला लाखेको नामले पनि चिनिन्छ। प्रचलित किंवदन्ती अनुसार लाखे आजु, एक राक्षस थिए र उनी श्री तलेजु भवानीसँगै काठमाडौ आएका थिए। रातो कपाल भएको, ठूला ठूला आँखा, रातो अनुहार, दाह्रा भएको, ठूलो शरीर भएको, कम्मरमा घंगला बाँधेको हेर्दै डरलाग्दो रुपमा रहेको लाखे श्री तलेजु भवानीको सुरक्षार्थका निम्ति सँगै आएका थिए। आफ्नो भोजनमा अण्डा र मासु असाध्यै मनपराउने र नभइ नहुने भएका उनलाई मानिसले राक्षस भन्दा रिसाउने डरले ला (मासु),खें (अण्डा) भनी लाखे नाम दिए। मजिपा लाखे आजुलाई इन्द्रजात्रा बेलामा नै निकालिने भएता पनि लाखेको इन्द्रजात्रासँग कुनै सम्बन्ध रहेको पाइन्न, संयोगले तिथि त्यही बेला परेको मानिन्छ।

लाखे आजुलाई सबैभन्दा पहिला उपाकु जाने दिन निकाल्ने गरिन्छ। दोबाटो तथा चौबाटोमा बसिरहेका भूतप्रेत, पिसाचहरुले बत्ती बाल्न हिँडेका मृतकका परिवारलाई दु:ख देलान् कि भनी बाजाको तालमा घंघलाको आवाज निकाल्दै लाखे आजु पनि उपाकु जानेहरुसँगै नगर परिक्रमा गर्ने गर्दछन्। यसरी परिक्रमा गरिसकेपछी अन्तिममा ज्यापू समुदायका गुठियारहरुले पानी पिलाएपछी लाखे आजुलाई घरमा भित्र्याउने चलन रहेको छ। कथन अनुसार कुनै समय श्री लाखे आजुलाई ज्यापू समुदायले संचालन गर्दथे र तकती अजिमाको जात्रा रञ्जितकार समुदायले संचालन गर्दथे तर कुनै कालखण्डमा यी दुई समुदायका गुठियारहरु बीच साटासाट भएको थियो। यसैको प्रमाणको रुपमा लाखे आजुलाई ज्यापू गुठियारहरुले पानी पिलाएपछी मात्र भित्र्याउने चलन रहेको छ भने पाहाँचर्हे बेला तकती अजिमाको जात्रा हुँदा यी दुई गुठियारहरुबीच चिलाग साट्ने परम्परा रहि आएको छ। हाल भने मजिपा टोलमा ज्यापू समुदायका मानिसहरुको बसोबास कम हुँदै गएकोले लाखे आजुलाई पानी पिलाउने परम्परा लोप हुँदै गएको छ।

लाखे आजुलाई नगर प्रवेश गराउँदा बालबच्चा नखाने, दु:ख कष्ट नदिने र लोकको कल्याण गर्ने भनी बाचा बाँधी तान्त्रिक विधिबाट प्रवेश गराएको मानिन्छ। एकपल्ट यहाँका मानिसले लाखेले आफ्नो वचन कत्तिको निभाउँछ भनी हेर्न लाखे आजु सुतिरहेको एक झेल्ला बच्चालाई जिस्क्याउन पठाउँछ। आफू निन्द्राबाट बिउँझिदा आफूलाई एक सानो बालकले गिज्याइरहेको देखेर लाखे आजुलाई साह्रै रिस उठ्छ तर पनि त्यस बालकलाई केही हानी नगरी खेदेर पठाउँछ। यो देखेर लोकले लाखे आजुलाई शान्त भैरवको रुपमा पुजेको किंवदन्ती रहेको पाइन्छ। हाल पनि लाखे आजुको अगाडि एउटा सानो बालकलाई झ्यालिंचाको रुपमा प्रस्तुत गरि रमाइलो नाच नचाउने गरिन्छ।

वसन्तपुर बाट मरु - चिकंमुगल - जैसीदेवल - लगन - ब्रह्मटोल - ह्युमत - क्वाहिटि - भीमसेनस्थान - मरु हुँदै पुन: वसन्तपुरमा आएपछि य:सिँ ढलाएर विधिपूर्वक येँया (ईन्द्रजात्रा) को समापन गरिन्छ।


जीवित देवदेवीहरू:

कुमारी लाई‌ जीवित देवी मानिन्छ। तर निकै कम मानिसहरु मात्र यो थाहा होला कि उपत्यकामा जीवित देवी सँगसँगै जीवित देवहरु भैरव र गणेश पनि छन् भनेर। कुमारी को छायाँमा परेका भैरव र गणेशको त्यती खोजी भएको पाइदैन। ईन्द्रजात्रामा कुमारी सँगै भैरव र गणेशको पनि रथयात्रा गरिन्छ।
भैरव शिव गणका पार्वती अनुयायी हुन्। शिवको पाँचौ अवतार भैरवनाथ हुन्। भैरवलाई शिवजीको डरलाग्दो स्वरुप मानिन्छ।‌ हनुमान ढोकामा रहेका श्वेत भैरव र काल भैरव, ईन्द्रचोकमा रहेका आकाश भैरव, आदि शिवजीका भैरव स्वरुपहरु हुन्। काल भैरवलाई रुद्रावतार पनि भनिन्छ।

जीवित देवता भैरवलाई देशको रक्षकको रुपमा मानिन्छ। भैरव ले घरमा बस्दा पनि जामा जस्तै लुगा लगाउन पर्छ। कपाल काट्नु हुदैन, जटा बनाएर राख्नु पर्ने हुन्छ। भैरव बनिसकेपछि खोला नागेर बाहिर जान पाइदैन। कसैको जुठो खानु पनि हुदैन। त्यसैले छोइछिटो हुन सक्ने भएर भैरव बालक हरु भोजभतेरमा सामेल हुदैनन्। भैरव बन्न पनि कुमारी बन्न जस्तै केही प्रकिया पुर्याउनु पर्छ। गुभाजुले कुण्डली हरेर योग्य ठानिएको बालक नै भैरव बन्न पाउँछन्। भैरव बालक काठमाडौंको शाक्य खानदानको हुनुपर्छ।

शाक्य खानदान बाट बिहे गरेर अर्को खानदानमा गएकालाई भैरव बन्न योग्य मानिदैन। साथै काठमाडौंको शाक्यले भक्तपुर र ललितपुरको शाक्य परिवारसँग विहे गरेर जन्माएको बच्चा पनि भैरव भन्न पाउँदैनन्। घाउचोट लागेको बच्चा भैरव बन्न योग्य मानिदैनन्।

भैरव परिवारलाई गुथीले वर्षको ७ मुरी धान दिन्छ। भैरवको परिवार भएको नाताले पुरै वस्तीमा भोज दिनुपर्ने चलन रहेको छ। पहिले छानिएका गणेश र भैरव रथमा नअट्ने बेलासम्म पुजिन्छन्।

त्यसपछि नयाँ भैरव र गणेशको छनोट हुन्छ। नेपाल सरकारले जीवित देवी कुमारी जस्तै जीवित देवहरु भैरव र गणेशको प्रचार, संरक्षणमा काम गर्नुका साथै र उनीहरूको परिवारलाई पनि सहयोग गर्नुपर्छ।

1 Comments

Post a Comment

Previous Post Next Post