खालिस्तान
आन्दोलन भारतको पञ्जाब क्षेत्रमा एक स्वतन्त्र देश स्थापनाको माग गर्ने एक
पृथकतावादी आन्दोलन हो। ऐतिहासिक सिख साम्राज्य लाई एक स्वतन्त्र राज्यको रुपमा
स्थापना गर्नु यस आन्दोलनको उद्देश्य हो। यसका लागि सन् १९८० को दशकदेखि विभिन्न
सङ्गठनहरु सक्रिय छन्। खालिस्तानको अर्थ हुन्छ “पवित्र भूमि”। यो क्षेत्र सिख धर्मावलम्बीहरुका लागि अत्यन्तै पवित्र भूमि हो। सन्
१७९९ मा राजा रणजित सिहंले सिख मिस्लहरुको एकिकरण गरी ऐतिहासिक सिख साम्राज्यको
स्थापना गरेका थिए। यो साम्राज्य सन् १८४९ सम्म अस्तित्वमा रहेको थियो र यसको
राजधानी लाहोर रहेको थियो। अङ्ग्रेजहरुसँग युद्धमा पराजित भएपछि यो क्षेत्र इष्ट
इन्डिया कम्पनी को अधीनमा आयो।
पञ्जाब शब्द दुई शब्दहरु “पञ्ज” र “जाब” मिलेर बनेको छ। जसको अर्थ हुन्छ पाँच नदिहरुको क्षेत्र। पञ्जाब मा रहेका पाँच नदिहरू, सतलज, व्यास, रवि, चेनाब र झेलुम हुन्, जसमध्ये चेनाब र झेलुम पाकिस्तान स्थित पञ्जाबमा अवस्थित छन्। यस क्षेत्रमा बहुसंख्यक सिख धर्मावलम्बीहरु रहेका छन् भने यहाँ पञ्जाबी भाषा बोलिन्छ। ऐतिहासिक सिख साम्राज्य उत्तरमा कश्मिर देखि दक्षिणमा सिन्ध र पूर्वमा तिब्बत देखि पश्चिममा खैबर घाटी (हाल पाकिस्तान) सम्म फैलिएको थियो। तर सन् १९४७ मा भारत र पाकिस्तान को विभाजन भएपछि सिखहरुको पवित्र भूमि पञ्जाब दुई भागमा विभाजन भयो। पाकिस्तान स्थित पञ्जाब लाई पश्चिम पञ्जाब भनियो, भने भारत स्थित पञ्जाब लाई पूर्वी पञ्जाब भनियो। भारतमा राज्यहरु भाषाको आधारमा विभाजित छन्। सन् १९६६ र १९७१ मा गरी पञ्जाब पुन: दुईपटक टुक्रियो। सन् १९६६ मा पूर्वी पञ्जाब बाट छुट्टिएर हरियाणा राज्यको स्थापना भयो भने सन् १९७१ मा पञ्जाब बाट छुट्टिएर हिमाचल प्रदेशको स्थापना भयो।
खालिस्तान
आन्दोलन- समयरेखा
पृष्ठभूमि
सन् १९२० मा अकाली दलको स्थापना भयो। अकाली दल भारतीय मुलधारको राजनितीमा रहेर सिख र पञ्जाब को मागहरुलाई उठाउने काम गर्थ्यो। यही क्रममा सन् १९७३ मा आनन्दपुर साहिब प्रस्ताव पास भयो। यो प्रस्तावमा पञ्जाबमा रक्षा, विदेश नीति, मुद्रा र सञ्चार बाहेक अरु विषयमा राज्यको सतप्रतिशत अधिकार रहने, चण्डीगढ केवल पञ्जाब को मात्र राजधानी हुने, पञ्जाबी भाषी रहेको क्षेत्र पुन: पञ्जाबमा सामेल गराइने, पञ्जाबको जलश्रोत मा केवल पञ्जाब राज्यको अधिकार रहने, र भारतीय फौजमा सिखहरुलाई लगाइएको सिमा हटाइने भनेर सुझाव दिइएको थियो। तर यो प्रस्तावको खासै सम्बोधन भएन। सन् १९७७ मा भारतमा चुनाव भयो। अकाली दलले चुनाव जित्यो र प्रकाश सिंह बादल मुख्यमन्त्री बने।
जर्नेल सिंह भिंडरावाले को उदय
जर्नेल सिंह भिंडरावाले सिख धर्मगुरु थिए। उनलाई सन्त सिपाही को उपनाम पनि दिइएको थियो। सुरुवाती समयमा उनी आनन्दपुर प्रस्ताव सम्बोधन हुनुपर्ने आवाज उठाउने गर्थे। तर पछि उनको आन्दोलनले उग्ररुप लिएपछि खालिस्तान आन्दोलन सुरु भयो, जसका कारण हजारौं मानिसहरूले ज्यान गुमाउनु पर्यो। भिंडरावाले निरंकारी सिखको विरोध गर्थे। निरंकारी सिख हरु दशौं गुरु बाहेक पनि थप जीवीत गुरु हरु हुन सक्छन भने मान्यता राख्ने सिखहरुको एक सम्प्रदाय हो। भिंडरावाले समर्थक हरुले ठाउँ ठाउँमा निरंकारी सिख हरुको हत्या गर्न थालेका थिए। पञ्जाबमा अकाली दलको सरकार ढलाउन काङ्ग्रेस नेताहरु ज्ञानी जैल सिंह र इन्दिरा गान्धीका छोरा सञ्जय गान्धीले भिंडरावालेलाई आर्थिक सहयोग गर्ने गर्थे। सन् १९८० मा चुनाव भयो। पञ्जाबमा काङ्ग्रेस विजयी भयो। दरबारा सिंह पञ्जाब का मुख्यमन्त्री बने। उनी पनि एक निरंकारी सिख थिए। त्यसैले उनलाई भिंडरावालेको गतिविधि हरु मन परेको थिएन। सन् १९८० मै निरंकारी सिख धर्मगुरुको हत्या गरियो। सिख विरोधी लेख लेखेका कारण एक पत्रकारको हत्या गरियो। यही हत्याको अभियोगमा जर्नेल सिंह भिंडरावाले गिरफ्तार भयो। केही दिनपछि रिहा पनि भयो। यही गिरफ्तार पछि ऊ पुरै भारतमा प्रख्यात भयो। सन् १९८२ मा अकाली दल भिंडरावाले सँग मिल्न पुग्यो। यही वर्ष दिल्लीमा एशियन गेम्स आयोजना भएको थियो। पञ्जाबमा चलेको गतिबिधिका कारण त्यो क्षेत्रबाट आउने हरेक व्यक्तिहरुको अपमानजनक ढंगले सुरक्षा जाँच गरिन्थ्यो। यसै क्रममा भारतीय आर्मीका अवकाश प्राप्त मेजर जनरल सहबाज सिंह को पनि सुरक्षा जाँच गरियो। यी तिनै व्यक्ति थिए जसले १९७१ मा बंगलादेश को मुक्ति वाहिनी लाई सैन्य प्रशिक्षण दिएका थिए। यस घटनाबाट उनले अपमान महसुस गरे। उनले पछि भिंडरावालेका लडाकुलाई सैन्य प्रशिक्षण दिएका थिए। सन् १९८३ मा पञ्जाबमा ६ हिन्दुहरुको हत्या गरियो। यस घटनापछि पञ्जाबमा राष्ट्रपति शासन लागु गरियो।
अपरेशन ब्लू स्टार
गुरु नानक देव गुरुले सिख धर्मको सुरुवात गर्नुभयो। उहाँ प्रथम गुरु हुनुहुन्छ। यस्तै चौथो गुरु राम दास ले अमृतसर सहर को स्थापना गर्नुभयो। यसै सहरमा अवस्थित छ स्वर्ण मन्दिर जसलाई हर्मिन्दर सिंह साहिब पनि भनिन्छ। यो मन्दिरको निर्माण गुरु अर्जन सिंह ले गर्नुभएको थियो। यसै मन्दिरमा अवस्थित छ “अकाल तख्त”। अकाल तख्त सिख धर्मगुरु बस्ने पवित्र आसन हो। स्वर्ण मन्दिरमा जर्नेल सिंह भिंडरावाले ले हतियार लुकाएर राखेको थियो। यहीँ मन्दिर भित्रै उसले लडाकुहरुलाई प्रशिक्षण दिन्थ्यो। पञ्जाबमा स्थिति खराब देखेपछि विखण्डनकारी भिंडरावालेसँग प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरिन। अकाली दल वार्ताका लागि तयार भयो तर भिंडरावाले वार्ता गर्न तयार भएन। उसले युद्ध गर्ने मनस्थिति बनाइसकेको थियो। १ जुन १९८४ मा पञ्जाबमा कर्फ्यु लगाइयो। सञ्चार माध्यमहरु बन्द गरियो र सबै पत्रकारहरुलाई पञ्जाबबाट बाहिर लगियो। ३ देखि ६ जुन १९८४ सम्म भारतिय आर्मीले अपरेशन ब्लू स्टार चलायो, जसको उद्देश्य अकाल तख्त भित्र लुकेर बसेका भिंडरावालेको नेतृत्वमा रहेका लडाकुलाई नियन्त्रणमा लिनु थियो। ३ जुन गुरु अर्जन सिंह शहिद भएको दिन भएकाले स्वर्ण मन्दिरमा अरुदिन भन्दा बढी दर्शनार्थी हरु थिए। लडाकुहरुले यीनैलाई ढाल बनाएका थिए। ५ जुनमा मुख्य लडाईं भयो। लडाकुलाई कमजोर ठानेर सोझै आक्रमण गरेका भारतीय आर्मीहरु धेरै हताहत भए। रकेट लन्चर, एन्टी ट्याङ्क बन्दुक, स्नाईपर र मसिन गन सहित सुसज्जित भएका सिख लडाकुलाई सजिलै नियन्त्रणमा लिन भारतीय आर्मीलाई हम्मे हम्मे पर्यो। भोलीपल्ट (६ जुन) मा भारतिय आर्मीले ट्याङ्क लिएर अकाल तख्तमा प्रवेश गर्यो। जसका कारण अकाल तख्त र नजिकै रहेको सिख पुस्तकालयमा निकै नोक्सान पुग्यो। स्वर्ण मन्दिरमा सुरुमा आक्रमण नगर्ने भनेको भए पनि केही गोलीका निसान भेटिए। यसरी सिख पवित्र तीर्थस्थल मा भएको युद्धले विश्वभरका सिख धर्मावलम्बीहरुको धार्मिक आस्थामा चोट पुग्यो। ८३ जना आर्मीले शहादत प्राप्त गरे, भने २४८ जना आर्मी घाइते भए। लडाकुहरुको तर्फबाट ५०० लडाकुहरु मारिए।
अपरेशन ब्लू स्टारको नतिजा
सिखहरुको धार्मिक आस्थामा चोट
पुग्नु स्वभाविक थियो। अपरेशनको पाँच महिना पछि सन् १९८४ अक्टोबर ३१ मा
प्रधानमन्त्री ईन्दिरा गान्धी को सिख अङ्गरक्षकहरुले गोली हानी हत्या गरिदिए। अकाल
तख्तबाट भारी मात्रामा हतियारहरू बरामद भए। ईन्दिरा गान्धी को हत्यापछि दिल्लीमा
सिख विरोधी हिंसा बढ्यो। करिब तीन हजार सिखहरुको हत्या गरियो। सन् १९८५ मा एयर
इण्डियाको जहाज "कनिस्क" मोन्टेरियल बाट दिल्लीको लागि उडेको थियो। यस
जहाजमा मुख्यतः हिन्दु यात्री रहेका थिए। यो विमानमा बम विष्फोट गराइयो, जसमा ३३० जनाले ज्यान गुमाए। पञ्जाबमा हिन्दु बिरोधी हिंसा भड्कियो।
भिंडरावालेका समर्थकहरु अझै बाँकी रहेकाले आर्मीले १९८६ र १९८८ मा अपरेशन “ब्ल्याक थन्डर” १ र २ चलायो। सन् १९९२ सम्म
राष्ट्रपति शासन लागु थियो। सन् १९९२ मा पाकिस्तान समर्थन प्राप्त आतंकवाद समुह “बाबर खाल्सा” ले पुन: हिंसा बढाउन थाल्यो। तर अपरेशन
वुडरोज पछि बाबर खाल्सा पनि नियन्त्रणमा आयो।
यसरी एक पृथकतावादी आन्दोलनलाई भारतले दबाउन सफल भयो, जसको लागि भारतीय हरुलाई चर्को मुल्य चुकाउन पर्यो। अझै पनि पञ्जाबमा खालिस्तानको लागि आवाज नउठ्ने होइन, तर आवाज भारतमा उठे पनि त्यस्को नेतृत्व भने पश्चिमा देशहरुबाट हुन्छ। अहिले पनि एक सिख “अमृतपाल सिंह” चर्चामा छन्। उनको विखण्डनकारी सोच, र भिंडरावालेको झल्को दिने उनको पोशाक र गतिविधिहरुका कारण भारत सरकार र गुप्तचर संस्था फेरी खालिस्तानी समर्थक तर्फ चनाखो भएको छ।
Post a Comment