राष्ट्रिय झण्डा: ईतिहास, अर्थ र गणित।



हरेक देशका आ-आफ्नै राष्ट्रिय झण्डा हुन्छन्। राष्ट्रिय झण्डा देशको स्वाभिमान र सार्वभौमसत्ता को प्रतीक हो।‌ यसले कुनै पनि देशको ईतिहास, संस्कृति, भूगोल लगायतका पहिचानको प्रतिनिधित्व गर्छ। देशको पहिचान बोक्ने राष्ट्रिय झण्डाहरुलाई विभिन्न नामहरु पनि दिइने गरिन्छ।‌ जस्तो अमेरिकाको झण्डालाई वोल्ड‌ ग्लोरी (Old Glory), बेलायतको झण्डालाई युनियन ज्याक (Union Jack), भारतको झण्डालाई तिरंगा, चिनको झण्डालाई वुसिङ्ग होङ्गची (wu xing hong qi) भनिन्छ भने हाम्रो देश नेपालको शान हाम्रो राष्ट्रिय झण्डालाई जङ्गी निशान भनिन्छ। डेनमार्कको राष्ट्रिय झण्डा ड्यानिव्रग (Dannebrog) लाई विश्वको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा मानिन्छ।

नेपाली राष्ट्रिय झण्डाको ईतिहास अत्यन्तै पुरानो छ। पूर्वीय सभ्यतामा झण्डाहरु प्राय त्रिकोणात्मक रहने प्रचलन छ। किँरात, शिख, मराठा, गोरखा आदि शासकहरुले आफ्नो शासनकालमा त्रिकोणात्मक ध्वजा नै प्रयोग गर्ने गरेको ईतिहास छ। नेपालको झण्डाको वर्तमान स्वरुप लिच्छविकालीन समयदेखी प्रचलनमा रहेको छ। लिच्छविकाल पछि मल्लहरु हुँदै शाहवंश सम्म आईपुग्दा यही आकारको झण्डा प्रयोग भएको पाईन्छ। रातो झण्डामा निलो किनारा र चन्द्र सुर्य अंकित झण्डा भने नेपाल एकिकरणका नायक श्री ५ पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि प्रचलनमा आएको हो। शाहवंश, राणाकाल हुँदै प्रजातन्त्र र पञ्चायतका केही वर्षसम्म पनि राष्ट्रिय झण्डाका रुपमा यही मुखाकृति भएको चन्द्र सुर्य अंकित झण्डाको प्रयोग हुने गर्थ्यो।

राष्ट्रिय झण्डाको वर्तमान स्वरुप।
विश्व जगतमा अलग पहिचान बोकेको नेपाली राष्ट्रिय झण्डाको डिजाइनर ई. शंकरनाथ रिमाल हुन। शहिद गेटको डिजाइन बाट प्रभावित भएका राजा महेन्द्रले यहि शहिद गेटका डिजाइनर ईन्जिनियर रिमाललाई राष्ट्रिय झण्डा डिजाइनको जिम्मेवारी दिएका थिए। हालको झण्डा वि. सं २०१९ पौष १ गतेबाट प्रचलनमा आएको हो। यो झण्डालाई सबैभन्दा पहिले नेपालको संविधान २०१९ ले मान्यता दिएको थियो। त्यहाँ भन्दा पहिले राष्ट्रिय झण्डाको रुपमा प्रयोग गरिएता पनि संविधानले त्यसलाई मान्यता दिएको थिएन। झण्डामा एकरुपता थिएन। कतै चन्द्रमा माथि हुन्थ्यो त कतै सुर्य माथि। त्रिभुजमा पनि एकरुपता थिएन। कसैले माथिल्लो त्रिभुज ठुलो बनाउँथे त कसैले तलको त्रिभुज ठुलो बनाउँथे। झण्डाको लम्बाई, चौडाई र उचाइमा पनि एकरुपता थिएन। संविधानले मान्यता नदिएपनि मनलाग्दो ढङ्गले झण्डा तयार गरी सरकारी कार्यालयहरुमा राखिन्थ्यो। राष्ट्रिय झण्डा लाई मापदण्ड अनुसार बनाउने काम भने २०१९ साल बाट भएको हो। झण्डालाई अङ्ग्रेजी भाषामा स्ट्यान्डर्ड (standard) भनिन्छ, जसको अर्थ नै मापदण्ड अथवा प्रामाणिक मान भन्ने हुन्छ।

झण्डाको डिजाइन
झण्डामा प्रयोग हुने त्रिभुज शास्त्रीय मान्यता अनुसार बनाइएको छ। यो त्रिभुज शास्त्रमा उल्लेखित अनन्त अनुपात मा बनाईन्छ। ३,४ र ५ को अनुपातलाई अनन्त अनुपात भनिन्छ। लम्बाई, चौडाई र उचाईको अनुपात यहि अनन्त अनुपात मा रहन्छ। राष्ट्रको अस्तित्व अनन्त कालसम्म रहिरहोस् भन्ने सबैको चाहना रहन्छ, त्यसको प्रतिक अनन्त अनुपात हो। यहि अनुपातमा पाईथागोरसको शुत्र प्रयोग गरी त्रिभुजको डिजाइन गरिन्छ।

सुर्य र चन्द्रमा
संसारका हरेक धर्ममा‌ सुर्य त चन्द्रमाको आ-आफ्नै महत्व रहेको छ। यस्तै नेपालका दुई प्रमुख धर्महरु, हिन्दू र बौद्ध धर्ममा पनि सुर्य र चन्द्रमाको महत्व रहेको छ। हाम्रो झण्डामा अंकित सुर्य र चन्द्रमा दुवै धर्मलाई समेटेर राखिएको हो। बौद्ध धर्म अनुसार चन्द्रमा लाई करुणा र प्रेमको प्रतीक मानिन्छ, भने सुर्यलाई प्रज्ञाको प्रतीक मानिन्छ। चन्द्रमाले शीतलता र बौद्धिकताको प्रतिनिधित्व गर्छ भने सुर्यले शक्ति अथवा प्रचण्डताको प्रतिनिधित्व गर्छ। झण्डामा चन्द्रमा माथि र सुर्य तल राख्नुको कारण पनि शक्ति भन्दा माथि करुणा र बुद्धि लाई राख्नु हो। बिना विवेक शक्ति मात्र भयो भने पनि पतन हुन्छ र अनन्त कालसम्म अस्तित्व रहदैन भन्ने बुझिन्छ।
चन्द्रमामा आठ वटा र सुर्यमा बाह्र कोण हुन्छन्। चन्द्रमाका सोह्र कला हुन्छन्। औंसीको निस्पट्ट कालो चन्द्रमा देखी पूर्णिमाको पूर्ण चन्द्रसम्म सोह्र कला रहेको हुन्छ। झण्डाको अर्ध चन्द्रमामा आठ वटा कला देखाइएको छ। मतलब आठ कलालाई आठवटा कोणले जनाइएको छ।
झण्डाको तल्लो भागमा रहने सुर्यमा बाह्र कोण रहेका हुन्छन्। बाह्र कोणले बाह्र आदित्यलाई जनाउँछ। हिन्दू धर्ममा तेत्तीस कोटी अर्थात् तेत्तीस प्रकारका देवताहरु छन्। जसमध्ये आठ वासु, बाह्र आदित्य, एघार रुद्र र दुई आश्विनी कुमारहरु हुन्। बाह्र आदित्यहरु कश्यप ऋषिका सन्तान हुन्। बाह्र आदित्यले सुर्यका बाह्र गुणहरु/ पक्षहरुको प्रतिनिधित्व गर्छन्। वामन, आर्यमा, ईन्द्र, धाता, पर्जन्य, त्वष्टा, पूषा, भग, विवस्वान, अंशुमान, वरुण, मित्र बाह्र आदित्यहरु हुन। हाम्रो झण्डामा रहेको सुर्यका बाह्र कोणले यीनै देवताहरुलाई जनाउँछ। साथै बैशाख देखि चैत्र महिनासम्म सूर्य को बाह्र कला हुन्छ। झण्डामा प्रयोग भएको सिम्रिक रंग नेपालको राष्ट्रिय रङ्ग हो।

नेपालको झण्डा सँग सम्बन्धित केही मान्यताहरु:
१. त्रिकोणात्मक झण्डाले नेपालका उच्च हिमाल को प्रतिनिधित्व गर्छ, चन्द्र र सूर्यले आकाशमा चन्द्रमा र सुर्य रहुन्जेल हाम्रो देशको अस्तित्व रहने कुरा जनाउँछ। साथै रातो रङ्गले वीरता र किनाराको निलो रङ्गले शान्ति को प्रतिनिधित्व गर्छ।
२. झण्डा मा रहेका चन्द्रमाले चन्द्रवंशी राजाहरु (शाह) र सुर्यले सुर्य वंशी राजाहरु को प्रतिनिधित्व गर्छ भन्ने मान्यता पनि छ।
३. दुई त्रिभुज ले शाह र राणा परिवारलाई जनाउँछ भन्ने पनि गरिन्छ तर झण्डाको प्राचिनता हेर्दा यो मान्यता गलत सावित हुन्छ।

विश्वको एकमात्र त्रिकोणात्मक झण्डाले नेपालको पहिचान बोकेको छ। सन् १९७२ मा अपोलो १७ मिसन अन्तर्गत करिब १३५ देशको झण्डा चन्द्रमा लगिएको थियो। तीमध्ये नेपाली झण्डा पनि एक थियो।
नेपाली राष्ट्रिय झण्डाले नेपालको धर्म, संस्कृति र भूगोलको प्रतिनिधित्व गरेको छ। यो झण्डा नेपालको एकताको प्रतीक बनेको छ। नेपालको झण्डा विश्वको सबैभन्दा गणितीय झण्डा पनि हो। हुनत राष्ट्रिय झण्डा समय समयमा फेरिने कुरा होइन। नेपालको संविधान २०७२ को धारा ८ ले पुन: यसलाई राष्ट्रिय झण्डाको मान्यता दिएको छ। संविधानको अनुसूची १ मा राष्ट्रिय झण्डा बनाउने विधि पढ्न सकिन्छ।

1 Comments

Post a Comment

Previous Post Next Post